शिक्षा र स्वास्थ्य हाम्रा प्राथमिकता हुन्, कनकासुन्दरीकाे विकासका लागि संघ र प्रदेशसँग समन्वय गरेका छाैं: अध्यक्ष आचार्य 

कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्य यस अगाडि स्वास्थ्य शाखाका कर्मचारी थिए। स्थायी जागिर छाेडेर जनप्रतिनिधि बनेका उनले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकमा राखेका छन्।

निर्वाचित भएर पदभार ग्रहण गरेकाे सय दिन पुगेकाे अवसरमा बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, 'हाम्रा प्राथमिकताका क्षेत्र शिक्षा र स्वास्थ्य हुन्। त्यसबाहेक केन्द्र र प्रदेशसँग समन्वय गरी उल्लेख मात्रामा विकास निर्माणका गतिविधि गर्न बजेट छुट्याएका छाैं।'

जिल्लाका अधिकांश विद्यालयहरुमा  पुग्दाे दरबन्दी छैन। याे समस्याबाट विद्यालयहरु ग्रुजिरहेका भएपनि कनकासुन्दरीमा त्यस्ताे समस्या छैन। पालिकाले दरबन्दी नभएका विद्यालयलाई करार दरबन्दीकाे व्यवस्थापन गरी पठनपाठनलाई सुचारु राखेकाे छ।

'हामीले विद्यालयकाे गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षहरुसँग मासिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छाैं,' अध्यक्ष आचार्यले भने, 'यसबाट धेरै विद्यालयका समस्याहरु समाधान भइरहेका छन्। त्यस अलवा पालिकाले अविभाव टाेल शिक्षा सञ्चालन गरेकाे छ। यसले विद्यार्थीलाई विद्यालयसम्म ल्याउन अभिभावक सचेत गर्ने र विद्यालयप्रति उत्तरदायी हुन सहयोग गरेकाे छ।'

उनका अनुसार पालिकाले शिक्षकहरुलाई उत्प्रेरित गर्न विद्यालयमा खाजा, नास्ताकाे व्यवस्था मिलाएकाे छ। तीन वटा विद्यालयका भाैतिक संरचना निर्माणकाे लागि दुई कराेड २० लाख छुट्याएको छ। माध्यमिक विद्यालयहरुमा आइसीटी ल्यावकाे व्यवस्थापन गरेकाे छ।

विद्यालयसम्म पुग्न खाेला, नाला परेकाे ठाउँमा स-साना पुल निर्माण गरी विद्यार्थीलाई आवतजावत सहज पार्ने काम गरिएकाे अध्यक्ष आचार्यले बताए।

लामाे समय स्वास्थ्य क्षेत्रमा बिताएका उनले जनता स्वस्थ्य रहेमात्रै पालिकाकाे विकास निर्माण चुस्त हुने बुझेका छन्। त्यसैले उनले पालिकाकाे बजेटलाई स्वास्थ्य क्षेत्रमा लगाएकाे बताए।

'हामीले एमबीबीएस पड्ने विद्यार्थीलाई छात्रवृत्तिकाे व्यवस्था गर्न बजेट छुट्याएका छाैं। जसमा टपर, दलित, महिला पर्नेछन्,' उनले भने, 'हाडसिंजामा स्थानीय अस्पताल स्थापना गरी केन्द्रबाट दरबन्दीकाे व्यवस्थापन गर्न सकेका छाैं। अब चाँडै डाक्टर आउँदै हुनुहुन्छ।'

स्वास्थ्य संस्थाका कर्मचारीकाे क्षमात अभिवृद्धिकाे लागि तालिम, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक मिटिङ भत्ता, स्वास्थ्य चाैकी हाडसिंजामा पाेषण पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याउने जस्ताे महत्त्वपूर्ण काम गर्न सकिएकाेमा आफ्ना सय दिन सफल रहेकाे उनले बताए।

कनकासुन्दरी गाउँपालिकाले वडा नम्बर चारमा आँखा उपचार केन्द्रकाे स्थापना गरेकाे छ भने पुग्दाे जनशक्ति व्यवस्थापन गरेकाे छ। त्यस्तै रानिसेनमा आधारभूत स्वास्थ केन्द्रकाे लागि संघ सरकारसँग पहल गरी बजेट व्यवस्थापन गरेकाे छ।

त्यस अलबा सञ्चार, खानेपानी र कृषि क्षेत्रमा बजेट छुट्याएकाे गाउँपालिकाका अध्यक्ष आचार्यले बताए।

'विराजस्थित टेलिफाेन टावर मर्मत, संभार र स्तराेन्नति गरी फाेर जी संचालन गर्न केही दिनमा प्राविधिककाे टाेली आउँदैछ,' उनले भने, 'हामीले कनका सुन्दरीमा २० लाख बजेट छुट्याएर सामुदायिक रेडियो खाेल्ने तयारी गरेका छाैं।'

कनकासुन्दरी गाउँपालिका स्तरीय बृहत् खानेपानीकाे लागि डीपीआर, किसानकाे आम्दानी बढाउने गरी हाडे ओखर, ढँटेलेकाे तेल पेल्ने मिल, भेडा पकेट क्षेत्रकाे स्थापना, स्याउ ओखर व्यवस्थापनका लागि बजेट छुट्याएकाे उनले बताए।

अघिल्लो पाँच वर्ष पालिकाकाे केन्द्र ताेक्ने विषयमा विवाद सल्टाउन नसेकाे पालिकाले यतिबेला गाउँपालिकाकाे भवन निर्माणकाे लागि बजेट व्यवस्थापन गरेकाे छ भने जग्गा पालिकाकाे नाममा नामसारी गरिसकेकाे छ। त्यस अलबा पालिकाकै अगुवाइमा गुठीजिउला प्रहरी चाैकीलाई जग्गा व्यवस्थापनसमेत गरेकाे छ।

'पहिला पालिकाकाे काम फरकफरक घरबाट हुने गरेकाे थियाे। अहिले छरिएर रहेका सबै शाखालाई एकै भवनमा सारिएकाे छ।यसबाट पालिकाकाे व्ययभार कम भएकाे छ,' अध्यक्ष आचार्यले भने, 'हामीले सम्पूर्ण शाखाहरुमा सीसी टीभी जडान गरेका छाैं भने गुठीजिउला बजारमा सीसी क्यामेरा जडान गरी सुरक्षा चुनाैतीलाई नियन्त्रण गर्ने प्रयास गरेका छाैं।'

प्रकाशित मिति: : 2022-09-03 10:51:00

प्रतिकृया दिनुहोस्