माैरी व्यवसायले मिलेकाे उत्साह : आम्दानीसँगै आनन्द पनि

दाङ घाेराही उपमहानगरपालिका-११ निवासी प्रेमबहादुर चाैधरी उमेरले ४१ वर्ष भए। आजभन्दा १९ वर्षअघि उनी एउटा संस्थामा काम गर्थे। संस्थामा काम गर्दा मासिक पाइने पारिश्रमिकले जेनतेन उनकाे घरपरिवार मात्र चल्ने गर्थ्याे।

केही वर्ष संस्थामा काम गरेपछि चाैधरीकाे जागिरकाे समयावधि सकियाे। त्यसपछि चाैधरीलाई नयाँ काम गर्ने साेच पलायाे। नयाँ काम गर्ने साेचे पनि लगानी नहुँदा उनी अलमलमा थिए। तर उनी एक दिन माैरी पाल्ने साेचमा पुगे। 'धेरै लगानी गर्ने पैसा थिएन', उनले भने, 'संस्थामा काम गर्दा पाइने बाेनस पैसाबाट एक घार माैरी किनेर माैरी पाल्न सुरू गरेकाे हुँ।'

२०६० सालबाट माैरी पाल्न थालका चाैधरी अहिले पूर्णरूपमा माैरी व्यवसायी कृषक भएका छन्। माैरी पाल्न थालेपछि कुनै जागिर गर्ने साेच नपलाएकाे उनले बताए। वर्षैपिच्छे माैरी व्यवसाय फस्टाउन थालेपछि अहिले आम्दानी पनि राम्रै हुने गरेकाे चाैधरीले सुनाए।

एक घारबाट माैरी व्यवसाय सुरू गरेका उनकाे हाल ९७ घार छन्। चाैधरीले महसँगै माैरीसहितकाे घारसमेत बेच्छन्। माैरी र मह बेचेर उनले दुई भाइ छाेरालाई उच्च शिक्षा दिइरहेका छन्। 'घरकाे खर्चदेखि छाेराहरू पढाउने यही व्यवसायबाट नै हाे', चाैधरीले सुनाए, 'एक छाेरा स्नातक र अर्काे स्नातकोत्तर पढ्छन्।'

गत वर्ष उनले १० लाखकाे मह मात्र बेचेकाे बताए। जसमा तीन लाखकाे खर्च आएकाे र बाँकी रकम बचेकाे चाैधरीकाे भनाइ छ। माैरी व्यवसाय गर्न थालेपछि संस्थामा काम गरेकाे भन्दा आम्दानीसँगै आनन्द पनि मिलेकाे उनी सुनाउँछन्।

उनकाे अहिले आम्दानी मात्र हाेइन, स्थिर पुँजी पनि बढेकाे छ। ०६० सालमा १८ सयबाट सुरू गरेकाे माैरी व्यवसाय हाल आएर करिब १८ लाखकाे भएकाे चाैधरीले बताए। उनले मह ५०० केजीदेखि ८०० केजी रूपैयाँसम्म बिक्री हुने गरेकाे बताए।

उनका अनुसार माैरीसहितकाे एक घारलाई तीन हजार बढी पर्ने गर्छ। चाैधरीकाे ४ जनाकाे परिवार छ। उनीसहित उनकाे श्रीमती पनि माैरीपालन व्यवसायमा नै रहेका छन्। घरमा हुँदा छाेराहरू पनि माैरी व्यवसायमै सरिक हुने गरेकाे उनले बताए।

उनी राेजगार खाेज्दै विदैशिने युवालाई नेपालमा नै केही गर्न सकिने सुझाउँछन्। 'इच्छा शक्ति हुने हाे भने नेपालमा नै पैसा कमाउन सकिन्छ,' उनले भने, 'किन विदेश जानु पर्याे? मैले १८ सय लगानी गरेर अहिले १८ लाखकाे सम्पत्ति बनाएकाे छु।' उनले माैरी व्यवसाय मात्र हाेइन, नेपालमा कृषिकाे जुनकुनै व्यवसायमा पनि राम्रो गर्न सकिने बताए।

चाैधरी मात्र हाेइन, तुलसीपुर उपमहानगरपालिका-६ माेतिपुर निवासी चेतमान भण्डारी पनि माैरी व्यवसायबाट नै मनग्य आम्दानी गर्ने व्यवसायी हुन्। छिमेकी विनाेद हमालकाे सल्लाहमा माैरी व्यवसाय गरेका भण्डारीले वार्षिक १० लाख बढीको मह बिक्री गर्ने गर्छन्।

०६० सालदेखि १० वटा घरबाट माैरी व्यवसाय गरेका उनकाे हाल २०० घर माैरी छन्। पाँच जनाकाे परिवारनै माैरी व्यवसायमा रहेकाे भण्डारीले बताए। गत वर्ष करिब १५ लाखकाे मह बिक्री गरेकाे उनले सुनाए।

२० वर्षको अवधिमा माैरीबाहेक अन्य व्यवसाय गर्ने साेच नआएकाे भण्डारी बताउँछन्। 'पहिलेदेखि नै माैरी व्यवसाय गरियाे। जागिर गर्ने पनि साेच आएन। विदेश जाने त साेच्दै साेचिएन,' उनले सुनाए, 'अन्य व्यवसाय जस्ताे झन्झटिलो पनि नहुने हुँदा पनि याे व्यवसायबाहेक अरू गरिएन।'

चाैधरी र भण्डारी उदाहरण मात्र हुन्। दाङमा माैरी व्यवसाय गर्ने व्यवसायीकाे संख्या ३५८ रहेकाे छ। नेपाल माैरी पालक संघ दाङमा आवद्ध रहेकाे संख्या ३५८ रहे पनि संघमा नरहेर माैरी व्यवसाय गर्नेकाे संख्या पनि रहेकाे संघका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए।

उनका अनुसार दाङमा बर्सेनि ४५० टन अथवा १३ कराेड रूपैयाँ बराबरको मह उत्पादन हुने गर्छ। दाङमा उत्पादन भएकाे मह बुटवल, काठमाडौं, पाेखरा, इटहरी, विराटनगर, इलाम, स्याङ्जा, राेल्पालगायत जिल्लामा प्रत्यक्ष रूपमा पुग्ने गरेकाे छ।

माैरी व्यवसायमा के छ समस्या?

माैरी व्यवसाय गर्दा विशेष गरेर चरणकाे समस्या हुने गरेकाे नेपाल माैरी पालक संघ दाङमा अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउँछन्। कतिपय ताेरीकाे चरण क्षेत्रमा विषादी हाल्दा माैरी मर्ने गरेकाे उनले बताए। दाङमा नै प्रशस्त चरण क्षेत्र नहुँदा बाहिरी जिल्ला लग्नु पर्ने समस्या रहेकाे संघका अध्यक्ष श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो समय  मह बिक्री नहुने समस्या पनि कृषकले भाेग्दै आएका छन्। भारतबाट मह भित्रिँदा नेपालकाे मह बिक्रीमा कटाैती हुने गरेकाे उनले बताए। तर सरकारले बाहिरी मह भित्रन नदिन ठाेस कदम चाल्न नसकेकाे श्रेष्ठ बताउँछन्।

यदि बाहिरी मह आयातलाई राेक्ने हाे भने नेपालका माैरी व्यवसायलाई मह बिक्री गर्न समस्या नहुने उनले सुनाए। सरकारले अनुदानमा मैरी र घार थुप्रै वितरण गरेतापनि मह बिक्रीका लागि सुनिश्चितता नगर्दा केही समस्या हुने गरेकाे श्रेष्ठले बताए।

उनले मह बिक्रीकाे सुनिश्चितता गरेका माैरी व्यवसायमा कृषक आवद्धता बढ्ने र युवाकाे विदेश पलायन कम गर्ने सकिने जिकिर गरे।

प्रकाशित मिति: : 2022-10-29 21:30:00

प्रतिकृया दिनुहोस्