चर्चित हाइअल्टिच्युट ब्रान्ड: मार्सी धान भित्र्याउँदै किसान

BreaknLinks
BreaknLinks

तिहारकाे दिनसम्म खेतमा झुलेकाे मार्सी धान अब किसानकाे भकारीमा पस्दैछ। आज मार्सी धान चर्चित ब्रान्ड बनेकाे छ। तर याे चर्चाकाे इतिहास लामाे छ।

जंगबहादुर राणा पहिलाेपल्ट नेपालबाट बेलायत भ्रमणमा जाँदा सबै बन्दाेबस्तीका सामान लिएर गएका थिए भनिन्छ। त्यसबेला उनले नाै प्रकारका चामल लिएका थिए। जसमध्ये एक मार्सी चामल पनि थियो।

राणाकालभरी जुम्लाबाट हरेक दिन एक मानाे चामल राणाहरुका लागि पठाइएकाे कुरा यहाँका बुढापाकाले बताउने गरेका छन्।

केही वर्षअघि डाक्टर गाेविन्द केसीकाे जुम्लामा अनशन चलिरहँदा मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे घरमा नेकपा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्सी चामलकाे भात खाएकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि मार्सी धानकाे चर्चा चुलिएको थियाे।

आजभोलि जुम्लाका जिउलाहरुमा घुमफिर गर्‍यो भने त्यही मार्सी धान काट्ने चटारोमा किसानहरु हतारहतार गरिरहेकाे भेटिन्छन्।

यसरी चर्चित बनेकाे मार्सी धान पछिल्लो समय धेरैका लागि अध्ययनकाे विषय बनेकाे छ। जुम्लामा धान खेती सुरु भएकाे एकिन तथ्यांक नभएपनि बाबा चन्दननाथले अनुसन्धान गरेर पत्ता लगाएकाे र लछालकृति पैकेलाेले यसकाे विकास र विस्तार गरेकाे भाषा तथा संस्कृतिका जानकार रमानन्द आचार्य बताउँछन्।

२०२७ सालमा जुम्लामा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बीउको अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानमा कालीमार्सी धान नै जुम्लामा सबैभन्दा बढी उपयुक्त हुने निष्कर्ष निकालिएको थियो। राणाकालमा महिनौ लगाएर हुलाकबाट नियमित रूपमा काठमाडौंसम्म मार्सी चामल पुर्‍याइने गरिएको उनले सुनाउने गरेका छन्।

उनका अनुसार त्यसरी पठाइने चामल राणा शासकहरुको भान्सासम्मै पुग्थ्यो। कहिलेकाहीँ राणाहरूको दरबारमा चामल नपुग्दा वा बाटोमै रोकियो भने तुरुन्त राज्यको तर्फबाट खोजी सुरु हुने गरेको थियो।

यसरी हरेक दिन एक माना चामल नियमित पठाउनुलाई राणा शासकले हुलाक सेवाकाे प्रभावकारितासँग जाेडेकाे स्थानीय भानु देवकोटाले बताए।

'नेपालमा उच्च काेटीकाे चामल अरु पनि छन्। तर राणाजीहरुले मार्सी चामल नै किन राेजे हाेलान्?,' उनले भने, 'यसकाे भित्री रहस्य भनेकाे हुलाक सेवा कत्तिको प्रभावकारी छ भनेर जाँच गर्नु पनि थियाे।'

कुनै बेलाकाे शक्तिशाली जुम्ला राज्यलाई १८४६ मा गाेर्खालीहरुले विजय गरेदेखि नै कर्णाली शासकहरुकाे चासाेकाे क्षेत्र बनेकाे थियाे भने उनीहरु यहाँका जनतालाई नियन्त्रणमा राखिराख्न चाहन्थ्ये। त्यसैले यहाँका संचार सेवा दुरुस्त राख्न जरुरी रहेकाे देवकोटाकाे भनाइ छ। जसमा मार्सी चामल उपयोगी सावित भयाे।

गत आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालयले जुम्लाको पहिचानका रूपमा रहेको कालीमार्सी धानको संरक्षण गर्दै उन्नत जातमा लेकालीजस्ता जातहरूको धानखेती विस्तारमा जोड दिने नीति लिएको थियो।

कार्यालयका अनुसार जिल्लाको २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुन्छ। जसमा ६ हजार ७ सय मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ। त्यसमध्ये झन्डै ६० प्रतिशत मार्सी धान फल्ने गरेको छ।

अहिले विश्वको सबैभन्दा अग्लाे स्थानमा धान फल्ने पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि काली मार्सी धान पाक्न थालेको छ। तर, विभिन्न रोग तथा जलवायु परिवर्तनको असरका कारण पनि धान उत्पादन घट्दै गएको किसानहरुको अनुभव छ।

प्रकाशित मिति: : 2022-11-01 07:00:00

प्रतिकृया दिनुहोस्