वनमन्त्री हमालद्वारा वनदेवी कालिका मन्दिरको उद्घाटन

डिभिजन वन कार्यालय पाल्पामा श्री वनदेवी कालिका मन्दिरको उद्घाटन गरिएको छ।

जोखिमयुक्त वन क्षेत्रको काममा खटिनुपर्ने कर्मचारीको रक्षाको लागि दुर्गादेवीको मूर्तिसहितको दुईतले मन्दिरको निर्माण गरिएको हो।

मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन पाल्पा आएका लुम्बिनी प्रदेशका वन तथा वातावारण मन्त्री सुरेन्द्र हमालले मन्दिरको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रमपछि बोल्दै मन्त्री हमालले वन र वन्यजन्तुको सुरक्षार्थ कार्य क्षेत्रमा खटिने कर्मचारीहरुप्रति वनदेवीको आशिक बढाउन मन्दिरको निर्माणले ठुलो टेवा पुग्ने बताए।

यस्ता धार्मीक सामाजिक कामको आफ्नो घर परिवार र कार्यालयबाट आगाडी बढाउन सके मात्र शुद्ध समाजको रुपमा एकले अर्कोलाई सहयोग गर्ने समाजको निर्माण हुने बताए।

अहिलेको समाजमा मान्छेले मान्छेलाई चिन्न बिर्सेको भन्दै समाजले समाजलाई प्रेम बाढ्ने अवस्थाको अन्तय भएको बखत माया र प्रेम बढ्ने कामको थालनी डिभिजन वन कार्यालय पाल्पाले सुरुवात गरेको मन्त्री हमालले बताए।

डिभिजन वन कार्यालय पाल्पाका कर्मचारीको स्वस्फूर्त व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरिएको वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए।

कार्यालयका वर्तमानदेखि पूर्व कर्मचारीको पहलमा आकर्षक दुर्गा देवीको मूर्तिसहितको दुईतले मन्दिर र गाईमुखे पानी धारोसमेत निर्माण गरिएको डिभिजनल प्रमुख ज्ञवालीले बताए।

उद्घाटन कार्यक्रममा मन्दिर निर्माण समितिका पदाधीकारी, सहयोगी कर्मचारी दाता र कार्यक्रमका पाहुनाहरुलाई सम्मान पत्रले सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा मन्त्रालयका सचिव उद्धवहादुर घिमिरे,पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक बहादुर शाही, डिभिजन वन कार्यालय गुल्मीका वन प्रमुख प्रभात सापकोटालगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-09-03 18:57:00

प्रतिकृया दिनुहोस्