स्थानीय तह निर्वाचन

‘उर्लाबारीमा मेयरको उम्मेद्वार बन्न तयार छु’

दीपक बास्तोला

उर्लाबारी

मुक्तिप्रकाश न्यौपाने संघर्षशील युवा हुन्। पार्टीपंक्ति होस् वा बाहिर उनको चिनारी कर्मठ र निष्ठावान युवामा दरिएको छ।

नेपाली कांग्रेसका जुझारू युवा न्यौपाने मोरङको उर्लाबारी नगरमा मेयर पदका सशक्त आकांक्षी हुन्। कांग्रेसका तर्फबाट नगर प्रमुखको उम्मेद्वार हुने दौडमा आफु रहेको न्यौपाने बताउँछन्।

गत स्थानीय चुनावमा समेत आफुलाई उम्मेद्वारका रूपमा प्रस्तुत गर्न चाहेका न्यौपाने यसपटक पार्टीले आफ्नो मुल्याङ्कन गर्नुपर्ने अडानमा छन्। नेपाल विद्यार्थी संघमार्फत राजनीतिक जीवनको थालनी गरेका उनी आफुलाई जन्मजात कांग्रेसी भन्न रूचाउँछन्। उबेला मुक्तिप्रकाशका बुवा विश्वनाथ न्यौपाने कांग्रेसका जल्दाबल्दा नेता थिए।

मोरङको साविक राजघाट गाविस, जहाँ कांग्रेसलाई शिला खोझेझै खोज्नु पथ्र्यो। कम्युनिष्टहरूको जगजगी रहेका बेला ज्यान हत्केलामा राखेर पुर्वीमोरङको कांग्रेस संगठन उनै विश्वनाथले थामेका थिए भन्दा अत्युक्ति नहोला। बाबुकै समीपमा रहँदा प्रजाजान्त्रिक मुल्य, मान्यता र आदर्शबाट प्रेरित हुन पुगेको मुक्तिप्रकाशको भनाई छ। बाबुको विरासत नै सहि मुक्तिप्रकाशको राजनीतिक लगानीलाई पनि कम आँक्न मिल्दैन। विद्यार्थी राजनीतिबाट उदाएका मुक्तिप्रकाशले पार्टीकै लागि अनेक भुक्तमान व्यहोरेका छन्।

विद्यार्थी राजनीतिमै रहँदा मण्डलेदेखि अनेरास्ववियुसम्मको शारीरिक आक्रमण झेलेको क्षण उनको स्मरणमा ताजै छ। संगठनको काममा खटिदा कुनै यस्तो दिन थिएन, जुनबेला उनले चुनौती झेलेकै हुन्थे आक्रमण व्यहोरैकै हुन्थे। हुन त उनी नेविसंघका मोरङ सभापतिसम्म भए। गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला मोरङमा उनै कोइराला पार्टीका केन्द्रिय सभापति रहेको बखत भातृसंगठनको जिल्ला नेतृत्वमा पुग्नु चानचुने विषय पक्कै थिएन।

पार्टीप्रतिको सर्मपण र क्रियाशिलताले नै मुक्तिप्रकाश नेविसंघ मोरङको कमाण्ड सम्हाल्ने तहमा पुगेका थिए। ‘जिल्ला नेतृत्वमा पुगेपछि अझै माथिल्लो पदमा फड्को मार्न धेरै लालायित हुन्छन्,’ न्यौपानेले भने, ‘कांग्रेसी भएर जिउनु नै महत्वपुर्ण कुरा थियो। माथि–तल भन्ने नै भएन। जहाँ रहेपनि पार्टीलाई योगदान गरौ भन्ने हिसाबले लागेको छु।’

हुनपनि उर्लाबारीमै रहेर मुक्तिप्रकाशले जिन्दगीका उर्जाशील समय पार्टी काममै व्यतीत गरेका छन्। स्थानीयस्तरको सामाजिक कार्यमा योगदान पुर्याएका छन्। विगतमा लकडाउनको मारमा परेका विपन्न– दिनदुःखीलाई राहत उपलब्ध गराएर सह्रानीय कार्य गरेकापनि थिए। आगामी बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय भएको छ।

आफू जन्मे–हुर्केको नगरमा चारतारेझण्डामुनि आम नागरिकलाई गोलबद्ध बनाउने गरी उनले अभियान नै छेडेका छन्। भन्छन्, ‘आफू मेयर पदको उम्मेद्वार हुने कुरा एउटा भयो। नेपाली कांग्रेसको बर्चश्व स्थापित गर्नु मुख्य कुरा हो।’ आफू उठ्नका लागि मात्रै उम्मेद्वार हुन नखोजेको उनले बताए।

उम्मेदवार छनोट गर्दा पार्टीमा लगनशीलता, जनतामाझ लोकप्रिय छवि, कार्यकर्ताले पत्याएको व्यक्ति हुनुपपर्ने उल्लेख गर्दै यी सबै मापदण्डभित्र आफु अटाउने उनले दाबी गरे। आमजनताले उम्मेदवारलाई कसरी हेरेका छन् ? उसको इतिहास कस्तो छ ? पहिला उसले सेवा गर्ने मौका पाएको छ कि छैन ? समाजले कति स्वीकार गर्छ ? समग्र पक्षलाई हेरेर नै आफूले उम्मेद्वार बन्ने प्रयास गरेको मुक्तिप्रकाशको कथन छ। उनी भन्दै गए, साथीहरूले तपाईं मेयर पदमै उठ्ने हो भनेर ढाडस दिनुभएको छ। हाम्रा साथी, शुभेच्छुक, स्थानीयवासी र सिंगो पार्टीपंक्तिले मलाई स्वीकार गर्नु हुन्छ भन्ने लागेको छ।

मेयर पदकै विषयमा पार्टीका साथी स्थानीयलगायत सबैसँग छलफलमा रहेको पनि उनले जानकारी दिए। भन्छन्, ‘म व्यक्तिगत रूपमा मुक्तिप्रकाश न्यौपाने होइन, नेपाली कांग्रेसको एउटा सिपाही हुँ। पार्टीबाट अर्को कोहि उम्मेदवार खडा भएमा उसलाई सहयोग र साथ पनि दिन्छु।’ उनी कांग्रेस इतरका पार्टीले पनि आफ्नो उम्मेद्वारी रहन्छ की रहदैन, महत्वका साथ हेरिरहेको बताउँछन्। न्यौपानेको उम्मेद्वारी चर्चासंगै धेरै कांग्रेसी युवालाई उत्साही बनाएको छ।

अहिलेको परिस्थितिमा आफ्नो दाबी कुनै कोणबाट कमजोर नभएको न्यौपाने बताउछन्। उसैपनि नेपाली कांग्रेसलाई गुट–उपगुटको महासंघ भन्नेहरू नभएका होइनन्। पार्टी स्थापना कालदेखि नै नेतैपिच्छेको खेमामा विभक्त कांग्रेसभित्र अझ चुनावको मुखमा टिकटका लागि हानाथाप हुनु सामान्य नै मानिन्छ। तर उर्लाबारीको धरातलीय यथार्थ फरक छ।

मेयर पदका आकांक्षीमध्ये जो उम्मेद्वार बन्छ उसैलाई दिलोज्यान दिएर सघाउने न्यौपानेले बताए। ‘यो वा त्यो व्यक्ति भन्ने छैन, चर्चामा आएका सबैजना काबिल छन्,’ उनले भने, ‘कांग्रेस उम्मेद्वारलाई एकढिक्का भएर विजयी बनाउन सबै कांग्रेसजन लागिपरेका छौं। आफ्नो एजेण्डा जनताको मुहारमा खुसियाली ल्याने भएको बताउँदै उनले भने, ‘कांग्रेसको मुल मर्म जे भन्ने हो त्यही गर्ने हो। हामी कम्युनिष्टको जस्तो झुटा आश्वासन बाँड्दैनौ।’

प्रकाशित मिति: : 2022-04-05 18:53:00

प्रतिकृया दिनुहोस्