बेल्जियमका सार्वजनिक कार्यक्रममा नेपालीकाे चासाे कम, भाषण सुन्न छाडेर माेबाइलमै व्यस्त

BreaknLinks
BreaknLinks

बेनेलुक्स अर्थात बेल्जियम, नेदरल्यान्ड र लक्जेम्बर्गका लागि नेपाली राजदूत गहेन्द्रराज भण्डारी मञ्चमा बोलिरहँदा केही सहभागीहरूको ध्यान मोबाइलमा केन्द्रित थियो। मञ्चको ड्यासमा आसिन धेरैले राजदूत भण्डारीले के बोलिरहेका छन् भन्नेमा चासो नै नदिएको भान हुन्थ्यो।  सहभागीहरू आफ्नै पाराले मोबाइलमा व्यस्त देखिन्थे।

एनआरएन बेल्जियमको वार्षिक साधारण सभामा बुधबार देखिएको दृश्य हो यो। सामाजिक सञ्जालमा छरिएका कार्यक्रमको फोटो, भिडियोहरू हेर्दा साधारण सभामा उपस्थितहरुमध्ये कतिपय मञ्चमा वक्ता बोलिरहँदा पनि मोबाइल चलाइरहेका थिए। यो क्रियाकलापले भाषण सुन्नमा धेरैको चासो हराउँदै गरेको पनि प्रष्ट पारेको छ।

एनआरएन बेल्जियमको कार्यक्रममा मात्रै होइन, बेल्जियममा हुने धेरै कार्यक्रमहरुमा यो प्रवृत्ति देखा परेको छ। विभिन्न राजनैतिक भातृ संगठनले गर्ने कार्यक्रम होस् वा अन्य संस्थाले गर्ने कार्यक्रम नै किन नहुन् धेरैले हरेक पटक एउटै व्यक्तिका भाषण, मन्तव्य सुन्न चासो दिन छाडेका छन्। जसको कारण मञ्चमा बोल्ने वक्ताहरुभन्दा ध्यान धेरै मोबाइलमा गएको पाइन्छ।

'पहिलो कुरा कार्यक्रममा वक्ता कति छन्? कार्यक्रम कस्तो प्रकारको हो? अन्तर्क्रिया हो कि अधिवेशन, या साधारण सभाको उदघाटन सत्र हो कि या त कुनै साँस्कृतिक कार्यक्रमको उदघाटन सत्र हो त्यो वक्ताले बुझ्नुपर्छ। वक्ता धेरै छन् भने एउटै कुरा दोहोरी रहँदा दर्सक या उपस्थित मासलाई झिँजो लाग्छ अनि साइड टक गर्ने या मोबाइलतिर ध्यान जान्। वक्ताले बोल्दा मासतिर ध्यान दिनुपर्छ, वक्ता बोलेको बोल्यै छ तर मासले सुनेको छैन भने वक्ताले भनाइ छोटयाउनुपर्छ।

जुनसुकै कार्यक्रम होस् वक्ता बढीमा ७-८ जना राख्नुपर्छ। 'मोना बेल्जियमका पूर्व अध्यक्ष तथा जनसम्पर्क समिति बेल्जियमका पूर्व उपसभापति योगेन्द्र श्रेष्ठ भन्छन्, 'यदि समसामयिक चर्चित विषयमा आधारित कार्यक्रम छ, प्रष्ट बोल्ने अनि कमान्डिङ आवाज छ, सम्बन्धित विषयमा केही दखल भएको अनि विभिन्न चाख लाग्दो उदाहरणसहित उसले मन्तव्य दिन्छ भने त्यो अवस्थामा पनि मानिसहरु मोबाइल चलाउँदैनन्, साइड टक गर्दैनन्, वक्ताका मन्तव्य ध्यान दिएर सुन्छन्। यसतर्फ बेल्जियममा हुने कार्यक्रममा ध्यान दिनु जरुरी छ।'

एनआरएन बेल्जियमकी कार्यसमिति सदस्य रुबिना  शर्मा कुनै पनि कार्यक्रममा जाँदा सुरुमा मोबाइल नहेर्ने तर भाषण लामो भएर वाक्क लागेपछि मोबाइल चलाउने गरेको अनुभव सुनाउँछिन्। शर्माले आयोजकहरुले कार्यक्रमलाई रोचक बनाउनेतर्फ ध्यान दिनुपर्ने मत जाहेर गर्छिन्। उनी भन्छिन्, 'अहिलेको समयमा उपस्थितहरुलाई सधैं एउटै व्यक्तिको भाषण सुनेर बस्ने इच्छा हुँदैन। कुनै नयाँ क्रियाकलाप गराउनु पर्दछ। जसले गर्दा उपस्थितहरु कार्यक्रममा रहिरहनु र मोबाइल चलाएर नबसुन्।'

विदेशमा रहने नेपालीको मुख्य संस्था भनेको एनआरएन नै हो। एनआरएन र नेपाल सरकारको सामिप्यता निकट छ। विदेशमा नेपाली दूतावास र एनआरएनसंगको सम्बन्ध नङ र मासु जस्तै देखिन्छ। तर यो कार्यक्रमहरुमा मोबाइल क्रेज प्रवृत्ति हटाउन लागि परेको देखिएको भने छैन।

यसबारेमा एनआरएन बेल्जियमका सचिव सुबास भट्ट यस्तो प्रवृत्ति हावी हुनुमा कार्यक्रमको उदेश्य, मुताबिक वक्ताहरु र बोल्न दिइने समय तथा विषयमा गृहकार्य नपुग्नु पनि एउटा कारण बनेको बताउँछन्।  उनले कुनै पनि कार्यक्रम आयोजकले कार्यक्रम छोटो मिठो बनाउनेतर्फ ध्यान दिएर कार्यक्रमको रुपरेखा दर्शक केन्द्रित बनाउन सक्यो भने उपस्थितहरुको चाख बढ्नेमा जोड दिएका छन्।

सचिव भट्ट वक्ताहरुका विषयवस्तु दोहोरिनु, वक्ताको विषयवस्तु र प्रस्तुतिको ज्ञानको अभाव वा तयारी कम हुनु, सम्बोधन लामो र दोहोरिने हुनु तथा उपस्थितहरुको भावना अपेक्षाभन्दा बाहिर वक्ता प्रस्तुत हुनुले कार्यक्रममा भन्दा मोबाइलमा धेरै व्यस्त रहने गरेको बताउँछन्।

त्यसो त व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष चिरनकुमार खवास पनि रुबिना शर्माको भनाइमा सहमत जनाउँछन्। उनका अनुसार उही मानिस, उही भाषणले गर्दा पनि सहभागीहरू कार्यक्रम र बोल्ने वक्ताको कुराहरूप्रति चासो देखाउँदैनन्। जसको कारण कार्यक्रममा भन्दा ध्यान अन्त गइरहेको हुन्छ।

'कार्यक्रम निर्धारित समयमा गर्न नसक्नु, सञ्चालनले पुरानो भद्दा शैली अपनाउनु, तयारीको अभावले ल्याउने असहजता तथा प्राविधिक व्यक्तिहरु हायर गर्न नसक्दा कार्यक्रम खल्लो हुन पुग्दछ', उपाध्यक्ष खवास भन्छन्, 'यी कुराहरुमा थोरै गृहकार्य गरेर कार्यक्रम गर्ने हो भने मोबाइलकाे साटो सबैको ध्यान कार्यक्रममा हुनेमा दुईमत छैन।' उनले कुनै पनि कार्यक्रमको रूपरेखा सार्वजनिक गरेर, पूर्व निर्धारित र आवश्यक व्यक्तित्वहरुलाई मात्र बोल्न दिए उत्साहका साथ सबैले सुन्ने सुझाव दिन्छन्।

पछिल्लो समय बेल्जियममा आयोजित गरिने आसन ग्रहण, भाषणयुक्त कार्यक्रममा सहभागीहरूको उपस्थित पनि पातलिँदै गएको छ। सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रममा हुने भीडभाड अन्य कार्यक्रममा पाइँदैन। जसको कारण न्यून सहभागिता अनि धेरै मोबाइलमा व्यस्त हुने गरेका छन्। यो दुखद पक्ष हो। यस्तो प्रवृत्ति न्यूनीकरण गर्नतर्फ कार्यक्रम आयोजकहरुले ध्यान दिनु जरुरी देखिन्छ।

प्रकाशित मिति: : 2022-09-15 12:40:00

प्रतिकृया दिनुहोस्