सामाजिक सञ्जालमा भाइरल कालिकाेटको झोलुङ्गे पुल र वास्तविकता

कालीकोटस्थित कर्णाली नदीमाथि बनेको झोलुङ्गे पुल सामाजिक सञ्जामा भाइरल बनेको छ। झोलुङ्गे पुलको बीचमा काठको भर्‍याङ बनाइएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको हो।

कालीकोटको खाँडाचक्र नगरपालिका- २ जितेगढा र नरहरिनाथ गाउँपालिका- १ लालीघाट जोड्ने कर्णाली नदीमा निर्माण भएको झोगुङ्गे पुल चढ्न बीचमा काठको भर्‍याङ लगाइएको छ।

यसको वास्तविकता भने फरक छ। गत असोज १९ गतेदेखि भएको वर्षाका कारण आएको बाढीले उक्त झोगुङ्गे पुलको एकतर्फको भाग बगायो। कर्णाली कोरिडोर, कर्णाली राजमार्ग, कालीकोटको पश्चिम क्षेत्र, बाजुराको पूर्वी क्षेत्र,  मुगुको पश्चिम क्षेत्र र हुम्लाका तल्लो क्षेत्रका नागरिकहरूको मुख्य मार्गको रूपमा यो पुल रहेको छ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावतमा असहज भयो। त्यसपछि पुलको बीचमा काठको भर्‍याङ बनाइएको हाे।

आवतजावतमा समस्या आएपछि लालीघाट बजार, जितेबजार र त्यहाँका यातायात व्यवसायी मिलेर शनिबार भर्‍याङ लगाइएको लालीघाटका यातायात व्यवसायी काउन्टरका इन्चार्ज खड्कराज रोकायाले जानकारी दिए।

‘सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो पुलको समस्या होइन। बाढीले झोगुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा निकै समस्या रहेको थियो,’ उनले भने, ‘भर्‍याङ लगाउँदा तत्कालका लागि समस्या समाधान भएको छ।’

प्रकाशित मिति: : 2022-10-31 15:41:00

प्रतिकृया दिनुहोस्