स्वर्गीय दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार सागर परियारलाई

'स्वर्गीय दिपबहादुर स्मृति क्रीयाशील पत्रकारिता पुरस्कार' जुम्लाका पत्रकार सागर परियारले पाएका छन्। जुम्लाबाट पहिलोपल्ट सुरुवात गरिएकाे पुरस्कार सक्रिय पत्रकारिता गरिरहेका परियारले पाएका हुन्।

जुम्लामा पत्रकारिता सुरुवात गरेर बाँकेलाई कर्मथलाे बनाइरहेका पत्रकार शुभाकर विश्वकर्माले उक्त पुरस्कारकाे स्थापना गरेका हुन्। उनले २०७२ साल असाेज १६ गते बितेका आफ्ना बुबाकाे स्मृतिमा उक्त पुस्कारका स्थापना गरेको बताएका छन्।

२०७२ सालबाट रेडियोबाट  पत्रकारिता सुरुवात गरेका पत्रकार परियार त्यसकाे तीन वर्षपछि लगातार लेखन क्षेत्रमा क्रियाशील छन्।

रेडियाे पत्रकारिता र लेखनमा उत्कृष्ट रिपोर्टिङ गर्दै आएका उनकाे कामलाई मूल्यांकन गरि पुरस्कार दिने निर्णयमा पुगेकाे छनाेट समितिका सदस्य उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।

'छनाेटका विभिन्न आधारहरु थिए। नाम नै क्रियाशील पत्रकारिता पुरस्कार राखिएकाे हुनाले हामीले क्रियाशीलहरुमध्येबाट उहाँलाई छान्याैं,' उनले भने, 'इतिहासमा पहिलाे पटक जुम्लाबाट पुरस्कार दिने काेसिस गरिएकाे छ। जसकाे स्थापनाले आगामी दिनमा पत्रकारहरुकाे क्रियाशीलतामा थप उर्जा दिनेछ।'

व्यवसायीक पत्रकारिताकाे जग बलियाे बनाउन महत्त्वपूर्ण याेगदान गरेका पत्रकार परियार जुम्लाकाे दाेस्राे दैनिक पत्रिका कर्णालीपोष्ट दैनिकको कार्यकारी सम्पादक समेत छन्। उनी विगत छ वर्षदेखि कारोबार राष्ट्रि आर्थिक दैनिकमा निरन्तर काम गर्दै आएका छन्।

स्थानीय एफ एम रेडियाे कर्णालीबाट सिकेकाे सीपलाई निरन्तरता दिन विगत तीन वर्ष यता रेडियो नेपालमा काम गरिरहेका छन्।

स्थानीय देखि राष्ट्रियस्तरका संचार माध्यममार्फत विकटका समाचार प्रकाशन तथा प्रसारण गर्ने उनी पत्रकार हक हितका लागि अनवरत रुपमा संघर्ष गर्दै आएकाे नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सहसचिव समेत छन्। 

सत्य र निस्पक्षतालाई आत्मसाथ गरी सामाजिक सशक्तिकरणका लागि व्यवसायीक पत्रकारिता अंगालेका उनले स्वार्गीय दिपबहादुर स्मृति पुरस्कार पाउने खबरले उत्साहित भएकाे बताएका छन्। 

'याे मेराे लागि निकै खुसीको कुरा हाे। पत्रकारिता क्षेत्रमा मैले देखेकाे भविष्यलाई अझ दृढ हुन मद्दत मिल्नेछ,' उनले भने, 'म मेरो कर्ममा तल्लीन भइराख्दा बेलाबखत आउने खुसीहरुले मलाई थप उत्प्ररेण र हौसला प्रदान गर्नुका साथै जिम्मेवारी बढेको महसुश हुन्छ।' 

'स्व.दिप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार'को पहिलो संस्करणबाट पुरुस्कृत भएर इतिहास रच्ने अवसर आफूले पाउने हुँदा उत्साह बढेकाे उनकाे प्रतिक्रिया छ। 

'जुम्लामा हालसम्म पत्रकार महासंघ लगायत कुनै पनि निकायबाट पत्रकारहरुको प्रोत्साहनका लागि पुरस्कारको स्थापना गरिएकाे छैन। न त कोष नै खडा भएको छ,' उनले भने, 'यस्ताे अवस्थामा पत्रकार शुभाकर विश्वकर्माले आफ्नो बुबाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरी नयाँ पृथक र ऐतिहासिक कदम चाल्नुले हाम्राे कलम अझ निखारिनेछ।'

देशकाे राजनीति, समाज र पत्रकारिताले लय लिन नसकेकाे अवस्थामा पत्रकारलाई उर्जा दिने काम गर्नु सकारात्मक पक्ष भएकाे विश्लेषक रामसिंह रावलले बताए। 

'इमानदारीपूर्वक कलम चलाउँदा समाज सहि दिशामा जान्छ,' उनले भने, 'यसरी व्यक्तिगत तवरबाट पुरस्कारकाे स्थापना गर्नु निकै सकारात्मक पक्ष हाे। यसकाे निरन्तरताले उर्जा थप्नेमा विश्वस्त छु।'

सम्मान पाउने तर जाेखिम बढी भएकाे पेसाका अनेकौं कठिनाई रहेकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरिनन्द आचार्यले बताए। 

'याे पुरस्कारकाे स्थापनाले धेरै जस्ताे पत्रकारलाई उर्जा दिनेछ,' उनले भने, 'सागर परियार उज्ज्वल भविष्यमा भएका पत्रकार हुनुहुन्छ। उहाँ सहि मुल्यांकन भएकाे छ।'

पुरस्कार जिल्ला समन्वय समितिका प्रमुख गाैरिनन्द आचार्यकाे हातबाट वितरण गरिएकाे थियाे। दस हजार राशीकाे पुरस्कार हरेक वर्ष एक जना क्रियाशील पत्रकारलाई प्रदान गरिनेछ।

पुरस्कार वितरण समारोहमा पत्रकार परियारले राखेकाे मन्तव्यकाे सार संक्षेप:

यस ऐतिहासिक कार्यक्रमका सभाअध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, मञ्चमा बस्नुभएका अतिथि ज्यूहरु र उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक नमस्कार व्यक्त गर्दछु। सँगसँगै विजया दशमी, शुभ दिपावली तथा छट पर्वकाे हार्दिक मंगलमय शुभकामना!

आज भन्दा ८ वर्ष अगाडि वित्नु भएका स्वर्गीय दिप बहादुर विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँकाे नामबाट स्थापना भएकाे 'स्वर्गीय दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार' मलाई प्राप्त भएकाे छ। इतिहासकाे याे महत्त्वपूर्ण अवसर प्राप्त गर्न पाउँदा म आफूलाई भाग्यमानी मानिस ठानिरहेकाे छु।

संसारभर विभिन्न किसिमका पुरस्कारहरु स्थापना गरिएका छन्। संसारकै सबैभन्दा माेटाे राशीकाे पुरस्कार स्थापना गरिएका छन्। नेपालमा पनि पत्रकारले पाउने विभिन्न किसिम र राशीका पुरस्कारहरु छन्। तर पश्चिम नेपालबाट भने निकै कम पुरस्कार स्थापना भएका छन्। 

साविककाे कर्णालीबाट हालसम्म  पत्रकारले पाउने पुरस्कारकाे व्यवस्थित जग बस्न सकेकाे छैन। कर्णालीकाे जुम्लाबाट पत्रकारहरुलाई प्राेत्साहनकाे जग बसाल्नुभएकाेमा पत्रकार शुभाभर विश्वकर्मा र उहाँकाे परिवारप्रति आभारी छु।

'स्वर्गीय दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार'काे राशी मुद्रास्फीति उकालाे लागिरहेकाे अवस्थामा हेर्दा सानाे देखिएला तर, यसले युगयुग सम्म पनि पत्रकारितामा क्रियाशील साथीहरुलाई उर्जा दिने छ। जुन संसारकाे सबैभन्दा शक्तिशाली हुने मेराे विश्वास छ ! 

२०७२ सालमा रेडियोबाट पत्रकारिता सुरु गरेकाे थिए। यश यात्रामा धेरै आराेह अवराेह गर्नु पर्याे । दुखद संयाेग भनाैं, त्यहि वर्ष आजकै दिन दिपबहादुर विश्वकर्माकाे असामयिक निधन भयाे। त्याे पीडादायी क्षण पार गरेकाे आठ वर्षपछि त्यही दिन मैले उहाँकाे नामबाट स्थापित पुरस्कार प्राप्त गर्ने अवसर पाए। याे अवसरका निम्ति छनाेट समितिप्रति आभार व्यक्त गर्न चाहन्छु !

अहिले म काराेबार राष्ट्रिय आर्थिक दैनिक र रेडियाे नेपालमा काम गरिरहेकाे छु। कर्णाली पाेष्ट दैनिककाे कार्यकारी सम्पादकका समेत छु। कर्णाली क्षेत्रबाट दैनिक पत्रिका प्रकाशन गर्नु फलामको चिउरा चबाउनु सरह छ। यस्ताे ठाउँबाट समाचार लेखन र प्रकाशनमा सक्रिय हामीमध्ये अधिकांशकाे पारिश्रमिक र सेवा सुविधा समेत राम्राे छैन। हाम्राे अधिकार प्राप्तिको लडाइँ अझ पेचिलाे बन्न सकेकाे छैन !

हामी निराश हुँदाहुँदै पनि आफ्नाे कर्ममा निरन्तर सक्रिय छाैं। तर, हाम्राे हाैसला बढाउने कुनै निकाय छैन। बरु सत्यतथ्य समाचार प्रकाशन गरेकै कारण कयाैंकाे टाेकाई खानु परेकाे छ। कतिकाे धम्की सहुन परेकाे छ। जसले समाजकाे वास्तविक मुहार देखाउने पत्रकारकाे उर्जामा ब्रेक लाक्ने सम्भावना बढी छ !

यस्ताे अवस्थामा पत्रकारलाई पुरस्कृत गर्ने कदम सह्रानीय छ। याे कदमकाे निरन्तरताको कामना गर्दछु। अगामी वर्षहरुमा याे पुरस्कार प्राप्त गर्नका निम्ति हाम्राे क्रियाशीलता अझ बढ्नेछ भनी विश्वास दिलाउन चाहन्छु। याे पुरस्कार प्राप्ति पत्रकारहरुकाे मुख्य उदेश्य बनाेस भन्ने मेराे अपेक्षा छ। यश पुरस्कारले मेराे पेशालाई थप जिम्मेवार र जवाफदेहि बनाएकाे छ । म मेराे पेशाप्रति सधै जबाफदेहि हुने सन्तुलन पत्रकारिता संगै मैले लेख्ने समचारमा कहिले पनि आग्रह पुर्वाग्राह नराख्ने कुरामा  प्रतिबद्द छु !

कर्णाली प्रदेशकाे जुम्लाकाे पत्रकारिता क्षेत्रमा अब्बल सावित हुँदैछ। हरेक दिन उत्कृष्ट रिपोर्टिङ गर्ने साथीहरु बढिरहनु भएकाे छ। जुम्लाबाट सबै उमेर समूहका साथीहरु सक्रिय हुनुहुन्छ। पाकाे पुस्ताले संगालेकाे ज्ञान, सीप र अनुभव हामीले उपयोग गर्न पाइरहेका छाैं। यसले हाम्राे पेसा थप मर्यादित बन्दै गइरहेकाे छ। खड्किएकाे कुरा हामीलाई उर्जा दिने निकायकाे कमी थियाे। त्याे स्वर्गीय दिप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कारकाे स्थापनाले पूर्ति गरेकाे छ। 
धन्यवाद !

प्रकाशित मिति: : 2022-10-02 18:12:00

प्रतिकृया दिनुहोस्