नेपालमा ज्योतिष विद्याको क्रेजसँगै विकृति पनि बढ्दो

नीलम ढकाल

काठमाडौं
BreaknLinks
BreaknLinks

अहिले नेपालमा ज्योतिष तथा ज्योतिषीप्रति आम व्यक्तिहरुको क्रेज बढ्दाे अवस्थामा छ। यही क्रेजका कारण कोही अधिक चर्चामा चुलिएर राम्रो नाम र दाम कमाउँदैछन् भने कोही विवादमा पनि तानिने गरेको पाइन्छ।

नेपालमा ज्योतिषीहरु एकअर्काका परम मित्रभन्दा पनि कट्टर आलोचक बन्दै गएको देखिन्छन्। यीबाहेक एउटा अलग क्याटेगोरी छ, जसले बल्ल ज्योतिष दुनियाँमा पाइला टेकेको मात्र हुन्छन्। अर्थात ज्योतिषको साधारण ज्ञान प्राप्त गरेका हुन्छन् तर उनीहरुले आफूलाई धुरन्धर सम्झिएर ज्योतिषीय फलादेश गरेको देखिन्छ। यसले आगामी दिनमा चुनौती र प्रतिस्पर्धाभन्दा ज्यादा विकृति फैलाउने देखिन्छ। यसले ज्ञानको उदयभन्दा ज्ञानको पतन हुने अवस्था आएको देखियो। निराधार तथा अल्पज्ञानका कारण गरिएको फलादेशले ज्योतिषशास्त्र र ज्योतिषी दुवैप्रति विवाद अनि शंका उत्पन्न गराउने निश्चिति छ।

ज्योतिष विद्यामा विकृति फैलिनुमा सबैभन्दा प्रमुख लापर्बाही अनलाइन ज्योतिष अध्ययन पनि हो। किनभने केही ज्योतिषीहरु लोभ र लाभका कारण आफू नै पूर्ण नभइ अरुलाई ज्ञान दिएर ज्योतिषी घोषणा गरिदिन पुग्छन्। लामो समयदेखि प्रशिक्षण दिएर राम्रा विद्यार्थी उत्पादन गर्नुभएका केही ज्योतिषीहरु तथा दर्जन गुरुवरहरुको अनुभवमाथि कुनै शंका वा लाञ्छना लगाउनु पाप हुनेछ।

उहाँहरुलाई नै चुनाैती दिएर अनलाइनमार्फत सरल ज्योतिष सिकाउने र ज्योतिषी बनाउने केही अमर्यादित व्यक्तिहरुले भने आफू पराशरको दोस्रो अवतार हो भन्दै हो न हो किसिमका सिद्धान्तका कुरा ल्याएर गुमाराहमा पार्न खोजेका छन्। उनीहरुले अरुले भनेका, सुनेका कुरालाई जनमानसमा पस्किएर निकै कीर्तिमान ज्योतिषी भएको परिचय दिएको देख्दा आकाशतिर हेरौँ कि माटोमुनि पसौ जस्तो लाग्ने गरेको छ।

कु-कर्तुत गरेर ज्योतिष विद्याको शिक्षण पेशालाई केही पैसाका लागि आफ्नै गुरुको अपमान हुने कार्य गरेका व्यक्तिहरुको नाम र कर्तुत प्रमाणसहित चाँडै सार्वजनिक गर्ने कसरत भएको छ। यस्तै अहिले केही नयाँ-नयाँ ज्योतिषी जसले ज्योतिषीय मर्यादाभन्दा पर रहेर मनमर्जी चिना हेर्ने र कहिले यजमानलाई थर्काउँदै ज्योतिष सिकाउन खोज्ने त कहिले भित्री वस्त्रको रङ्ग, अङ्गको कोठी त कहिले अप्राकृतिक मैथुन गरेको भन्दै फलादेश गरेको टिकटकमा निकै सुनिएको छ। यस्ता वर्गका ज्योतिषीहरुले गर्दा ज्योतिष पेशा गर्नेको धज्जी उडेको छ भने आफूलाई ज्योतिषको हिटलर बनाउने प्रयास तथा अन्य ज्योतिषिप्रतिको रिसराग गर्नाले नै चाँडै पतनको बाटोमा ल्याउने निश्चित छ।

ज्योतिष शास्त्र हो र ज्योतिषी भनेको त्यसकाे अध्ययनकर्ता भन्ने समेत थाहा नपाएकाहरुले गुटबन्दी गर्दै भेला आयोजना गरेर ब्यानरमा समेत ज्योतिष भेला लेखिदिएछन्। जसका कारण त्यस भेलामा उपस्थित हुन आएका केही व्यक्ति त ब्यानर देखेरै भेला छोडेर हिँडेका थिए।

अहिले ज्योतिषीहरुलाई मर्यादित गर्न र संगठित बनाउन आवश्यक छ। जसका लागि समयअनुरुप विश्व ज्योतिष महासंघ, नेपाल ज्योतिष परिषद, दक्षिण एसियाली ज्योतिष महासंघलगायत मुल संघसंगठनले आफ्नो कार्य गर्दै आएको छ। यी संघसंगठनले विभिन्न विभाग र समितिमार्फत अधिक ज्योतिषीहरुलाई संगठित बनाउनुको साथै समय-समयमा प्रशिक्षण तथा विज्ञप्तिमार्फत खबरदारी गर्ने गरेका छन्।

कोही ज्योतिष विद्या जानेकाले यदि कुनै पनि संगठनमा आवद्ध हुन चाहे संगठनले आफ्नो सदस्यता सहजै खुलाएको पनि छ। यसरी मुल संगठनमा कुनै लामो सहकार्य नै नगरी यसो भयो, त्यो भएन, ठुलोले पद ओगटेको छन् भन्दै नचाहिँदो अफवाह फैलाएर संगठन तथा पदाधिकारीहरुप्रति रिसिइबी साँध्ने र लाञ्छना लगाउने काम गर्नेहरुले आफ्नो गुटबन्दी गरी नचाहिँदो प्रचार गर्ने गरेका छन्।

पहिलो कुरा त हामी आफू मर्यादित बन्न जरुरी छ। आफू ज्योतिषी भन्ने अनि ज्योतिषीय मर्यादालाई पालना नगर्ने र आफ्नो पेसाको सम्मान नगर्ने हो भने हामी आफैँ पतन हुन्छौँ। किनभने ‘स्वकार्यं मानवस्य द्वितीयः धर्मः अतः मानवः स्वकार्यस्यप्रति इमान्दारः भवितुमर्हति’ अर्थात आफ्नो पेशा नै मानवको दोस्रो धर्म हो, त्यसैले मानवले आफ्नो कार्य/ पेशाप्रति इमान्दार रहनुपर्छ।

संघसंगठन भनेको परिआएको बेला कार्य सम्पादन गर्ने र मद्दत गर्ने साझा चौतारी हो। तर त्यो नबुझेका व्यक्तिहरु संघसंगठनलाई सुरक्षागार्ड सरह हेर्ने गर्छन्। अनि यो गरेन, त्यो गरेन भनेर आरोप लगाउँछन। ज्योतिषीहरुको संघसंगठनले आफ्नो उदेश्यअनुरुप आफ्नो काम गर्ने हो। जब कि संघसंगठन आफैँले नियम कानुन बनाउने र लागू गर्ने हैन।

संघसंगठनले उजुरी पर्दा त्यसमा गहन छलफल गर्ने र आफ्नो राय राख्ने हो भन्ने बुझ्न पनि जरुरी छ। सधैं संघसंगठनले गरेन भनेर बस्नु भन्दा आफ्नो कार्यमा कम्मर कस्नु उचित हो। पेशाले अर्थ लाभ मात्र नभएर धर्म स्थापनमा पनि भूमिका खेल्छ। त्यसैले हामीले आफ्नो पेशाको सम्मान निमित्त र धर्म स्थापना निमित्त सधैँ आफ्नो पेशाप्रति इमान्दार हुन पर्दछ।

(लेखक विगत लामो समयदेखि ज्योतिषी पेसामा आवद्ध रहेका छन्। यो उनको निजी विचार हो)

प्रकाशित मिति: : 2022-09-09 15:14:00

प्रतिकृया दिनुहोस्