चिन्तन भाग- ३

समयको खेलः जिरोदेखि हिरो र हिरोदेखि जिरो 

भारतीय प्रधानमन्त्री हुनेबेलामा नरेन्द्र मोदीले सांसद भवनमा प्रवेश गर्नुअघि भवनको खुड्किलोलाई ढोगेका थिए।

यसभन्दा पहिला सांसद भवनमा प्रवेश गर्नुभन्दा अघि पूर्व प्रधानमन्त्रीहरू वा अरू नेताहरूले माेदीले जस्तो सांसद भवनको खुड्किलोलाई सम्भवत: ढोगे होलान्। ढोगेकाे भारतका जनताले टिभीमा देखेनन्। तर मोदीको क्रियाकलापलाई भने देखे।

भारतका जनता मोदीप्रति त्यसबेला अभिभूत भए र जनताले सम्झेका थिए- भारतलाई विश्वको सर्वोच्च शिखरमा पुऱ्याउने प्रधानमन्त्री हामीले पायौँ।

प्रधानमन्त्री भएको केहीदिन-महिनापछि विश्वका कतिपय देशहरूसँग मैत्री सम्बन्ध गाँस्न माेदी विदेशको यात्रामा निस्के। सर्वप्रथम उनी भारतको छिमेकी देश पुगे र नेपालमा माेदीको भव्य स्वागत गरियो।

नेपालको सांसद भवनमा उनले थाेरै नेपाली र बाँकी हिन्दीमा अभिभाषण दिए। उपस्थित नेपाली नेताहरूको मन त्यसबेला उनले जिते। नेपालका नेताहरूले प्रसन्न भई आफू बसेको अगाडीको टेबल ठटाए। ठटाउनेमा कमरेड प्रचण्ड पनि थिए। यही घटनाले गर्दापनि प्रधानमन्त्री मोदीको नाम विश्वमा 'मोदी' भनेर सुविख्यात हुन पुग्यो।

प्रधानमन्त्री माेदीले नेपालको विश्व प्रसिद्ध पशुपतिनाथ मान्दिरमा पुगेर पशुपतिनाथको पनि पूजा गरे। नेपालबाट फर्किआउँदा उनीप्रति भारतका जनता  'मोदीभक्त' भइसकेका थिए।

नेपालपछि माेदी कतिपय अन्य देशहरूमा पनि पुगे। उनी त्यतिबेला जुनपनि देशमा पुगे, त्यो देशमा उनको भव्य स्वागत गरियो। देशका जनताको  'मोदी... मोदी...' भन्ने जय-जयकार शब्दले गगन गुञ्जायमान भयो। सबैका मुखमा 'मोदी... मोदी...' शब्द झुण्डिएको हुन्थ्यो।

भारतका कुनै पनि प्रान्तमा उनी जाँदा मानिसहरूका मुखमा पनि झुण्डिएको हुन्थ्यो- 'मोदी... मोदी...।'

साँच्चै, त्यसबेला भारतका जनताका लागि 'हिरो' थिए।

सन् २०१९ मा उनी फेरि दोस्रोपल्ट भारतकाे प्रधानमन्त्रीमा निर्वाचित भए। 'मोदी... मोदी...' भन्ने शब्द जय-जयकारको रूपमा भारतमा यथावत् थियो। धूमिल भएको थिएन। भारतका जनताका लागि माेदी 'हिरो' नै थिए।

सन् २०२० आयो। भारतमा काेराेनाभाइरस पनि आयो। देशलाई काेराेनाले तर्सायो। मोदीलाई 'हिरोबाट जिरो' बनाउन खोज्यो। तर उनलाई त्यसबेला जिरो बनाउन सकेन। कोरोनालाई भारतमा केही सीमासम्म नियन्त्रण गरेकोमा भारतले काेराेना नियन्त्रण गर्ने खोप पनि तयार पाऱ्यो।

प्रधानमन्त्री मोदी नेतृत्वकाे सरकारले काेराेनाविरूद्धकाे खोप आवश्यक परेका बाहिरी देशलाई पनि पठायो। यस कार्यका लागि भारतका जनता मोदीको मानवीय कर्तव्य देखेर मोदीप्रति अत्याधिक अभिभूत भए।

कतिले भन्न लागे- भारत मानवीय कर्तव्य गर्न सधैँ अगाडि छ। 'वसुधैव कुटुम्बकम्' भारतको मूल मंत्र हो यसैकारण मोदी भारतका जनताका लागि झन् 'हिरो' भए। भारतका जनताले 'हिरो' सम्झे, देखे।

सन् २०२१ आयो। तर आयो काेराेनाको दाेस्रो लहर लिएर। काेराेनाले गर्दा भारतमा जनता धेरै मर्न लागे। अक्सिजनको कमी। खोपको पनि कमी। यो देखेर हिजोसम्म 'हिरो' भन्ने भारतका तिनै जनताले मोदीलाई गाली गर्दै, सराप्दै 'जिरो' बनाइरहेका छन्।

मोदीले स्टालिनले झैँ आफ्ना दुई करोड जनता मारेका छैनन्। बरु जनता मरेका देखेर संवेदनामा रोएका छन्। काेराेनाले पो मारिरहेको छ। तर करोड पुगेको छैन। २ करोड आफ्नै जनता मार्ने स्टालिन समयको खेलले गर्दा जिरोबाट हिरो भए।

यही समयको खेलले गर्दा हिरो भएका मोदी आज भारतका जनताका आँखामा जिरो भइरहेका छन्। समयको खेल- हिजोका हिरो मोदी आज भएका छन्-जिरो।

भारतका जनताले बुझ्दैनन्, तबसम्म कालान्तरमा कुनै  प्रधानमन्त्री भए पनि उनी कहिल्यै 'हिरो' हुने छैनन्। हुनेछन्- जिरो।



भाग १- समयको खेलः जिरोदेखि हिरो र हिरोदेखि जिरो

भाग २- समयको खेलः जिरोदेखि हिरो र हिरोदेखि जिरो

 

प्रकाशित मिति: : 2021-06-09 08:40:00

प्रतिकृया दिनुहोस्