के यही माया अजम्बरी होइन र?

BreaknLinks
BreaknLinks

जिन्दगीको यत्रो वसन्त पार गर्दासम्म आफ्नो मनले खाएको मान्छे भेटिएको थिएन। तर यो सालको वसन्त ऋतु मेरो लागि साँच्चै नै हराभरा बनेर आयो।आफूले खोजे र रोजे जस्तै मान्छेको सङ्गत गर्ने मौका मिल्यो।

आफूले चाहेको र माया गरेको मान्छेसँगको केही दिनको सङ्गतपछि मलाई यस्तो लाग्न थाल्यो, ‘हाम्रा प्राय धेरै कुराहरु मिल्छन्, हामी एक त होइनौं तर हामी दुई जस्तो पनि छैनौं, भौतिक रुपमा मात्र टाढा छौँ हामी, तर पनि हामी बिल्कुल उस्तै छौँ, उस्तै सोच, उस्तै रोजाई।’ थाहा छैन किन, तर मलाई उसको बारेमा लेख्न खुब मन पर्छ।

ऊ मेरो कोही हैन, तर पनि ऊ मेरो सबथोक हो। ऊ बिना मर्ने हैन म, तर सास चल्नुलाई मात्र पनि त बाँचेको भन्न मिल्दैन। ऊ बिना खुशी हुन नसक्ने हैन म तर देखावटी हाँसोलाई त खुशी भएको भन्न मिल्दैन। उसले मलाई खुशी हुन सिकाएकी छे, उसले मलाई सम्हाल्न सिकाएकी छे। या भनम उसले मलाई जिन्दगी के हो भन्ने कुरा सिकाएकी छे। उ मेरो जीवनसाथी बनिसकेकी त छैन, तर जीवनसाथीभन्दा कम पनि छैन।

कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन्, जस्तै ‘तिमी’। तिमी त्यो मञ्जिल हौ, जसलाई हासिल गर्न म उडान भरिरहेको छु। तिमी त्यो लक्ष्य हौ, जसलाई पाएर मेरो जीवन अर्थपूर्ण हुन्छ।

मलाई साँच्चै थाहा छैन, किन? तर म तिमीमा एउटा सिंगो पुस्तक पाउँछु, जहाँ प्रेम, मित्रता, खुशी, मुस्कान, इज्जत सबै समेटिएको छ। यस्तो लाग्छ, यो पुस्तक आफ्नै हृदयको पुस्तकालयमा सजाएर राखौं। युगौँयुगको लागि र म त्यो पुस्तकको हरेक शब्दहरूलाई प्रत्येक सेकेण्ड पढिरहुँ।

तिम्रो स्पर्शको कल्पनाले मात्र पनि मलाई कताकता काउकुती लागे जस्तै हुन्छ, तिम्रो अंगालोको सम्झनाले मात्र पनि मलाई न्यानोपनको आभास दिलाउँछ। तिमी नजिक त छैनौ, तर पनि मेरो हरेक सोचहरु तिमी र मबाट हामी हुन गएर रोकिन्छ। मलाई प्रष्टसंग थाहा छ सानू, तिम्रो प्रेममा बस! मेरो मात्र अधिकार लेखिएको छ। तर मलाई अब तिम्रो शरीरको मोह बढ्दै छ। यो बेमान मौसमले मलाई तिम्रो अघि बेसरम हुने चाहत झन्झन् बढाउँदै छ। मलाई यो प्रष्टसंग थाहा छ कि म तिम्रै हुँ, अनि तिमी मेरै।

हरेक झरीसँगै तिम्रो मिठो याद आउने गर्छ। चिसो बताससँगै तिम्रो त्यो सुन्दर अनुहार, तिम्रा ती आत्मीय भाव म यही महसुस गर्छु। सायद शिशिर यामको पतझडसँगै आशाहरु पलाउन थालेका छन्। बादलको छाती चिरेर जब झरी पर्छ, मलाई तिमीजस्तै लाग्छ। त्यो शितल, शान्त झरी, जुन एकनासले झर्दैछ निरन्तर। मात्र मेरो लागि जसरी तिमी छाएकी छौ, मेरो मन मस्तिष्कमा। एउटा नयाँ किरण बनेर अघि बढ्नेहरुको लागि के यही माया अजम्बरी होइन र?

एक तिमी त छौ मेरो बोली सुनेर मेरो हाल बुझ्ने, मेरो आँखा हेरेर मेरो हाल बुझ्ने। एक तिमी त हौ मेरो मौनता पढ्ने, मेरो ओठ नबोले पनि मेरो हाल बुझ्ने। तिमी मेरो आधा हौ, जसले गर्दा म पुरा हुन्छु। हावाको स्पर्शले तिम्रो आभास दिलाउँछ, जुनको शितलतामा मात्र तिमीलाई पाउँछु। सिरानीको न्यानोपनले तिम्रो अंगालोको खुब याद दिलाउछ।

प्रिय, तिमी वास्तवमै मेरो प्रेरणा हौ, आदर्श हौ, पूजा हौ, श्रद्धा र माया हौ। तिम्रो शालीनता, सरलता, वैचारिक व्यापकता, निर्दोषिता र निश्कलङ्कता नै मेरो लक्ष्य भएको छ।

म तिमीलाई संसारका सारा खुसीहरु अञ्जुलीभरी थमाइदिन्छु भन्ने दाबी गर्दिनँ। किनकि आकाशका तारा टिप्ने दिवास्वप्नभन्दा बगैँचामा फूलेको एउटा सानो शिरफूल सिउरिदिने यथार्थतामा मलाई बढी आनन्द लाग्छ। तर तिमी मधुमालती अनि म मधुकर बनी कल्पनाको वायुपंखी घोडामा सवार भइ बादलपारीको देशमा सयर गर्ने सपना भने देख्न छाड्दिनँ।

तिमी मेरो हात यसरी थामिदिनु, जसरी तिमीबाहेक मलाई अरुको आवश्यकता नै नपरोस्। जब म विगत सम्झेर आत्तिन्छु, तब तिमी मेरो प्रेरणा बनिदिनु, मलाई सम्हालिदिनु, मलाई तिम्रो अंगालोमा राखेर खुब प्रेम गर्नु र सम्झाउनु। तिमीसंगको नयाँ सुरुवात नै मेरो जीवनको अन्तिम सुखद पक्ष हो।

हरेक पटकको भेटपछि, हरेक पटकको संवादपछि अझ प्रेम बढेको एहसास हुन्छ। थाहा छ तिमीलाई, ‘तिमीसँग भेटेपछि म साह्रै प्रेमिल हुन थालेको छु।’ हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ। यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन्। मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु।

जिन्दगीको हर मुस्किल पनि सहजै काटिदिउँ जस्तो लाग्छ। जब तिमी प्रेमिल स्वभावले ‘चिन्ता नलिउ, म छु नि तिम्रो लागि’ भनेर सम्झाउँछौ। आफूलाई नियाल्छु, फेरि तिमीलाई नियाल्छु, यस्तो लाग्छ तिमी वास्तवमा नै मेरो लागि ईश्वरीय वरदान हौ प्यारो मान्छे।

अन्ततः क्षितिज पारीबाट हरेक शब्दशब्दमा, हरेक प्रहरहरुमा तिमीलाई भरपुर प्रेमको आभास र सामिप्यताको महसुस गराउन भलै नसकुँला मैले तर वचन भयो प्यारी तिमीलाई एक्लोपनको दबाब र मायाको अभावले कहिल्यै छट्पटिन दिने छैन।

प्रकाशित मिति: : 2022-09-10 14:07:00

प्रतिकृया दिनुहोस्