अलपत्र घोराही-तुलसीपुर सडक : ज्यान गुमाउँदै नागरिक, टेर्दैनन् ठेकेदार

चार वर्षमा १० प्रतिशत मात्र काम

घोराही–तुलसीपुरको २८.१९ किलो मिटर चार लेन सडक निर्माण गर्न १४ माघ ०७५ मा सम्झौता भयो। सम्झौताअनुसार भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले ३० महिना (३ जेष्ठ ०७८) मा सडक निर्माण गरिसक्नुपर्ने थियो। 

तर तथ्यले सडक सम्पन्न गर्ने बेला ०७८ मंसिर १० गते सडक निर्माणको काम पुनः शुभारम्भ गर्याे। सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्यका प्रबन्धक प्रविन ब्रह्मदेव पाण्डेयले सडक निर्माणमा ढिलाइ भएकोप्रति माफी माग्दै छिट्टै काम सुरु हुने प्रतिबद्धता जनाए।

सडक निर्माणको शुभारम्भ गर्दै उनले काममा ढिला नहुने र वर्षदिनभित्रै निर्माण कार्य सकिने बताएका थिए। उनले सडक निर्माणको जिम्मा लिएको पेटी ठेकेदारले काम नगरेको भन्दै अब स्वयं कम्पनीले नै काम गर्ने बताएका थिए। तर ठेकेदार पाण्डेयले सडक निर्माणको काम आफूले नगरेर पुनः अरुलाई पेटी ठेक्काको जिम्मा दिए।

त्यसपछि पनि सडक निर्माणको काम अघि बढेन। बरु निर्माणाधीन अवस्थामै सडकका बीचमा खल्डा खनेर अलपत्र छोडिए। सडक निर्माण कार्य कतिसम्म ढिलाई हुन गयो भने चार वर्ष बित्दा जम्मा १० प्रतिशतमात्र काम भयो। पटक–पटक ठेकेदार फेरिँदा पनि सडक निर्माण कार्य अघि नबढेपछि अहिले जिल्लावासी आक्रोशित बनेका छन्। उनीहरुको प्रश्न छ, ‘सडक निर्माणको जिम्मा लिएको यतिका वर्ष बित्दा पनि सडक किन बनेन?’

सञ्चारकर्मी ददीराम सुवेदीले ठेकेदारले चार लेन सडक निर्माणमा चरम लापरवाही गरेको भन्दै आक्रोश पोख्छन्। ‘चार वर्ष बित्दा पनि सडक बनेन’, उनले भने, ‘यो नागरिकलाई दुःख दिने काम मात्र भयो।’ उनले सडक निर्माणमा चरम लापरवाही गरेको भन्दै ठेकेदार नै परिवर्तन गर्नुपर्ने बताए।

उनकाे जस्तै गुनासो छ, यातायत व्यवसायी सुरेश हामलको। उनले पनि सडक निर्माण ढिलाई हुनुले नागरिकले दुख पाएको बताए। ‘सडक निर्माणधीन अवस्थामा अलपत्र परेको चार वर्ष भइसक्यो’, उनले भने, ‘तर अहिलेसम्म सडक बनेको छैन।’

उनले सडक निर्माणमा ढिलाइ हुनुले दैनिक यातायता अवागमनमा समस्या भएको र सवारी दुर्घटनासमेत बढाएको बताए। ‘बन्दाबन्दै सडकबीचमा रोकिएपछि दुर्घटनाका जोखिम बढेका छन्’, उनले भने, ‘ठाउँ–ठाउँमा ठूला खाल्डा खनिएका छन्, सडक छेउछाउमा खनिएर छोडिँदा दुर्घटना बढेको छ।’

भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक आयोजना कार्यालयले निर्माण व्यवसायीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको जनाएको छ। हाल उक्त सडक निर्माण गर्ने पेटी ठेक्का श्रेष्ठ कन्ट्रक्सनले लिएको छ।

सडक आयोजना प्रमुख अर्जुनकुमार बमले चार लेन सडक निर्माणमा ठेकेदारले ढिलाइ गरिरहेको बताए। पटक–पटक म्याद थप गर्दा पनि सडक निर्माणको काम अघि बढ्न नसकेपछि ठेक्का नै रद्ध गर्ने निष्कर्षमा कार्यालय पुगेको उनले बताए।

‘सडक निर्माण गर्न भनेर थुप्रै तीन–तीन पटक म्याद थप गरेर पनि हेर्याैं’, उनले भने, ‘तर पनि काम अघि बढ्न सकेन। हालको निर्माण व्यवसायीबाट काम अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका छौं।’ तर तत्काल भने सोही ठेकदालाई म्याद थप्नुको विकल्प नभएको उनको भनाइ छ।

‘अब चौथो पटक म्याद थप हुँदै छ। यो चाहेर होइन। सरकारले नीतिमा गरेको १२औँ संशाेधनले म्याद थप गर्न बाध्य बनाएको छ,’ उनले भने, ‘नीतिमा विगत ६ महिनामा काम गरेको भए म्याद थप गर्ने भनेको छ। यहाँ काममा सन्तुष्ट नभएपनि कागजले त्यो भन्दैन। हामीले थप गर्नुपर्ने छ। यो बाध्यता हो।’

नागरिकले अकालमै ज्यान गुमाउँदै

घोराही–तुलसीपुर सडकखण्ड निर्माणको चार वर्ष पर्ख र हेरमै बितेको छ। सडक समयमै निर्माण नहुँदा यो चार वर्षमा नागरिकले सास्तीमात्रै खेप्नु परेको छैन, अकालमै ज्यानसमेत गुमाउनु परेको छ।

घोराही–तुलसीपुर चार लेन सडक निर्माण आयोजना सुरु भएदेखि हालसम्म सवारी दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका छन् भने ७८ जना घाइते भएका छन्। यो अवधिमा ६५ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकमा छ।

सडककै कारण नागरिकले अनाहक ज्यान गुमाउन थालेपछि सराकोरवालाहरुले प्रश्न तेर्साएका छन्। सडक पनि नबन्ने र नागरिकरले ज्यान गुमाउनु परिरहेको भन्दै उनीहरुले ठेक्का नै रद्ध गरी अर्काे प्रकृया अपनाउन सुझाएका छन्।

यातायात व्यवसायी सुरेश हमालले बाटोको कारणले सवारी साधानमा खर्च धान्न नसकिने गरी बढेको बताए। उनले सवारी सधान बिग्रनुका साथै समय धेरै लाग्ने हुँदा सार्वजनिक सवारी साधान सञ्चालनमा निकै समस्या हुँदै आएको बताए।

चौथो पटक म्याद थपियो

घोराही–तुलसीपुरखण्डको चार लेन सडक निर्माणका लागि पुन: म्याद थप हुँदैछ। १ करोड २१ लाख ८२ हजार ३०१ अमेरिकन डलर (नेपाली रकम झण्डै १ अर्ब २३/२४ करोड) मा निर्माण हुन लागेको सडकको चौथो पटक म्याद थप हुन चार लेन सडक आयोजनाले जनाएको छ।

पहिलो सम्झौताअनुसार ०७८ जेठ ३ गते म्याद सकिएपछि साउन २७ सम्म म्याद थपियो। त्यसपछि फेरि ०७८ पुस २८ गतेसम्मका लागि म्याद थप गरियो। तर त्यसपछि पनि काम अघि बढ्न नसकेपछि पुनः ०७९ वैशाख २९ गतेसम्म काम सक्नेगरी म्याद थपियो। बिडम्बना तेस्रो पटक म्याद थप्दा पनि सडक निर्माणको कामले पूर्णता पाउन नसकेपछि पुनः म्याद थप गर्ने प्रकृयामा छ।


घोराही–तुलसीपुर सडकखण्डको विजोगः कुरा मात्रै हुन्छ, काम हुँदैन


सडक आयोजनाले अब म्याद थप गरेपछि सडकको प्रगति आउँदो पुससम्म ३० प्रतिशत नभए ठेक्का तोड्ने जनाएको छ। तत्काल भने बबई खोलादेखि तुलसीपुरसम्म सडकमा परेका खाल्डा पुर्नु पर्ने भन्दै ठेकेदारलाई निर्देशन दिएको  छ।

गत भदौ १७ गते चारलेन सडक निर्माणबारे सरकारवालाहरु सहितको बसेको बैठकले तत्काल सडकमा भएका खाल्डाहरु पुर्ने निर्णय थियो।

त्यस्तै शुक्रबार बसेको बैठकले सडक निर्माणका लागि समन्वय र सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ। जसको सदस्य सचिवमा चारलेन आयोजनाका प्रमुख रहने व्यवस्था गरेको छ।

समितिको सदस्यमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायीहरू रहने भएका छन्। समितिको बैठक १५/१५ दिनमा बस्ने र भएका कामको समीक्षा गर्न र समस्या समाधानका लागि पहल गर्ने बैठकले निर्णय गरेको छ।

पटक–पटक फेरिए ठेकेदार

यो चार वर्षको बीचमा ७ पटक पेटी ठेकेदार फेरिएका छन्। सुरुमा सुभाष श्रेष्ठले चार लेन सडक निर्माणको जिम्मा लिएका थिए। उनले नसकेपछि अनुप पाण्डेको अष्ट भैरव निर्माण कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो। त्यसपछि एकेन्द्र खड्का, विजय पाठक र हाल रोशन श्रेष्ठले सडक निर्माणको काम गर्ने जिम्मा लिएका छन्। यसबीचमा सात बढी पेटी ठेकेदार परिवर्तन हुँदा पनि सडक निर्माण कार्य जहाँको त्यहीँ छ।

कतै चार, कतै दुई लेन सडक

बबई खोलादेखि तुलसीपुरसम्म २८.१९ किलोमिटर सडक निर्माण हुने गरी सम्झौता भएको छ। जसमा कतै दुई लेन र कतै चार लेन सडक निर्माण हुनेछ। सम्झौताअनुसार १४.४६ किमि चार लेन र १३.७३ प्रतिशत दुई लेन सडक निर्माण हुनेछ।

जसमा बबईदेखि घोराही ६.५३ किमि दुई लेन, घोराहीदेखि थापाचोक ४ किमी चार लेन, थापा चोकदेखि नारायणपुरमा ३.५ किमि दुई लेन, नारायणपुरदेखि खैरा २.१ किमि चार लेन, खैरादेखि दूधरास ३.७ किमि दुई लेन र दुधरासदेखि तुलसीपुर ८.३१ चार लेन हुने सम्झौता छ।

सम्झौताअनुसार दुई लेन ११ मिटर चौडाइअन्तर्गत सात मिटर गाडी हिंड्ने र २/२ मिटर दुबै तिर फुटपाथ रहने छ। २१ मिटर चार लेनमा दुईतिर सात/सात मिटर गाडी हिंड्ने र दुई/दुई मिटर फुटपाथ तथा दुई मिटर सडकको बीचमा ग्रीन बेल्ट बनाउने सम्झौता छ।

प्रकाशित मिति: : 2022-09-04 16:54:00

प्रतिकृया दिनुहोस्