झापामा एमालेभित्र बिद्रोहको लहर, राप्रपासंगको गठबन्धन औपचारिकतामा सिमित

देशभर चुनावी माहौल तात्दै गर्दा राष्ट्रिय राजनीतिको ध्यान खिचेको झापा जिल्लामा दुई शीर्ष नेता जिताउने प्रयास स्वरुप भएको नेकपा  एमाले र राप्रपाबीचको गठबन्धन औपचारिकतामा सिमित देखिएको छ।

उम्मेदवारी दर्ता र त्यसलगत्तै आयोजित चुनावी कार्यक्रमहरुमा नेता, कार्यकर्ताहरुको सहभागिता र सामाजिक सञ्जालहरुमा दुवै पार्टीका नेता, कार्यकर्ताहरुमा असन्तुष्टिले त्यस्तो देखाएको हो।

एमाले झापाको राजनीतिमा निक्कै चर्चामा रहेका युवा नेता डम्बरबहादुर गिरीले पार्टी बचाउन भन्दै एमालेभित्रै विद्रोह गरेका छन्। एमालेले आफ्नो निर्वाचन क्षेत्र झापा ३ मा राप्रपासंग गठबन्धन गरेपछि असन्तुष्ट बनेका गिरीले एमाले राप्रपा गठबन्धनका उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध बागी उम्मेदवारी दिएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'झापा क्षेत्र न. ३ मा पुरातन पञ्चायती शैलीको पार्टी राप्रपासँग तालमेल गर्ने पार्टीको निर्णय आम पार्टी नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहाना र मुलुकको हितविपरीत रहेको ठहर गर्दै स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गरेको जानकारी गराउन चाहन्छु।'

झापा हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएर लोकप्रिय बनेका गिरी  गत स्थानीय निर्वाचनमा राप्रपाका रविन्द्र लिङदेनसंग कडा चुनावी प्रतिस्पर्धा गरेका नेता हुन। उनलाई हल्दीबारीमा युवाहरु माझ जनप्रिय नेताका रुपमा चिनिन्छ।

लामो समयदेखि एमालेमा आवद्ध भइ सक्रिय राजनीतिमा लागेका उनी नेकपा एमालेका जिल्ला सदस्य तथा सचिवालय सदस्य हुन्। झापा क्षेत्र नम्बर ३ लाई विकास र समृद्धितर्फ डोहोरयाउन भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।

गिरी २०६२/०६३ को जनआन्दोलनसँगै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रूपान्तरण गर्ने अभियानमा नेकपा एमालेमार्फत सङ्गठित भएर नेकपा एमालेको साबिक जलथल गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी क्षेत्र न. ३ को अध्यक्ष, युवा संघ नेपाल झापाको अध्यक्ष हुँदै हाल नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र न. ३ को सचिव समेतको जिम्मेवारीमा छन्।

त्यसैगरी झापाको क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी दर्तापछि आयोजित पहिलो चुनावी कोणसभामै राप्रपाका नेता, कार्यकर्ताहरुको उपस्थिति देखिएन।

दमक चोकमा एमालेले आयोजना गरेको सो कोणसभामा राप्रपाका केन्द्रिय सदस्य गोपाल पौडेललाई शुभकामना मन्तव्यका लागि बोलाएपछि पौडेलले सार्वजनिक रुपमै राप्रपाको झण्डा समेत कार्यक्रममा नदेखिँदा एमालेले एक्लै चुनाव लडन खोजेको जस्तो महसुस भएको उल्लेख गरे।

उनले राप्रपाको स्थानीय कमिटी र नेताहरुसंग समन्वय गर्न आग्रह गरेका थिए। एमाले र राप्रपा गत स्थानीय चुनावमा दमकमा आम्ने साम्ने भएका थिए। जसमा कांग्रेस, माओवादीसहितको समर्थनमा राप्रपाका रामकुमार थापा दमकको मेयरमा निर्वाचित भएका थिए।

स्थानीय चुनावको ६ महिना नबित्दै हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा राप्रपा र एमालेबीचको गठबन्धन औपचारिकताका लागि मात्रै भएको नेता, कार्यकर्ता पक्तिंमै देखिन्छ।

ओलीको गृह जिल्लामै एमालेभित्र बिद्रोहको लहर

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा बिद्रोह गर्ने युवा नेता गिरी मात्रै होइनन् अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरि रानासहितको समुह पनि उत्तिकै छ।

झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा उम्मेदवार सिफारिस भएका चर्चित एवं लोकप्रिय युवा नेता रविन कोइरालाई प्रदेशसभा सदस्यमा झारेर नेता अग्नी खरेललाई प्रतिनिधिसभामा उम्मेदवार बनाएपछि त सो क्षेत्रमा एमालेभित्र झनै असन्तुष्टि बढेको छ।

कोइरालालाई ब्याक गरेर पाहुना उम्मेदवारका रुपमा रहेका खरेललाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाइनुले त्यहाँँ कांग्रेसका महामन्त्री एवं चर्चित युवा नेता विश्वप्रकाश शर्माको जित सहज भएको चर्चा एमाले वृत्तमै भइरहेको छ।

प्रदेशसभा सदस्यमा कोइरालालाई उम्मेवार बनाएर मुख्यमन्त्री पदको आश्वासन बाँडे पनि एमालेभित्र नै झापाकै क्षेत्र नं ५ कका उम्मेदवार हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने चर्चाले कोइराला र कार्की दुवै जना मुख्यमन्त्री हुन नसक्ने एमाले नेताहरुले नै बताउँदै आएका छन्।

एमालेले कार्कीलाई अघिल्लो पटक झण्डै ३ वर्ष मुख्यमन्त्री पछिको दोस्राे शक्तिशाली मानिने आन्तरिक मामिला तथा कानुनमन्त्री बनाइसकेको छ। पटक पटक एकै जनालाई अवसर दिइन नहुने दबाब पनि एमालेभित्र उस्तै छ।

प्रकाशित मिति: : 2022-10-10 12:37:00

प्रतिकृया दिनुहोस्