रोल्पाबाट सर्वसम्मत हुन सकेनन् वर्षमान

अघिल्लो निर्वाचनमा बाहिरी जिल्लाबाट चुनाव लडेका माओवादी नेताहरुले यसपटक जिल्लाबाटै लड्ने इच्छा देखाउँदा रोल्पाबाट वर्षमान पुन सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन्।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट यस पटक प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस भएको छ। २०७४ को निर्वाचनमा दाङबाट चुनाव लडेका कृष्णबहादुर महरा, काठमाडाैँबाट लडेका झक्कुप्रसाद सुवेदी, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसीले यस पटक रोल्पाबाटै प्रतिनिधिसभा लड्ने इच्छा देखाएका हुन्।

यस्तै अघिल्लो पटक समानुपातिकबाट सांसद भएका जयपुरी घर्ती, ओनसरी घर्तीमगरले पनि यस पटक प्रत्यक्षमा लड्ने भन्दै सिफारिसमा परेका छन्। यद्यपि पार्टीले कसलाई टिकट दिन्छ भन्नेमा भने कोही पनि ढुक्क देखिँदैनन्।

अघिल्लो पटक दाङबाट निर्वाचित महरा र काठमाडाैँबाट पराजित सुवेदी यसपटक भने रोल्पाबाटै सेभ हुन खोजेको देखिन्छ।

यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ भने तारा घर्तीमगरको एकल नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र रोल्पाले जनाएको छ।

बुधवार बसेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको बैठकले आगामी मंसिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको हो।

प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ जोखबहादुर महरा, सुकबहादुर वुढामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ आशबहादुर पुन, मिना खड्का र कुष्मा पुनमगरको नाम सिफारिस भएको छ।

(ख) मा प्रत्यक्षतर्फ कुलप्रसाद केसी, दीपेन्द्र पुन मगर, राजवहादुर वुढामगर, निमकान्त डाँगी र वीरबहादुर खत्रीको नाम सिफारिस गरिएको छ।

प्रदेशसभा (ख) को समानुपातिकतर्फ त्रिपनी वैजाली मगर, धनिकला वुढामगर, मानसिंह विश्वकर्मा, हितकुमारी बुुढामगर, लालसरी घर्तीमगर, भाविसरा वन्दीपुरे खड्का, शान्तराज बोहरा, गोविन्द पुन, रामबहादुर वली, भक्ताबहादुर वली र पूर्णबहादुर दमाईको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्र रोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-09-08 11:57:00

प्रतिकृया दिनुहोस्