काँग्रेस रोल्पाद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस रोल्पाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीबाट इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि प्रत्यक्ष र मानुपातिक उम्मेदवार हुन इच्छुक नेताहरुको नाम सिफारिस गरेको जिल्ला सभापति किशोर आचार्यले बताए।

‘प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ मा पार्टीको निर्णयअनुसार सिफारिस गरिएको छ’, सभापति आचार्यले भने, ‘प्रदेशसभा ‘क’ मा भने जानकारी मात्र आएकाले सोहीअनुसार हामीले पनि माथि जानकारी गराएका छौं।’

जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अमरसिंह पुन, टेकबहादुर बस्नेत र शब्कबहादुर छन्त्यालको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ सुरेन्द्र हमाल र भिमकुमारी बुढामगरको नाम सिफारिस गरिएको आचार्यले जानकारी दिए।

प्रदेश सभा ‘ख’ प्रत्यक्षतर्फ अमरसिंह पुनको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ गोपाल घर्ती र रती कामीको नाम सिफारिस गरिएको छ।

यस्तै प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खड्का, चन्द्र प्रकाश आचार्य, भिमकला बुढाथोकी, पुष्पा श्रेष्ठ र नुर्ज बहादुर खड्काको नाम आएको छ भने समानुपातिकतर्फ माधबप्रसाद आचार्य, मानबहादुर खत्री, देवा आचार्य, श्रीकुमारी रोका, महेन्द्र पुन, हुमादेबी भण्डारी, तिजा बिष्ट, सिमबहादुर बिष्ट, इन्द्र बहादुर खत्री, मनिकला राणा र लालकुमारी वलीपुनको नाम जानकारीमा आएको सोही अनुसार माथिल्लो तहमा जानकारी गराएको सभापति आचार्यको भनाई छ।

गठबन्धन भएमा प्रदेश र गठबन्धन नभएमा प्रतिनिधिसभामा लड्ने तयारीका साथ प्रदेश सभापतिसमेत रहेका अमरसिंह पुनको नाम प्रतिनिधि र प्रदेश सभामा सिफारिस भएको बताइएको छ।

अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा वर्षमान पुनसँग प्रतिस्पर्धा गरेका पुनले गठबन्धन नभए फेरि पनि प्रतिस्पर्धा गर्न तयार भएको बताउँदै आएका छन्।

यदि गठबन्धन भएमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको दाबीसहित प्रदेशमा जाने माग कार्यकर्ता तहबाट आएकाले पुनको नाम प्रदेशमा पनि एकल सिफारिस भएको काँग्रेस रोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-04 11:10:00

प्रतिकृया दिनुहोस्