फलाेअप

कंगाल निगमलाई जहाज किन्न सुदन किरातीको ‘करबल’

उमेश थापा

काठमाडौं

नेकपा एमालेसँग हतार–हतार मिलेर प्रधानमन्त्री भएका पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको सरकारमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर भित्रिनुअघि मन्त्री सुदन किराँतीले बुझेका थिएनन्, नेपाल वायु सेवा निगममा के छ? 

मन्त्री सपथ लिएपछि कार्यभार सम्हालेलगत्तै ‘अनुगमन-निरिक्षण’को बाहनामा निगममा पुगेपछिमात्रै उनले कर्मचारीहरूलाई सम्बोधन गर्दै भने- ‘अब निगमको अवस्था देखेर रुनुपर्ने दिन नआओस्…’ त्यो भनेको किराँतीले बोकेको ‘निगम सुधार’को नारा थियो।

त्यो बेला मन्त्रालयमा प्रशासनको जिम्मेवारी सचिव सुरेश अधिकारीले सम्हालेका थिए। मन्त्री किराँतीले बोलाएको सुरुवातका बैठकहरूमा उनै सचिव अधिकारीले नेपाल वायु सेवा निगमलाई अघि बढाउनका लागि जहाजहरू थप्नुपर्ने प्रस्ताव गरेका थिए।

त्यो प्रस्तावका बारेमा छलफल गर्नका लागि मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग छलफल गर्न चाहेका थिए। केही दिनपछि त्यो मेसो पनि मिल्यो। तर त्यो बेला अध्यक्ष अधिरकारीले तत्कालको अवस्थामा ‘जहाज किन्न नहुने’ राय मन्त्री किराँतीलाई दिएका थिए। 

केही समयपछि मन्त्री किराँतीले अध्यक्ष अधिकारीलाई पाँच बुँदे स्पष्टिकरण सोधे। त्यसको जवाफसँगै अध्यक्ष अधिकारीले मन्त्री किराँतीसँग गहिरो दोस्ती कायम गर्न सफल भए। 

मन्त्रालयका तत्कालीन सचिव सुरेश अधिकारीले त्यो बेला निगमको फाइदाका लागि साना जहाज किन्ने प्रस्ताव गरेका थिए। त्यसका लागि उनले निगमका सबै कर्मचारी संगठनका पदाधिकारीहरूलाई समेत सहमत गराइसकेका थिए। तर त्यो बेला निगमका अध्यक्ष युवराज अधिकारीले जहाज किन्ने प्रस्ताव स्विकार गरेका थिएनन्। 

कर्मचारी स्रोतका अनुसार त्यो बेला अध्यक्ष अधिकारी निगमसँग पैसा अभाव भएको र पुराना जहाजका इन्जिनहरू मर्मत गर्नका लागि रकम अपुग भएका कारण जहाज किन्नेबारेमा सोच्नै नसकिने भनेर पन्छिएका थिए।

तर मन्त्री पदको सपथ लिएर कार्यभार सम्हाल्दै गर्दा मन्त्री किराँतीले ‘आफ्नै कार्यकालमा निगममार्फत कम्तीमा दशवटा जहाजहरू खरिद गर्ने’ वाचा गरेका थिए।

आफ्नो त्यो वाचालाई पूरा गर्नका लागि मन्त्री किराँतीले निगमका अध्यक्ष अधिकारीलाई घच्घच्याइरहेका थिए। 

‘खासमा त्यो बेला मन्त्रालयका सचिव सुरेश अधिकारीज्यूको एउटा टोलीले देशभरिको अध्ययन गरेर देशको आन्तरिक उडानका लागि साना जहाजहरूको आवश्यकता पहिचान गरेको थियो’ निगमका एक कर्मचारी भन्छन् ‘निजी हवाई कम्पनीहरूसँग प्रतिष्पर्धा गर्नका लागि निगमले जहाजहरू थप गर्नुपर्छ भन्ने निष्कर्ष त्यो बेला हामी सबैको थियो।’

तर सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे। 

त्यो सम्बन्धको विस्तार गर्नका लागि अध्यक्ष अधिकारीले जहाज आवश्यक रहेको एउटा प्रस्ताव मन्त्रालयमा पठाएका थिए। जो पर्यटनमन्त्री किराँतीका लागि ‘देउता भेट्टाए’जस्तै भयो। 

त्यसपछि मन्त्री किराँतीले त्यो प्रस्ताव स्वीकृत गराउनका लागि प्रधानमन्त्री र सरकारका अरु मन्त्रीहरूसँग पनि हारगुहार गर्न थाले।

यहीँ मेसोमा निगमले दसैंको छुट्टी सुरु हुनुअघि तीनवटा जहाज किन्नका लागि विश्वव्यापी टेण्डरको सूचना जारी गर्‍यो। जबकि त्यो टेण्डरको सूचना प्रकाशित गर्नका लागि बसेको निगमको सञ्चालक समितिको बैठकमा मन्त्रालययकै प्रतिनिधिले असहमति जनाएका थिए। 

जहाज किन्नका लागि निगमले सरकारलाई आर्थिक भार नपार्ने र आफ्नै आन्तरिक काेषबाट खरिद गर्ने स्पष्टीकरण दिइरहेकाे छ। तर निगमकाे ढुकुटीमा जहाजहरू किन्न पर्याप्त पैसै छैन। 

समितिमा अर्थ मन्त्रालयका सहसचिव सदस्य हुन्छन्। त्यो बैठकमा मन्त्रालयका सहसचिव धनिराम शर्माले लिखितरुपमै जहाज किन्ने निर्णयमा असहमति लेखेका थिए। 

तर अहिले भने त्यो निर्णयलाई सही सावित गर्नका लागि निगमले अनेक अभिव्यक्तिहरू दिइरहेको छ। अर्थमन्त्रालयको त्यो असहमतिलाई निगमले ‘जहाज नकिन्ने भन्दा पनि स्रोत जुटाएर किन्ने सुझाव’का रुपमा अर्थ्याएको छ। 

अनि निगमका लागि जहाज आवश्यक छ भन्ने पुष्टि गर्नका लागि मन्त्री किराँती आफैले पनि प्रस्टिकरणयुक्त अभिव्यक्ति दिँदै आएका छन्। 

‘त्यो सबै अध्यक्ष अधिकारीकै सल्लाह सुझाव हो’ निगमका एक कर्मचारी भन्छन् ‘त्यो सबै मन्त्रीज्यूकै जोडबल थियो त्यसमा अध्यक्षज्यूले साथ दिनुभएको हो। त्यति नभए मिलोमतोमा गरिएको योजना कसरी सफल हुनसक्छ र?’

कर्मचारी स्रोतका अनुसार ढुकुटीमा पैसा नभएको बेला र ऋणको भारी बोकिरहेको निगमले जहाज किन्ने टेण्डरको सूचना निकालेपछि त्यसको व्यापक चर्चा र विवाद भइरहेको छ। निगमभित्रै कर्मचारीवृत्तमा पनि त्यसको आलोचना भइरहेको छ। 

यो निर्णयविरुद्ध अहिले सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई प्रधानमन्त्रीले आफ्नै मातहतमा राखेका छन्। 

सुरुवातमा अलगअलग रहेका निगमका अध्यक्ष र मन्त्री किराँतीको सम्बन्ध भने अहिले गहिरो भएको छ। मन्त्री र निगमका अध्यक्ष अधिकारीको अहिलेको यो ‘दम्भ’ त्यही सम्बन्धको उपज हो। 

‘अहिले त निगमभित्रका कर्मचारीहरूबीच पनि दुई चिरा देखिएको छ’ त्यहाँका एक कर्मचारी भन्छन् ‘उदाएको सूर्यको घाम त सबैले ताप्न चाहन्छन्ֹ। कर्मचारीबीचमा देखिएको यो चिरा पनि त्यस्तै होला।’ 

थप समाचार—

कमिसनको लोभमा जहाज किन्ने चक्कर काटिरहेका मन्त्री र अध्यक्ष

वायुसेवा निगमलाई बिझाइरहेको एउटा काँडा 

‘राष्ट्रिय ध्वजा’ धुजा-धुजा पारिरहेका यी अनुहारहरू

को हुन् निगमलाई जहाज किन्न नदिने ‘हवाई माफिया’हरू?

प्रकाशित मिति: : 2023-12-06 20:32:00

प्रतिकृया दिनुहोस्