उदयपुर-२ मा रामकुमारको इन्ट्रीले जगन्नाथलाई सकस, अम्बरलाई सहज

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर-२ मा त्रिपक्षीय भिडन्त हुने भएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा, एमालेका अम्बरबहादुर रायमाझीबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार रामकुमार राईको इन्ट्री भएको छ।

खतिवडा र रायमाझी पूर्व सहकर्मी हुन्। कुनै समय एमालेबाट खतिवडा उम्मेदवार बन्दा रायमाझी चुनावी कमान्डको अग्रपंतिमा रहेका थिए। अहिले यी दुवै फरक पार्टीबाट चुनावी मैदानमा छन्। तर, दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका रामकुमार राईले यो क्षेत्रमा नतिजा बदल्न सक्छन्।

कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका राईको उम्मेदवारीले सत्ता गठबन्धनका खतिवडालाई चुनाव जित्न सहज देखिँदैन। यो क्षेत्रमा नेकपा एसको जनमत कम रहेको छ।

पहिलो पटक चुनावमा होमिएका एमालेका रायमाझी गठबन्धनविरुद्धको बागीको फाइदा लिँदै विजयी हुने दाउमा छन्।

क्षेत्र नम्बर २ मा पाँच पालिका पर्छ। यस क्षेत्रमा कटारी नगरपालिकासहित रौतामाई, ताप्ती, उदयपुरगढी र लिङचुङबुङ गाउँपालिका पर्छ।

गत स्थानीय निर्वाचनमा पाँच पालिकामध्ये कुनै पनि पालिकामा एमालेले प्रमुख जितेको छैन। यो क्षेत्रमा गठबन्धनको बर्चश्व छ। रौतामाई, ताप्ती र लिङचुङबुङ गाउँपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार विजय भएका छन् भने उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कटारी नगरपालिकाको प्रमुख र उदयपुरगढीको उपप्रमुखमा पनि कांग्रेसले जितेको छ। उदयपुरगढीको प्रमुखमा भने नेकपा एकीकृत समाजवादीले जितेको छ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट वाम गठबन्धनका सुरेश राई विजयी भएका थिए। माओवादीबाट उम्मेदवार बनेका राईले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्व संसद नारायणबहादुर कार्कीलाई ७ हजार ९६ मतले पराजित गरेका थिए। राईले २२ हजार ५५१ मत ल्याउँदा कार्कीले १५ हजार ४५५ मत मात्र ल्याएका थिए।

प्रकाशित मिति: : 2022-10-19 11:27:00

प्रतिकृया दिनुहोस्