बाढीले दाङमा २ सय ३ घरमा क्षति, २ सय ४० जनाको उद्धार

३ हजार ५ सय घर डुबानमा

दाङमा निरन्तरको वर्षापछि बाढी आउँदा २ सय ३ घरमा क्षति पुगेको छ। बुधबारदेखि आएको अविरल वर्षाले देउखुरी उपत्यकाको अधिकांश गाउँ डुवानमा पर्दा २०३ घरमा क्षति पुगेको हो।

जसमध्ये ४८ घर पूर्णरुपमा भत्किएको छ भने ४५ घर आंशिक रुपमा भत्किएको जिल्लाका आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ। राप्ती नदी र आसपासका खोलाहरुका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका धेरै बस्तीहरु डुबानमा परेका छन्।

बस्ती डुबानमा पर्दा बाढीमा फसेका २ सय ४० जनाको उद्धार गरिएको छ। उनीहरुलाई सुरक्षित ठाउँमा लगिएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए।

देउखुरी उपत्यकामा बाढी पस्दा ३ हजार ५ सय ३७ घर डुवानमा परेका छन्। गढवाका गाउँपालिका वडा नम्बर– ५ को बोधिपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा– ७ कान्छिगाउँ लगायतका बस्ति डुवानमा परेका छन्।

राप्ती गाउँपालिकाका कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनिया लगाएतका गाउँहरुमा पनि बाढी पसेको छ। लमही नगरपालिकाको धेरै बस्तीहरु डुबानमा परेको जिल्ला आपतलकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

केन्द्र दाङका अनुसार लमही नगरपालिकामा १ हजार ३ सय ९५, राजपुर गाउँपालिका ८ सय, राप्ती गाउँपालिकामा ६ सय १० र गढवा गाउँपालिकामा ६ सय ६० घर डुबानमा परेका छन्।

वर्षाले ठाउँ–ठाउँमा क्षति

बुधबारदेखिको लगातारको वर्षाले दाङका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ। मुख्य राजमार्गसँगै भित्रि सडकहरुमा क्षति पुगेको छ। यस्तै वर्षासँग आएको पहिरोका कारण लमही–घोराही जोडिएको १३२ केभी विद्युतीय प्रशारण लाइनको टावर ढलेको छ।

यो समाचार तयार पर्दासम्म मुख्य राजमार्गहरुमा आएको पहिरो हटाएर सडक सञ्चालन गरिएको छ। तर पुनः पहिरो आउन सक्ने सम्भावना भने रहेको प्रहरीले नजाएको छ।

पहिरोले शुक्रबार मध्यान्नदेखि अवरुद्ध भएको लमही–घोराही सडकखण्ड शनिबार दिउँसो एक तर्फी रुपमा मात्र सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले लमही–घोराही सडकखण्ड साना गाडी चल्ने गरी एकतर्फीमात्र सञ्चानमा आएको बताए।

तर, पूर्ण रुपमा सडक सञ्चालन नहुँदा यात्रुहरु समस्यामा परेका छन्। त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ–बुटवल सडक खण्डमा खसेको पहिरो पनि हटाएर सवारी सधान सञ्चालनमा ल्याएको प्रवक्ता गौतमले जानकारी दिए।

तर, जिल्लाका भित्री सडक भने अहिले पनि खुलेका छैनन्। जसले गर्दा दशैको तीन दिनसम्म पानी पार्दा आफन्त कहाँ टीका पुर्‍याउन जान नपाएकाहरु बाटोमा नै अलपत्र परेका छन्।

राप्ती उपत्याकाको राप्ती गाउँपालिका, लमही नगरपालिकाको पहाडी भू–भाग र दाङ उपत्यकाको तुलसीपुर उपमहानगरपालिकासँगै बबई, शान्तिनगर, बंगलाचुली गाउँपालिकाकाको ग्रामिण बस्तीका भित्र सडकहरुमा पहिरो आउँदा यात्रु अलपत्र परेका हुन।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउने काम पनि भएको छैन। भारी वर्षाका कारण पहिरो पन्छाउन सम्भव नभएको र वर्षा रोकिएपछि पहिरो खुलाउने काम हुन जिल्ला ट्राफिक प्रहरी प्रमुख झविन्द्र परियारले बताए।

कहिले बन्छ १३२ केभी टावर ?

लमही–घोराही जोड्ने १३२ केभीको विद्युतीय प्रशासरण लाइन बन्न अझै हप्ता लाग्ने भएको छ। शुक्रबार आएको पहिरोले लमही नगरपालिका– ६, बेल्दमारस्थित लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत १८ नम्बर टावर ढालेको थियो।

उक्त टावर बनाउन एक हप्ता लाग्ने नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मिथलेस कुमार गोहिवारले जानकारी दिए। ‘यो बनाउने काम हाम्रो होइन। विद्युत प्राधिकरण लुम्बिनी प्रदेश जिभिजन कार्यालय, बुटवल अन्तरगत ग्रिडले हो,’ उनले भने, ‘जानकारी पाएसम्म बनाउन एक हप्ता लाग्छ।’

प्रसारण लाइन ढलेपछि शुक्रबारदेखि घोराहीमा विद्युत आपूर्ती बन्द रहेको थियो। शनिबार दिउँसो घोराही विद्युत प्राधिकरणले तुलसीपुरबाट वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिएको छ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट घोराही क्षेत्रका घरायसी ग्राहकलाई विद्युत दिएको हो। तर, जिल्लाभर नियमित रुपमा विद्यूत आपूर्ती हुन सकेको छैन। शहरी क्षेत्रमा विद्यूत आपूर्ती भएपनि ग्रामिण क्षेत्रमा विद्यूत आपूर्ती अवरुद्ध रहेको छ।

ग्रामिन क्षेत्रका विभिन्न ठाउँमा विद्युतको पोलहरु ढलेको छ। जसले गर्दा नागरिकहरु बत्ति बाल्न पाइरहेका छैनन् भने मोबाइल चार्ज गर्न नपाउँदा सञ्चारबाटसमेत बञ्चित भइरहेका छन्।

विद्युत अवरुद्ध हुँदा निरन्तरको वर्षापछि बाढी र त्यसले गरेको क्षतिका समबन्धमा नागरिहरुले सरोकारवालाहरुलाई समेत जनकारी बनाउन सकेका छैनन्।

प्रकाशित मिति: : 2022-10-08 20:07:00

प्रतिकृया दिनुहोस्