'एमालेकाे प्रमुख एजेण्डा भनेकै दाङको समृद्धि हो'

नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटी सदस्य बलिभद्र राना दाङ–२ ‘क’बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुन्।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नो क्षेत्रमा प्रचारप्रसारमा व्यस्त छन्, उनी। 

चुनावी गतिविधिमा जोडिएर आफ्नै निर्वाचन क्षेत्रमा डुलिरहेका उम्मेदवार रानासँग चुनावी तयारी लगायत विषयमा बिएल नेपाली सेवाले गरेको कुराकानी:


तपाईका चुनावी एजेण्डाहरू के–के छन् ?

अत्यन्तै राम्रो प्रश्न गर्नुभयो। एमालेकाे प्रमुख एजेण्डा भनेकै दाङको समृद्धि हो। यो सँगसँगै राजधानीको निर्णय कार्यान्वयन गर्नु पनि हाम्रो चुनावी एजेण्डा हो। ३९ महिना एमाले सरकारमा रहँदा राजधानीका लागि गरेका उपलब्धीहरू गुम्ने अवस्थामा छन्।

दाङमा स्थानान्तरण भएका मन्त्रालय र कार्यालयहरू बुटवल फिर्ता भइसकेका छन्। गठबन्धनका नेता गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनले विजय हासिल गरेमा राजधानी दाङ स्थानान्तर हुन नदिने उद्घोष गरिरहनुभएको छ। यस्तो अवस्थामा हामीले राजधानीको निर्णय कार्यान्वय गर्नुपर्नेछ। यो नै हाम्रो एजेण्डा हो। यसका साथै सामाजिक विकास, भौतिक विकास, स्वास्थ्य–शिक्षाका कुराहरू, बाटोघाटोको कुराहरू, त्यहाँको पर्यटन विकास, सडक सञ्जाल, खानेपानी, अस्पताल, विद्यालय यी कुरालाई हेर्ने हो भने नेकपा एमाले अब्बल सावित भएको छ। जसको प्रमाणित हामीले ३९ महिना प्रदेश सरकारको नेतृत्व गर्दा देखाइसकेका छौं। विकास र समृद्धिको मुद्दामा हामीले अब्बल भएर देखाएका छौं। यही कारण हामीले निर्वाचन जित्छौं। 

तपाईको विजयपछिको भावि योजनाहरू के–के छन् ?

हामी नेकपा एमालेले अघि सारेको घोषणापत्रमा र मेरो आफ्नो प्रतिवद्धता पत्रमा दाङबासी जनताका बीचमा बाचा पेश गरेको छु। मैले घोषणा पत्रमा समेटिएका बाचा पुरा गर्नेछु। दाङका जनताको आवश्यकतालाई मध्येनजर गरेर मैले काम गर्नेछु। उत्पादनलाई बढी भन्दा बढी जोड दिएर कृषिमा आधुनिकीकरण गर्नेछौं। मैले राजधानी स्थलमा मन्त्रालय र कार्यालयहरू तत्कालै  सार्नेछौं। राजधानीको पूर्वाधार सम्पन्न गर्नेछौं। मेरो निर्वाचन क्षेत्रमा सिमेन्ट उद्योगका कारण प्रदूषण बढिरहेको छ।

मैले प्रदूषण न्यूनीकण गर्न भूमिका खेल्नेछु। सिमेन्ट उद्योगदेखि खानी क्षेत्र पुग्ने बैकल्पिक सडक निर्माणका लागि लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोखरेलले बजेट छुट्याउँदा पनि काम हुन सकेन। मैले उक्त कार्यलाई पुरा गर्नेछु। घोराही–लमही सडक दुईतर्फि सडक निर्माण गर्नेछौं।

घोराही–रामपुर हुँदै पूर्वतर्फको सडकलाई फास्टट्याक सडकका रूपमा विकास गर्नेछौं। दामादर मार्गको बजेट रोकिएको छ त्यसको छ त्यसलाई पूनः वजेट उपलब्ध गराएर समयमै सम्पन्न गर्न भूमिका खेल्नेछौं। फोरलेन सडकलाई समयमै सम्पन्न गर्नेछौं। यी र यस्तै योजनामा फोकस हुनेछौं। 

सरकारमा रहँदा एमालेले आश्वासन मात्रै बाँड्यो भनिन्छ नि ? 

यो सरासर झुठो हो। यसमा सत्यता छैन। खासगरी गठबन्धनका साथीहरूले भ्रम फैलाइरहनुभएको छ। हामी ३९ महिना सरकारमा रहँदा दाङमा अभूतपूर्व विकास भएको छ। सडक दुर्घटनामा परेका व्यक्तिहरूको सघन उपचारको लागि प्रदेश सरकारको लगानीमा लमहीमा अत्याधुनिक ट्रमा सेन्टर निर्माण भइरहेकोे छ।

प्रदेशमा स्वास्थ्य पूर्वाधार निर्माण गरेका छौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा वृद्धि गर्न हामीले भूमिका खेलेका छौं। प्रतिष्ठानमा अत्यावश्यकीय उपकरण प्रदेश सरकारबाट प्रदान गरेका छौं। कोभिडको समयमा प्रदेश सरकारबाट पिसिआर मेसिन र सञ्चालन गर्न नगद अनुदान मैले पहल उपलब्ध गराएका थियौं। मेरै पहलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा प्राप्ति भएको छ।

कोभिडको समयमा निजी क्षेत्रको सहकार्यमा मैले अक्सिजन सिलिण्डर उपलब्ध गराएको थिएँ। त्यस्तै राप्ती प्रादेशिक अस्पताल र आयुर्वेदिक अस्पताललाई पूर्वाधार सम्पन्न बनाएका छौं। जिल्लालाई खेल पूर्वाधारमा सम्पन्न बनाएका छौं। पर्यटनको विकासमा पनि अभूतपूर्व कार्य गरेका छौं। सडक पूर्वाधारमा हाम्रो कार्यकालमा ऐतिहासिक काम भएको छ। स्थानीय तहका केन्द्रहरू जोड्ने २० वटा पहुँच मार्ग, कृषि मार्ग, पर्यटन मार्ग र प्रदेशस्तरीय सडकहरूको निर्माण कार्य अन्तिम चरणमा छन्। शिक्षामा नमुना विद्यालय, सिचाईका लागि ड्याम बनाएका छौं। त्यस्तै हाम्रो कार्यकालमा १४ वटा पुल निर्माण भएका छन्, भने १० वटा पुलको डिपिआर तयार भई कार्यान्वयनमा आउँदै छन्।  

तपाई युवा उम्मेदवार हुनुहुन्छ। युवालक्षित योजना देखिएनन् नि ?

यहाँले अत्यन्तै सान्दर्भिक विषय उठाउनुभयो। हामीले चुनावी घोषणा पत्रमा हाम्रा योजना समावेश गरेका छौं। मैले तीन दशक बढी समय सामाजिक क्षेत्रमा गुजारेको छु। मैले मेरो संस्थाको माध्यमबाट दाङबासीलाई स्वरोजगार बनाएको छु। युवा रोजगारी हाम्रो प्राथमिकतामा परेको छ। हामीले प्रदेश सरकारको नेतृत्व गरिरहँदा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको माध्यमबाट प्रदेशमा रोजगारी सिर्जना गरेका छौं।

जिल्लामा उद्योग सञ्चालनमा ल्याएर युवालाई रोजगारी प्रदान गर्नेछौं। युवाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने छौं। यसका साथै युवाहरूलाई खेलसँग जोड्ने योजना मैले बनाएको छु। प्रदेशको नेतृत्व हामीले गर्दा जिल्लामा प्रशस्त खेल संरचना बनाएका छौं।

घोराही १६ मा बहुउद्देश्यीय नेत्रलाल अभागी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेर निर्माण कार्य अगाडि बढाएको समयमा गठबन्धनको सरकारले उक्त रंगशालाको वजेट खोसेर अलपत्र पार्ने काम गरेको छ। मैले उक्त योजनालाई पुरा गर्नेछु। घोराही १७ गुलरियामा रेहको क्रिकेट मैदानमा हामीले प्रदेश सरकारको तर्फबाट लगानी गरेका छौं। उक्त रंगशालाको अझै विकास गर्नुपर्नेछ। मैले त्यसलाई पनि प्राथमिकतामा राखेर का मगर्नेछु। त्यस्तै घोराही १८ नवलपुरमा रहेको फुटबल मैदानलाई व्यवस्थित गर्न भूमिका खेल्नेछु। यसका साथै बंगलाचुली र घोराही १९ मा आवश्यकता र माग अनुसार भलिबल, क्रिकेट, फुटवल मैदान बनाउन भूमिका खेल्नेछु।   

विकास निर्माणमा भएका ढिलासुस्तीलाई अन्त्य गर्न यहाँको कस्तो भूमिका रहन्छ ?

बास्तवमा विकास निर्माणका काममा ढिलासुस्ती रहँदै आएका छन्, जसले सरकार र जनप्रतिनिधिहरू जनतामाझ बदनामित बन्नु परिरहेको छ। निर्माण व्यवसायको क्षेत्रमा सरकारले प्रयाप्त कानुन निर्माण गर्नसकेको छैन। निर्माण व्यवसायीहरूलाई समयमै भुक्तानी दिन नसक्दा काममा गुणस्तर कायम हुन सकेको छैन। सबै निर्माण व्यवसायीहरू एकैनासका छैनन्। समयमै काम सम्पन्न नगरेर अलपत्र पारिरहेका छन्, त्यस्ता निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ। मेरै निर्वाचन क्षेत्रमा पर्ने कटुवाखोला पुल एकदशक बित्दासमेत पूर्ण हुन सकेको छैन। निर्माण र विकास नै नबुझेका व्यक्ति र नेताको संलग्नता तथा सरक्षणमा उक्त पुल अलपत्र परेको छ। जसले जनताहरूले शास्ती बेहोरेका छन्।

म प्रदेश सभामा निर्वाचित भएपश्चात् निर्माण व्यवसायीहरूलाई खरिद ऐनजस्ता जटिलताका कारण समस्या परिरहेको छ, भने समयमा योजना सम्पन्न नगर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने कानुन निर्माण गर्नेछु। समयमै विकास निर्माण सम्पन्न गर्न भूमिका खेल्नेछु।
      
अन्त्यमा दङ्गाली जनतालाई के भन्न चाहनुुहुन्छ ?

समृद्ध दाङका लागि नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्वर २ (क) मा उम्मेदवार बनेको छु। राजधानीको निर्णय कार्यान्वयन गर्ने वाचा तपाईहरू माझ गरेको छु। निर्वाचन जुन जनादेश र परमादेशबीचको एउटा प्रतिस्पर्धा हो। यो जनमत संग्रहमा जनताको पक्षमा उभिएको एकमात्र पार्टी नेकपा एमालेका उम्मेदवारहरूलाई सूर्य चिन्हमा छाप लगाएर विजयी बनाउन अनुरोध गर्दछु। बोलेका कुरा पुरा गर्ने व्यक्तिको छवि मैले बनाएको छु।

मैले घोषणा पत्रमा समेटेका विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछु। हामीले दाङलाई लुम्बिनी प्रदेशको राजधानीका रूपमा घोषणा गरेका थियौं। अहिले उक्त निर्णय कार्यान्वयन गर्न एमालेको नेतृत्व आवश्यक रहेको छ। त्यसैले पार्टी र विचार भन्दा माथि उठेर मलाई विजय बनाउन अनुरोध गर्दछु। म विजय भएपश्चात् यहाँको सुझावमा रहेर काम गर्नेछु।

प्रकाशित मिति: : 2022-10-28 11:44:00

प्रतिकृया दिनुहोस्