‘नथाक्ने मान्छे’ जेबी थुलुङ

कृष्णउदाशी

विराटनगर

ठ्याक्कै गते थाहा भएन, तर २०६३ साल फागुनमा हामीले उर्लाबारीमा गजलसम्बन्धी भव्य कार्यक्रम गरेका थियौँ। उर्लाबारीको साहित्यको इतिहासमै यो पहिलो गजलको कार्यक्रम थियो।

उक्त कार्यक्रममा पूर्व क्षेत्रका लगभग ८०/९० जना साहित्यकारहरूको जमघट थियो। ती अतिथिहरूमध्येमा बेलबारीबाट एकजना जे.बी थुलुङ दाइ पनि हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालक म नै थिएँ। त्यसैले अतिथि आसन ग्रहण गराउँदा पहिलो पल्ट उहाँलाई चिनेको थिएँ। त्यसपछि उहाँसँगको चिनजान दाजुभाइमा परिणत भयो।

जेबी दाइ गीत/गजल दुवै लेख्नुहुन्थ्यो, त्योभन्दा धेरै चाहिँ उहाँ संगीतकार पनि भएकाले आफ्नै गीत, गजलहरू संगीत गरेर र गाएर कार्यक्रमहरूमा थप आकर्षण बन्नुहुन्थ्यो। त्योबेला साहित्यिक वनभोजहरू प्रशस्तै हुन्थे, गरिन्थ्यो। त्यस्ता कार्यक्रममा अन्य क्षेत्रका मानिसहरूलाई पनि निम्ता गरिन्थ्यो।

त्यस्ता कार्यक्रममा जेबी थुलुङ दाइ प्रायः गाउनुहुन्थ्यो। उपस्थित स्रोताहरूले उहाँलाई प्रायः गाउन लगाउने गीतमा ‘दर्सिन ढुङ्गा झिलिक्कै, आउँछ जोवन जान्छ मिलिक्कै’ र गजलमा ‘तिमी गयौ र यो दिल खाली भो’ थिए। ती गीत र गजल सञ्जिव धिमालले पनि गाउनु हुन्थ्यो। हरेक कार्यक्रममा नयाँ-नयाँ गजल सुनाए पनि, जेबी दाइ पाेडियममा उभिएपछि दर्शकहरूबाट अनिवार्य जसो ‘दर्सिन ढुङ्गा...’ र ‘तिमी गयौ र...’ गाउन आग्रह हुन्थ्यो। उहाँले नगाएर धरै पाउनुहुन्न थियो।

बीचमा उहाँले शब्द र संगीत गरेका गीत–जगलहरू थुप्रै रेकर्ड भए। स्रष्टाको नाम स्रोताले खोजी गर्ने चलन हुन्थ्यो भने जेबी थुलुङका गीत, गजल आमस्रोताले सयौँ पल्ट सुनेका छन्। तर गजलको सङ्ग्रह नै निकाल्न भने उहाँले निक्कै ढिलो गर्नुभएको हो। हामी सोच्थ्यौँ र सोध्थ्यौँ पनि ‘सङ्ग्रह निकाल्न किन ढिलो?’ उत्तरमा उहाँको अति प्रिय सिग्नेचर हाँसोमै जवाफ खोज्नु पर्थ्याे। तर उहाँ त ‘नथाक्ने मान्छे’ बनाउँदै हुनुहुँदोरहेछ, अनि पो ढिलो भएको रहेछ।

खुशीको कुरा चाहिँ उहाँले यसरी ढिलो गरेर ल्याएको गजल संग्रहले दोस्रो संस्करण पनि निस्किन भ्याइसकेको छ। मलाई थाहा छैन, पूर्वबाट निस्किएका कुनै पनि गजल सङ्ग्रहले दोस्रो संस्करण निस्किने सौभाग्य पाएका छन् कि छैनन्? मलाई लाग्छ, पूर्वबाट प्रकाशन भएका गजल सङ्ग्रहमा नथाक्ने मान्थे नै पहिलो गजल सङ्ग्रह हो, जो दोस्रो संस्करण निकालिएको छ। यो इतिहासका लागि त जेबी दाइलाई बधाई दिनैपर्छ।

अर्को कुरा पछिल्लो समय पठन संस्कृति कमजोर भएको छ। त्यसमा पनि लकडाउनपछि त पठन संस्कृति झर्यामझुरुम नै भएको छ। यस्तो बेलामा कुनै पनि कृतिकारले दोस्रो या तेस्रो संस्करण निकाल्ने सौभाग्य पाउँछ भने त्यो लेखक यो समयकै सौभाग्यशाली लेखक हो। त्यो हिसाबले पनि नथाक्ने मान्छेका लागि जेबी दाइलाई फेरि बधाइ।

त्यो ‘नथाक्ने मान्छे’ जेबी दाइ नै हो। पक्का हो। किनकि, यस पुस्तकमा पढ्न पाइने गजलहरू वस्तुगत भन्दा पनि भावगत छन्। पछिल्लो समय गजल पढ्यो, सुन्यो गजलले सुरुमा ‘वा’ वाला भाव पैदा गर्छ, गहिरिएर अध्ययन गर्यो ‘ए!’ वाला भाव पैदा गर्छ। हुन त वस्तुगत सिर्जनाको एउटा विशेषता पनि हो त्यो।

‘नथाक्ने मान्छे’ सङ्ग्रहका गजलले भने पाठकलाई नै बोलाइरहन्छन्, जिस्काइरहन्छन्, काउकुती लगाइरहन्छन्। घरिघरि झोक पैदा गर्छन्, कहिलेकाहीँ त उहिले-उहिले छोडिएकी मायालुको याद दिलाएर उडाइ लैजान्छन्। नथाक्ने मान्छे, जोश् हो, होश् हो, उत्साह हो, प्रेरणा हो र हौसल हो। नथाक्ने मान्छेले ईश्वरलाई समेत प्रश्न गर्छ।

गजल सङ्ग्रह नथाक्ने मान्छेमा जम्मा पैसट्ठी वटा गजल छन्। देशलाई सलाम गरेर सुरु भएका गजलहरू ‘आफूलाई नियाल्नु, औँला उठाउनुअघि’ भन्दै सकिन्छन्। यो दौरानमा गजलभित्र साहित्यका नौ वटै रसको स्वाद लिन पाइन्छ। म यहाँ गजलहरूको छुट्टाछुट्टै व्याख्या गरेर गजलहरूको भाव पर्गेल्ने कोसिस गर्दिन, त्यो काम पाठककै काम हो। गजलहरू पढेपछि पाठकहरूले आफ्नै बुझाइमा भाव पर्गेल्छन्।

आफ्ना भावनाहरूलाई पाठककै स्वादमा रुपान्तरण गरेर, पाठकलाई जिम्मा दिन सक्ने सर्जकहरू पाठकका मनमा बस्छन्। उनीहरूबाट पाठकले फेरि पनि आशा गरिरहन्छन्। ‘नथाक्ने मान्छे’ले त्यो आशा जिउँदै छोडेको छ। म पनि एउटा पाठकको ठाउँबाट यही आशाको साथ अर्को कृतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। यो आलेख पढ्नेले ‘नथाक्ने मान्छे’ गजल सङ्ग्रहको तौलाई अनुमान गरुन् भन्ने हेतु पुस्तकको ५८ पेजमा रहेको एउटा गजल यहाँ प्रस्तुत छ।

धेरै महान् नबनाऊ, ईश्वर हुन डर लाग्छ
ईश्वर पनि बन्थेँ हुँला, पत्थर हुन डर लाग्छ

उचाइमा टिकिरहनु खेलाँची हुँदै होइन
त्यही भएर पनि मलाई सगर हुन डर लाग्छ

किनारालाई जिस्काउँदै पानी बगी कता जान्छ
यस्तो विछोड सँधै हेर्न बगर हुन डर लाग्छ

जब देख्छु चौरस्तामा बेवारिसे शालिकहरू
तत्क्षण मलाई जिन्दगीमा अमर हुन डर लाग्छ

प्रकाशित मिति: : 2022-09-05 17:25:00

प्रतिकृया दिनुहोस्