म्यान्मारमा सेनाद्वारा विद्यालयमाथि हवाई आक्रमण, ११ विद्यार्थीकाे हत्या

सुधा अत्रि

म्यान्मार

म्यान्मारको एउटा विद्यालयमा सैन्य ‘जुन्ता’ले अन्धाधुन्ध गोली वर्षाउँदा कैयौँ नानीबाबुहरूले ज्यान गुमाएका छन्। संगाईं क्षेत्रमा सैनिक परिषद्ले हवाई आक्रमण गर्दा लेयेकौं गाउँमा अध्ययनरत ११ जना स्कुले विद्यार्थीको ज्यान गएको छ।

स–साना बालबालिका मारिँदा पनि मौन बसेको संयुक्त राष्ट्रसंघको चारैतिरबाट आलोचना भइरहेको छ। म्यान्मारको सैन्य परिषदले नानीबाबुको हत्या गर्नका लागि हेलिकप्टर प्रयोग गरेको स्थानीय बासिन्दा बताउँछन्।

आक्रमणबाट कम्तिमा ११ जना बालबालिकाको मृत्यु भएको छ। कैयौँ गम्भीर घाइते भएका छन्। क्रूर सैनिकले लगत्तै २० जना शिक्षकलाई पनि गिरफ्तार गरेको छ।

मौंय्वा सार्वजनिक हडतालको नेतृत्व समितिकी सदस्य ‘माछसुसान’ले भनिन्, ‘म्यान्मारको सैन्य सरकारले छानीछानी आफ्ना नागरिकहरू मारिरहेको छ। द्वन्द्वबाट सबैभन्दा पीडित बालबालिकाहरू छन्। अन्तर्राष्ट्रिय समुदाय एकदमै मौन छ।’

अन्तराष्ट्रिय समुदायले आन्तरिक सशस्त्र द्वन्द्वका कारण यस्तो अवस्था उत्पन्न भएको ठान्दछिन्, उनी। त्यसो त लेयेकौं गाउँमा युद्ध छेडिएको छैन। त्यहाँ शान्त छ। तर ११ जना नानीबाबु मारिएको घटनालाई  बालअधिकार क्षेत्रमा क्रियाशील समूहले आवाज उठाउन आवश्यकता रहेको पीडिएका एक सदस्यले जनाएका छन्। ‘यदि हामीले यस्तो अमानवीय कार्यको बारेमा बोलेनौं भने सैन्य परिषदले थप अपराध गर्नेछ,’ उनले भने।

सेभ द चिल्ड्रेन म्यान्मारले संगाईं नरसंहारप्रति गम्भीर आपत्ति जनाएको छ। म्यान्माली बालबालिकालाई त्राशमा राखेको भन्दै राष्ट्रिय एकता सरकार (एनयूजी)ले अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ।

‘विद्यालयलाई निर्ममतापूर्वक निशाना बनाएका युद्ध अपराधी सेनालाई कारबाही गर्नुपर्छ,’ एनयूजीले भन्यो। निर्दोष विद्यार्थी र स्कुललाई उद्देश्यपूर्ण आक्रमण र हत्या गर्ने अमानवीय, हिंस्रक, आतंकवादी सेनालाई अन्तर्राष्ट्रिय समाजबाट तुरुन्तै कारवाही गर्नुपर्ने एनयूजीका नेताहरूले जनाएका छन्।

म्यान्मार शान्तिपूर्वक विद्यालय पुगेका विद्यार्थीहरू ‘लास’ बनिरहेका छन्। उता लेयेकौं गाउँमा भएको आक्रमणमा काचिन लिबरेशन आर्मी (केआईए) र पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) संलग्न रहेको सैनिक परिषदले जनाएको छ। तर बालबालिकाहरू शान्तिपूर्वक रुपमा विद्यालयमा पढिरहेको स्थानीयहरू बताउँछन्।

स्रोतकाअनुसार सैन्य आक्रमणबाट मारिएका बालबालिकाको शव करिब सात माइल टाढाको ये ऊ जंगलमा लगेर गाडेको छ। ‘यो घटना अध्ययनरत बालबालिकाका लागि विपत्ति हो। शिक्षक, शिक्षिका र विद्यार्थीका अविभावकलाई प्रत्यक्ष धम्की हो। पहिले नै राम्रो गतिमा कार्यान्वयन भइरहेका सार्वजनिक शिक्षाका कार्यक्रमलाई क्रुर सेनाले आक्रमण गरी नष्ट गर्न थाल्यो,’ छाया सरकारका एक मन्त्रीले जनाएका छन्।

म्यान्मारको सैन्य परिषदले देशभर वायुसेना र भारी हतियार प्रयोग गरेर नागरिकमाथि आक्रमण गरिरहेको छ। जसको परिणामस्वरूप शरणार्थी शिविर र कैयौँ गाउँ–वसतीमा प्रहार गरी बालबालिकासहित सर्वसाधारणको हत्या गरिरहेको छ।

प्रकाशित मिति: : 2022-09-20 16:34:00

प्रतिकृया दिनुहोस्