जीवन बलदल्ने प्रयास -४

फरक इलम, उस्तै खुसी

कुखुरा पालनमा भविष्य खाेजिरहेका बली रावत

जुम्लाकाे तिला गाउँपालिका -८ जुम्लाकाेटका बली रावत जुम्ला बहुमुखी क्याम्पसमा बिएड तेस्राे वर्षमा अध्ययन गरिरहेका विद्यार्थी हुन्। हाल उनी २१ वर्षका भए।

घरकाे आर्थिक अवस्था कमजोर भएकाे हुनाले उनले बजारमा बसेर आफ्नाे पढाई पूरा गर्न सकिरहेका छैनन्। परीक्षामा मात्रै सहभागी भएर पढाई पूरा गर्ने साेच बनाएका उनी घरमा हुँदा के गर्ने भन्ने दाेधारमा थिए।

कोरोनाको पहिलो लहरले अप्ठ्यारोमा परेका उनलाई स्थानीय संघ सस्थाले सहयोग गरे। जसका कारण उनलाई केही गर्ने उर्जा मिल्यो।

त्यही कार्यक्रम मार्फत् रावतले २० वटा कुखुराका चल्ला, तीस मिटर जाली, एक क्वीन्टल दाना, तीन वटा कुखुरालाई चाराे र पानी हाल्ने भाँडा सहयोग स्वरुप पाए। त्यसपछि उनका दिन तीनलाई हुर्काउनमै बितिरहेका छन्।

'मैले सहयाेग पाएपछि गाेठमा जाली हालेर कुखुरालाई राति राख्ने खाेर बनाएकाे छु। दिउँसाे घाममा कुखुराले चाराे खान मिल्ने गरी अर्काे खाेर पनि बनाएकाे छु,' उनले भने, 'आजभाेलि तीनलाई हुर्काउन लागी परेकाे छु।'

उनले पालेका कुखुरा अहिले एक केजी बढी भइसकेका छन्। अब केही दिन पालेपछि बेच्ने हुन्छन् भने केही अन्डा पार्ने भइसक्छन्। जब ती बेच्ने हुन्छन् तब आम्दानी लिन सकिएला भनेर उनी आशावादी बसेका छन्।

उनले कुखुरा पालन व्यवसायलाई विस्तार गर्ने साेच बनाएका छन्। त्यसका लागि सस्ताे ब्याजदरमा ऋण दिने वित्तीय संस्था खाेजिरहेकाे बताए।

'अहिले पढाई पूरा भएकाे छैन। जागिर खान केही आम्दानी भयाे भने आयाेगकाे तयारी गर्न र बाहिर जान पनि सकिएला,' उनले भने, 'जसरी पनि आम्दानी गर्ने हाे भने यसमा लगानी बढाउनुपर्छ। म त्यसैकाे खाेजी गरिरहेकाे छु।'

बिएड पढेकाे मान्छेकाे लाइफ यसरी नै चल्ला कि भन्ने विषयमा शंका लाग्ने गरेकाे हुनाले कहिलेकाहीँ उनकाे मन दाेधारमा पर्ने गरेकाे छ। उनले भने, 'तर पनि निरन्तरता दिन सकियाे भने राम्रो हुन्छ भन्ने आशा छ।'

खड्गबहादुरका वृद्ध बाआमाकाे साहरा बन्दै, खाद्य तथा खुद्रा व्यापार

तिला-८ जुम्लाकाेटका खड्कबहादुर बस्नेतकाे घरमा ७२ वर्षकी बुढी आमा छन्। उनी काम गर्न सक्दिनन्। बुबा ७८ वर्षका भए। कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डको पातरसँगु नजिक काम गर्ने बेला चाेट लागेर एउटा हात काट्नु पर्‍याे भने एउटा खुट्टा पनि नचल्ने भयाे। उनी सधैका लागि अपांग भए।

उनका तीन दिदीहरुकाे बिहे भएकाे उहिल्यै हाे भने दुई दाजुहरु बितेकाे पनि धेरै समय बितिसक्याे।

घरकाे आर्थिक अवस्था कमजाेर भएकाे हुनाले गाउँले सबैकाे सल्लाहले गाउँकाे विद्युत गृहकाे अप्रेटर बने। मासिक ४५ सय तलब पाउने उनलाई गुजारा गर्न गाह्राे भइरहेको थियाे। यही बिचमा साना व्यवसाय तथा रोजगारीको माध्यमबाट आम्दानी वृद्धि गर्ने 'राइज' परियाेजनाले उनलाई सहयाेग गर्‍याे।

त्यसपछि उनले गाउँमै खाद्य तथा खुद्रा पसल संचालनमा ल्याए। पसल सुरुवात गर्ने बेला आठ प्याक मसिनाे चामल, दुई पेटी तेल, एक क्वीन्टल चिनी, दुई कार्टुन लुगा धुने साबुन, साडे दुई काटुन नुहाउने साबुन, ब्रस तुथपेष्टलगायत सामग्री सहयोग स्वरुप पाए। त्यहीँबाट व्यवसाय सुरु गरेका उनले हाल व्यवसाय विस्तार गरेका छन्।

'अहिले राम्रो भएकाे छ। आम्दानी बढ्न थालेपछि सामान थपेकाे छु,' उनले भने, 'गाउँकाे समूहमा मासिक बचत पनि गरिरहेकाे छु। परिवार पाल्नलाई निकै राहत भएकाे छ।'

हाउस वाइरिङ पेसाले दिपेशकाे मुहारमा झल्केकाे खुसी

तिला -४ साँपुल्लीका दिपेश सुनार २७ वर्षका भए। विगत पाँच वर्षयता उनी हाउस वाइरिङकाे काम गरिरहेका थिए। तर सबैतिर विद्युतकाे विकास भइनसकेकाे हुँदा उनले साेचेजस्ताे काम पाउन सकेका थिएनन्।

त्यसैले हाउस वाइरिङकाे काम छाेडेर त्रिवेणी बजारमा उनले माेबाइल रिपियरिङ्ग सेन्टर खाेले। तर गाउँघरमा माेबाइल प्रयाेगकर्ताकाे संख्यामा कम भएका हुनाले उनकाे व्यवसाय फष्टाएन। त्यसपछि उनले ऋण गरेर काठ च्यात्ने र कुटानी, पिसानी गर्ने मिल राखे।

'तर गत असाेज ३१ गतेबाट परेकाे अविरल वर्षाकाे कारण भेरी खाेलामा आएकाे बाढीले मेराे मिल बगाइदियाे,' उनले भने, 'ऋणकाे भारी बाेकेर पुरानै सीपबाट पेट पाल्न थालेँ।'

यही बीचमा साना व्यवसाय तथा रोजगारीको माध्यमबाट आम्दानी वृद्धि गर्ने 'राइज' परियाेजनाले उनलाई हाउस वाइसिङकाे समान सहयाेग गर्‍याे। सहयोग बापत उनले टुलबक्स, दुई क्वाइल तार, दुई जाेर पञ्जा, ग्यालेन्डर मेसिन, मल्टिमिटर र एम्पिएर मिटर लगायत सामग्री पाए।

धेरैजसाे ढुंगा, माटाेले बनेका घरमा वाइरिङ गरेका उनले सहयाेग बापत आधुनिक किसिमका उपकरण पाएपछि आफ्नाे सीपलाई विस्तार गरेका छन्। आजभाेलि उनी ढलान घरकाे वाइरिङ पनि सजिलै गर्न सक्छन्।

याे सीप उनले २०६९ सालमा नेपालगन्जकाे मेघा केवल कम्पनीमा काम गर्नेबेला सिकेका थिए। त्यहाँ उनले साडे दुई वर्ष काम गरे। त्यसपछि सिटिभिटीकाे एक महिने ट्रेनिङ लिएपछि उनी दक्ष बने।

उनले भने, 'आजभाेलि मलाई जता, जसले काममा बाेलाउँछन् त्यतै जान्छु। दैनिक कममा १५ सयदेखि बढीमा चार हजारसम्म कमाउँछु। कहिलेकाहीँ खाली पनि भइन्छ।'

अब उनलाई ड्रिल मेसिनकाे खाँचाे छ। त्याे थप कामकाे ठेक्का लिएपछि पैसा जाेगाएर किन्ने याेजना बनाएकाे सुनाए।

'हाल मलाई तिला र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाबाट समेत काम आइरहेको छ,' उनले भने, 'मिलकाे ऋण वाइरिङकाे काम गरेरै तिरे। अब यही व्यवसायबाट अगाडि बन्छु।'

हाल उनकाे क्षेत्रमा विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन तान्ने काम गरिरहेको छ। उनले त्यहाँ काम पाएका छन्। उनले भने, 'बत्तीकाे पाेल उभ्याउने ठाउँतिर काम पाइएकाे छ। त्यसपछि च्यानल फिटिङ्सकाे काम पनि पाइनेवाला छ।'

प्रकाशित मिति: : 2022-01-25 16:30:00

प्रतिकृया दिनुहोस्