अनलक्की नेपाल !

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

महिला साफ च्याम्पियनसिपमा नेपाल पाचौँ पटक फाइनलमा पराजित भएको छ। साफको छैटौं संस्करणसम्म आइपुग्दा नेपाल चार पटक फाइनल र एकपटक सेमिफाइनलमा भारतसँग पराजित भएको छ।

छैटौँ संस्करणको सेमिफाइनलमा भने पाँच पटक भारतसँगको हारको बदला लिएको नेपालले फाइनलमा जित्न सकेन। यसपटक फाइनलको नयाँ प्रतिद्वन्द्वी बंगलादेशसँग पराजित भयो।

सोमबार भएको फाइनल खेलमा नेपाललाई ३-१ गोलले हराउँदै बंगलादेशले पहिलो पटक उपाधि जित्यो। बंगलादेशले उपाधिमात्र जितेन, भारतबाहेक पहिलो पटक विजेता बन्दै इतिहास पनि रचेको छ।

दशरथ रंगशालामा भएको फाइनल खेलको सुरुवातदेखि नै दवावमा रहेको नेपाल पहिलो हाफमा २-० गोलले पछि पर्यो। खेलको १३ औँ मिनेटमा गोल खाएको नेपालले पहिलो हाफको अन्तिम पाँच मिनेट जोगाउन नसक्दा बंगलादेशले पहिलो हाफमा २-० को अग्रता लियो।

दोस्रो हाफको ६९औँ मिनेटमा नेपालले गोल फर्काएपनि खेल बराबरीमा ल्याउन सकेन। त्यसको केही मिनेटमै फेरि नेपालले गोल खायो। दोस्रो हाफको अन्तिम मिनेटसम्म पनि जितको खोजीमा रहेको नेपाल बंगलादेशसँग ३-१ ले पराजित बन्न पुग्यो।

हारसँगै महिला साफमा पाँच पटक फाइनल खेलेको नेपालले फाइनलमा जित निकाल्न सकेको छैन। दोस्रो पटक फाइनल प्रवेश गरेको बंगलादेशले नेपालविरुद्ध सहज जित निकाल्यो।

छैटौँ संस्करणसम्म आइपुग्दा नेपालका लागि सधैँ तगारो बनेको भारत सेमिफाइनलबाटै बाहिँरिदा पनि नेपालले उपाधि जित्न सकेन। लगातार पाचौँ पटक विजेता बनेको भारत नेपालसँग सेमिफाइनलमा पराजित भएको थियो।

साफमा पहिलो पटक भारतलाई पराजित गर्दै नेपालले सेमिफाइनलबाटै घर फर्काइदिएको थियो। भारत समूह चरणको खेलमा पनि बंगलादेशसँग पराजित भएको थियो। १२ वर्षदेखि भारतविरुद्ध जितको खोजीमा रहेका नेपाल र बंगलादेश दुवैले यस संस्करणमा भारतलाई हराउन सफल भए।

सन् २०१० बाट सुरु भएको महिला साफको पहिलो संस्करणको फाइनलमा नेपाल र भारत पुगेका थिए। फाइनलमा नेपाललाई पराजित गर्दै पहिलो पटक विजेता बनेको भारत २०१९ को पाचौँ संस्करणसम्म आइपुग्दा लगातार उपाधि जित्दै आएको थियो।

२०१२, २०१४ र २०१९ को प्रतियोगितको फाइनलमा नेपाल भारतसँग पराजित भयो। नेपाल २०१६ को चौथो संस्करणमा भने भारतसँग सेमिफाइनलमै पराजित भएको थियो। चौथो संसकरणको फाइनलमा भातरले बंगलादेशलाई पराजित गर्यो।

यसरी लगातार भारतसँग पारजित भएको नेपालले छैटौँ संस्करणमा भारतविरुद्ध जित निकाल्दा नेपाली फुटबल फ्यानमा उतसाह छाएको थियो। तुलानात्करुपमा बंगलादेश नेपालभन्दा कमजोर मानिन्छ। अहिलेसम्म यी दुई राष्ट्रबीच भएका खेलको तथ्यांक हेर्दा यस्तै देखिन्छ।

साफमा सधैँ भारतको दवदबा हुने गर्छ। समग्रमा हेर्दा अरु देशभन्दा भारतको खेल निकै राम्रो मान्न सकिन्छ। तर, छैटौँ संस्करणमा भारतको दवदबा समाप्त पारेको नेपालले भारतलाई पहिलो पटक हराउँदै इतिहास रच्न भ्यायो। तर, भारत प्रतियोगिताबाट बाहिरिँदा पनि नेपालले उपाधि जित्न सकेन। बंगलादेशसँग पराजित हुँदै नेपाल अनलक्की सवित भयो।

प्रकाशित मिति: : 2022-09-20 11:45:00

प्रतिकृया दिनुहोस्