संसद छिर्ने दाैडमा २५ वर्षीय युवादेखि ९९ वर्षीय वृद्धसम्म

सुदिप बराल

काठमाडौं

मंसिर ४ गते हुने निर्वाचनकाे प्रतिस्पर्धाकाे लागि उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्।

आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यकाे लागि दलगत र स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरु २५ वर्षका युवादेखि ९९ वर्षसम्मका वयोवृद्धहरुसमेत रहेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार नेकपा (एमाले)ले २९ वर्षका युवादेखि ७७ वर्षका वृद्धसम्मलाई उम्मेदवार बनाएको छ। गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका २९ वर्षीय अब्दुस मिया एमालेका कान्छा उम्मेदवार हुन्। भने, कपिलवस्तु क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका ७७ वर्षीय वृद्ध मंगलप्रसाद गुप्ता एमालेका सबैभन्दा जेष्ठ उम्मेदवार हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पनि ७० वर्षका भए। उनले झापा– ५ बाट उम्मेदवार  दिएका छन्।

नेपाली काँग्रेसको तर्फबाट मुस्ताङबाट उम्मेदवारी दिएका २९ वर्षका योगेश गौचन थकाली नेपाली काँग्रेसका सबैभन्दा कान्छा उम्मेदवार हुन् भने तनहु क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका ७८ वर्षीय वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेसका सबैभन्दा जेष्ठ उम्मेदवार हुन्। ७७ वर्षका काँग्रेस सभापति शेरबहादुर देउवाले पनि डडेलधुराबाट उम्मेदवारी दिएका छन्।

त्यस्तै नेकपा (माओवादी केन्द्र)को तर्फका काठमाडौं क्षेत्र नं. ७ बाट उम्मेदवार बनेकी ३६ वर्षीया अस्मिता सिंह (मानुषी) यमि भट्टराई माओवादी केन्द्रकी कान्छी उम्मेदवार हुन् भने ८५ वर्षीय महिन्द्र राय यादव माओवादीका जेष्ठ उम्मेदवार हुन्। उनी सर्लाही क्षेत्र नं. २ मा माओवादी तर्फका उम्मेदवार छन्।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)को तर्फका गुल्मी क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी ४४ वर्षीया रामकुमारी झाँक्री नेकपा एसकी कान्छी उम्मेदवार हुन् भने ७२ वर्षीय नेता झलनाथ खनाल नेकपा एसका सबैभन्दा जेष्ठ उम्मेदवार हुन्।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७ वर्षीय सन्दीप आचार्यलाई ललितपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनाएको छ। उनी राप्रपाका सबैभन्दा कम उमेरका उम्मेदवार हुन्। त्यस्तै तेह्रथुमबाट उम्मेदवारी दिएका ८७ वर्षीय युवराम गौतम राप्रपाका सबैभन्दा वृद्ध उम्मेदवार हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफ्ना सबै उम्मेदवारहरु ६० वर्षभन्दा कम उमेरका बनाएको छ। सप्तरी क्षेत्र नं. १ का उम्मेदवार निरंजनप्रसाद कुशवाहा, धादिङ क्षेत्र नं. १ का उम्मेदवार हिमेश पन्त, मुस्ताङका उम्मेदवार सुदेश गुरुङ २५ वर्षका छन्। उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सबैभन्दा कान्छा उम्मेदवारहरु हुन्। त्यस्तै काठमाडौं क्षेत्र नं. ९ का उम्मेदवार ५८ वर्षीय टेकबहादुर पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका सबैभन्दा जेठा उम्मेदवार हुन्।

यता दुई सिटकाे लागि मात्र उम्मेदवार उठाएको राष्ट्रिय जनमोर्चाले ८० वर्षीय नेता चित्रबहादुर केसीलाई बाग्लुङ क्षेत्र नं. १ बाट उम्मेदवार बनाएको छ। त्यस्तै ५१ वर्षीया दुर्गा पौडेलले प्युठानबाट उम्मेदवारी दिएकी छन्।

आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सबैभन्दा कम उमेरका उम्मेदवारहरु २५ वर्षका रहेका छन् भने गोरखा क्षेत्र नम्बर क्षेत्र नं. २ मा नेपाली कांग्रेस (बीपी)बाट उम्मेदवारी दिएका ९९ वर्षका टिकादत्त पोख्रेल आगामी निर्वाचनमा प्रतिनिधि सभातर्फका सर्वाधिक उमेरका उम्मेदवार बनेका छन्।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिँदैछन्।

प्रकाशित मिति: : 2022-10-24 06:00:00

प्रतिकृया दिनुहोस्