विराटनगरका उद्योगीहरु प्रदेश र प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस हुँदै

विराटनगरका उद्योगी व्यवसायीहरु धमाधम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि विभिन्न पार्टीबाट उम्मेदवारका रुपमा सिफारिस भएका छन्।

यसपटकको निर्वाचनमा उम्मेदवारका लागि सबैभन्दा बढी नेपाली कांग्रेसबाट उम्मेदवारमा विराटनगरका व्यवसायीहरु सिफारिसमा परेका छन्।

यसअघि संसद भइसकेका पवन सारडा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सिफारिस भएका छन्। कांग्रेसले उनलाई समानुपातिकतर्फ सिफारिस गरेको हो। यसअघि तत्कालीन विजय गच्छदारको फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका सारडा यसपटक नेपाली कांग्रेसबाट सिफारिस भएका हुन्।

त्यस्तै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य भइसकेका उद्योगी अविनाश बोहोरा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ सिफारिस भएका छन्।

विराटनगरमा वि.स. २००७ सालको क्रान्तिताका नै कांग्रेसको आन्दोलनमा बोहोरा परिवार लागेको थियो। विराटनगरका पुराना मारवाडी समुदायको व्यापारीक घरानाका रुपमा बोहोरा परिवारलाई हेरिन्छ। बोहोराको नेपालको विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनमा सहभागीता रहेको थियो। लोकतन्त्र र प्रजातन्त्रको लागि बोहोरा स्पष्ट रुपमा देखा पर्ने व्यवसायी हुन्।

विराटनगरका अर्का प्रतिष्ठित उद्योगी महेश जाजु पनि मोरङ क्षेत्र नम्बर ६ बाट संघीय संसदमा समानुपातिकतर्फ सिफारिस भएका छन्।

जाजुलाई कांग्रेसले अघिल्लो पटक नै संसद बनाउन चाहेको थियो। विराटनगरमा सफल उद्योगीको रुपमा चिनिएका जाजु विभिन्न सामाजिक गतिविधिमा पनि संलग्न छन्। उनले मोरङ व्यापार संघको नेतृत्वसमेत गरिसकेका छन्।

त्यस्तै कांग्रेसले विराटनगरका अर्का व्यवसायी रविन दाहाललाई क्षेत्र नम्बर ६ (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको छ।

मोरङ व्यापार संघ, प्रदेश उद्योग वाणिज्य संघलगायतका संस्थामा रहेर काम गरेका दाहाल पछिल्लो समय शिक्षासेवीका रुपमा चिनिन्छन्। उनको विराटनगर ११ मा देशकै नाम चलेको बाल कल्याण विद्या मन्दिर विद्यालयसमेत छ।

विराटनगरमा पछिल्लो समयमा सामाजिक क्षेत्र र व्यावसायिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका अरुण राठीलाई नेकपा एमालेले प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको छ। उनलाई मोरङ क्षेत्र नम्बर ६ (ख) बाट समानुपातिकमा सिफारिस गरिएको हो।

कोरोना महामारीलगायत विभिन्न विपद्मा महत्वपूर्ण भूमिका खेलेका राठीको शैक्षिक क्षेत्रमा समेत लगानी छ। उनले राठी स्वीचलगायतका उत्कृष्ट उद्योगहरु सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-09-05 15:54:00

प्रतिकृया दिनुहोस्