भारतविरुद्ध नेपालको जितले साफमा नयाँ विजेता बन्दै

लगातार ५ पटक महिला साफ च्याम्पियन बनेको भारतलाई हराउँदै नेपालले इतिहास रचेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो।

महिला साफमा भारतविरुद्ध नेपालको यो पहिलो जित हो। यसअघिका प्रतियोगितामा चार पटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो।

भारतजस्तो बलियो टिमलाई हराउन नेपालका लागि रश्मिकुमारी गुरुङले निर्णायक गोल गरिन्। घरेलु मैदान दशरथ रंगशलामा भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा रश्मिले गरेको गोलले नै नेपालका लागि इतिहास रच्ने गोल बन्यो। नेपालले भारतलाई पहिलो पटक पराजित गर्यो।

नेपाल यसअघिका पाँचवटै संस्करणमा भारतसँग पराजित भएको थियो। भारतविरुद्ध जित निकाल्न नेपाल १२ वर्षदेखि प्रतिक्षामा रहेको थियो।

भारतको दवदवा रहेको साफमा भारतको पराजयसँगै अब प्रतियोगिताले नयाँ च्याम्पियन पाउने भएको छ। नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छ।

उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन्। फाइनल खेल सोमबार हुँदै छ। पाचौँ पटक फाइनल प्रवेश गरेको नेपाल उपाधि हत्याउने दाउमा छ। यता, बंगलादेश पनि दोस्रो पटक फाइनल प्रवेश गरेको हो।

साफको इतिहास

सन् २०१० बाट महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु भएको हो। साफको पहिलो संस्करण २०१० को डिसेम्बर १२ देखि २४ सम्म बंगलादेशमा आयोजना भएको थियो।

बंगलादेशको कक्स बजार स्टेडियममा भएको च्याम्पियनसिपमा ८ राष्ट्रले सहभागिता जनाएका थिए।

पहिलो संस्करणको फाइनलमा नेपाल र भारत पुगेका थिए। फाइनलमा नेपाललाई १–० गोलले हराउँदै भारतले पहिलो साफ च्याम्पियनसिपको उपाधि जितेको थियो।

श्रीलंकामा आयोजना भएको साफको दोस्रो संस्करण (२०१२) मा ८ टिमको सहभागिता थियो। कोलोम्बोस्थित सिआर एण्ड एफसी ग्राउण्डमा सेप्टेम्बर ७ देखि १६ सम्म प्रतियोगिता चलेको थियो।

दोस्रो संस्कराण्को फाइनलमा नेपाल र भारतको दोस्रो पटक भेट भयो। अघिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने होडमा रहेको नेपाल फाइनलमा पराजित भयो।

खेलको तेस्रो मिनेटमै अग्रता लिएको नेपालले त्यो अग्रता कायम राख्न सकेन। आठौँ मिनेटमा गोल खादैँ खेल बराबरीमा फर्किएको थियो।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाँदै उपविजेतामा चित्त बुझायो। नेपालविरुद्ध ३–१ को जित निकाल्दै भारत दोस्रो पटक विजेता बन्यो।

पाकिस्तानमा आयोजना भएको साफको तेस्रो संस्करण (२०१४) मा लगातार उपाधि जित्दै भारतले ह्याट्रिक गर्यो। यता, नेपालले पनि लगातार तीन पटक फाइनलमा हार्दै हारमा ह्याट्रिक गर्यो।

नोभेम्बर ११ देखि २१ सम्म पाकिस्तानको इस्लामावादस्थित जिन्नाह स्पोट्र्स स्टेडियममा भएको खेलमा भारतले ६–० को फराकिलो जित निकाल्दै तेस्रो पटक च्याम्पियन बनेको थियो।

२०१६ मा चौथो संस्करण भारतमा आयोजना भयो। डिसेम्बर २६ देखि जनवरी ४ सम्म आयोजना भएको प्रतियोगितामा ७ टिम सहभागी भएका थिए। प्रतियोगितामा पाकिस्तानले सहभागीता जनाएको थिएन।

घरेलु टिम भारतले नेपाललाई सेमिफाइनलमा फराजित गर्दै फाइनल प्रवेश गरेको थियो। फाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत लगातार चौथो पटक च्याम्पियन बन्यो। फाइनलमा बंगलादेश ३–१ ले पारजित भएको थियो।

नेपालमा आयोजना भएको पाचौँ संस्कारण (२०१९) मार्च १२ देखि २२ सम्म विराटनगरमा आयोजना भएको थियो। प्रतियोगितामा ६ टिम मात्र भएका थिए।

चौथो संस्करणको सेमिफाइनलबाटै बाहिरिएको नेपाल पाचौँ संस्करणमा फाइनल प्रवेश गरेको थियो। लगातार ४ पटक भारतसँग हारेको नेपाल पुनः फाइनलमा भारसँग पराजित भयो। नेपाललाई ३–१ गोलले पराजित गर्दै भारतले लगातार पाचौँ पटक महिला साफको उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2022-09-17 13:13:00

प्रतिकृया दिनुहोस्