नयनतारा र विग्नेशको ६ वर्षअघि नै विवाह

File photo
File photo

दक्षिण भारतीय अभिनेत्री नयनताराले सामाजिक सञ्जालमा जम्ल्याहा सन्तानको तस्बिर राख्दै आफू र अभिनेता पति विग्नेश शिवन आमाबाबु बनेको जानकारी दिएकी थिइन्।

विवाहको चार महिनापछि आमाबाबु बनेको भन्दै खुसी मनाइरहँदा उनीहरू कसरी यति छिट्टै आमाबाबु बने भन्ने चर्चा पनि चल्यो। उनीहरूले सेरोगेसी माध्यमबाट सन्तान जन्माएको खुलेपछि विवादमा तानिए। किनकि भारतमा जनवरी २०२२ देखि नै सेरोगेसीलाई प्रतिबन्ध लगाइएको छ।

तमिलनाडु सरकारले उनीहरू चार महिनामै आमाबाबु बनेको विषयमा छानविन समिति गठन गरेको थियो। सरकारले उनीहरूको विषयमा अनुसन्धान गर्न तमिलनाडु स्वास्थ्य विभागलाई जिम्मेवारी दिएको थियो। अनुसन्धानले उनीहरूले ६ वर्षअघि नै कानुनी रूपमा विवाह गरिसकेको खुलेको छ।

वर्तमान कानुनमा कुनै पनि जोडीले विवाहको पाँच वर्षसम्म सन्तान जन्माएनन् भने सेरोगेसीको सहारा लिनसक्ने व्यवस्था छ। नयनतारा र विग्नेशले अनुसन्धानमा आफूहरू परेपछि विवाहको दर्ता कागजपत्र निकालेका छन्। जुन कागजपत्रमा उनीहरूले ६ वर्षअघि नै विवाह गरेको उल्लेख छ।

अनुसन्धानमा उनीहरूको सन्तानलाई दुबईमा बस्दै आएकी मलयाली महिलाले जन्म दिएको र उक्त अस्पताल चेन्नई अस्पताल रहेको खुलेको छ। नयनतारा र विग्नेशले उनीहरूले चार महिनाअघि मात्र धार्मिक विधिअनुसार विवाह गरेका थिए।

प्रकाशित मिति: : 2022-10-16 16:42:00

प्रतिकृया दिनुहोस्