पश्चिम नेपालले आफ्नाे पहुँच मानेका नेता बस्नेत

BreaknLinks
BreaknLinks

जाजरकोटको ग्रामिण भूगोलबाट संघर्षकाे पर्यायवाची रुप देखाएका एक सफल नेतृत्व हुन्, शक्तिबहादुर बस्नेत। २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालीन नेकपा एकताकेन्द्र (मशाल)मा आवद्ध भएका उनी गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कैयौं जनविरोधी फटाहहरुको बारीका मुला फाल्नेलगायतका माैलिक आन्दोलनबाट स्थापित बनेका हुन्।

दाङको महेन्द्र बहुमुखी क्याम्पस र जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा विद्यार्थी रहेका बस्नेत आफ्नो पढाइ पुरा नगरी भूमिगत राजनीतिमा संलग्न भएका थिए। २०५२ सालमा जनयुद्धको घाेषणासँगै माओवादी आन्दोलनलाई उचाइमा पुगाउन राजनीति सुरु गरेका उनी ०५५ सालमा पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए।

पार्टी निर्माणका निम्ति दिलाेज्यान दिएर लागेका उनी ०५७ सालमा केन्द्रीय सदस्य बने। संगठन निर्माण र परिचालनमा सशक्त भूमिका निर्वाह गरेका उनी जाजरकोटी जनताका प्रिय नेता हुन्।

वैकल्पिक केन्द्रीय सदस्य हुँदा नै पार्टी नेतृत्वमा अमिट छाप छाेड्न सकेका कारण उनकाे राजनीतिक भविष्य उज्ज्वल बन्दै गयाे। जसकाे पफलस्वरुप उनी निकै छाेटाे समयावधि अर्थात २०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका निर्वाचित भए।

युद्ध माेर्चामा भेरीकर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो इन्चार्जको भूमिका निर्वाह गरेका उनी शाही सेनाले ‘किलाे सेर टु अप्रेसन’ चलाउँदा डाढमा टेकेर टाउकोमा हान्ने योजनामा जनमुक्ति सेनाकाे नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए। त्यहाँ देखाएकाे युद्ध काैशलताकै कारण माओवादी आन्दोलनले उनकाे उच्च मूल्यांकन गर्दै गयाे।

जनयुद्धतकाे मैदानमा देखाएकाे युद्ध काैशलताकै प्रतिफल हाे, जाजरकोट जस्ताे पिछडिएको जिल्लाले इतिहासमा पहिलाे पटक मन्त्री पायाे। जाजरकोटकाे इतिहास रचेका बस्नेत पहिलाे पटक २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।

२०७१ सालमा स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टीमा निकै प्रभावशाली युवा पुस्ताका नेताका रुपमा परिचित छन्। युद्धको भट्टीबाट स्पात बनेका उनकाे नाम नेकमा माओवादी केन्द्रलाई सशक्त बनाउन अग्रणी भूमिका निर्वाह गर्ने नेतृत्वमा अग्र पंक्तिमा आउँछ।

माओवादीका प्रभावशाली नेताहरु कृष्णबहादुर महरा तथा पूर्व लडाकु–कमान्डर जनार्दन शर्माजस्ता हस्तीलाई उछिन्दै बस्नेत गृहमन्त्री बन्न सफल उनले आफूलाई कुशल राजनीतिक नेतृत्वमा स्थापित गरिसकेका छन्।

राज्यकाे नजरमा उस्तरी नपर्ने विकट भूगोल जाजरकोटबाट सत्ता राजनीतिकाे केन्द्रलाई धक्का दिन सक्ने पश्चिमका एकमात्र नेता हुन्, उनी। सधैं निकट नरहे पनि पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्तै निकट मानिने उनी तत्कालीन भूमिगत माओवादीकाे चुनवाङ बैठकबाट गरिएकाे बहुदलीय राजनीतिमा हाम फाल्ने निर्णय निर्णयलाई शंकास्पद ढंगले हेर्ने युवा पुस्ताका नेतामध्ये एक हुन्।

नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा र रविन्द्र श्रेष्ठलगायत नेताकाे कित्तामा रहेका उनी पछिल्लो समय सत्ता राजनीतिकाे केन्द्र भागबाट पश्चिमकाे विकास गर्न लागिरहेका छन्।

संसदीय राजनीतिप्रति आलोचनात्मक दृष्टिकोण राख्ने उनले पहिलो संविधानसभा निर्वाचनमा भागसमेत लिएका थिएनन्। पहिलो संविधानसभाको नतिजा र त्यसले ल्याएको नयाँ राजनीतिक अवसरसँगै उनको बाटो पनि बदलियो। अध्यक्ष दाहालले उनलाई स्वकीय सचिवमा नियुक्त गरे।

पार्टीको आधार इलाकामा पकड जमाएका बस्नेतलाई आफ्नो पक्षमा ल्याउनु दाहालका निम्ति ठुलाे राजनीतिक जित थियो। पार्टी 'हार्डलाइनर' टुक्रने क्रमसँगै बस्नेत झनै दाहालनिकट हुँदै गए। त्यसपछिका दिनमा बस्नेत आफ्नाे नामजस्ताे शक्तिमा रहेका छन्। जुन पश्चिम नेपालका निम्ति अत्यन्तै आवश्यक बनिदिएकाे छ।

पहिलाे संविधान सभाले जनतालाई नयाँ संविधान दिन असमर्थ भएपछि कुनै पनि हालतमा संविधान बनाउनुपर्छ भन्ने मान्यता राख्ने नेता हुन्, बस्नेत। संविधान निर्माण प्रक्रिया रोकेर मधेसवादी दलसँग जसरी पनि सम्झौता गर्नुपर्छ भन्ने बाबुराम भट्टराईको अडानविरुद्ध उनी कडा रूपमा प्रस्तुत भएका थिए।

बस्नेतलाई पार्टीको ‘राष्ट्रवादी’ कित्तामा राखेरसमेत हेर्ने गरिन्छ। पार्टीको स्थानीय स्तरमा पकड हुनुका साथै दाहालसँग निकटताका कारण नै राष्ट्रिय राजनीतिमा उनकाे उदय अझ सहज हुन पुग्याे।

पहिलो समय पश्चिमले उनलाई आफ्नाे पहुँचकाे रुपमा लिएकाे। सत्ता राजनीतिकाे काेपभाजनमा परेकाे पश्चिम नेपाल उनीलगायतका नेतृत्वको उदयले आफ्नाे पहुँच बढ्न सकेकाेमा विकासकाे मूल फुट्ने आशामा पर्खी बसेकाे छ।

प्रकाशित मिति: : 2022-09-29 21:50:00

प्रतिकृया दिनुहोस्