प्रचण्डको मनमौजीले माओवादीको भविष्य अन्यौलमा

सुदिप बराल

काठमाडौं
फाइल तस्विर। पुष्पकमल दाहाल ‘प्रचण्ड’।
फाइल तस्विर। पुष्पकमल दाहाल ‘प्रचण्ड’।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान नेपाली राजनीतिक वृत्तमा चर्चित पात्र हुन्।

नेपाली राजनीतिमा चतुर खेलाडीको उपनामले चिनिने प्रचण्ड सधैँ सत्ता र शक्तिको केन्द्रमा रहिरहन चाहन्छन्, जसका लागि उनी जेसुकै गर्न र जतिसुकै गिर्न पनि तयार हुने गर्छन्।

पछिल्लो समय उनलाई विभिन्न आरोपहरु लाग्ने गरेका छन्। क्षणिक राजनीतिक फाइदाका लागि पार्टीको सिद्धान्तहरुलाई बिर्सेर आफूखुसी निर्णय गर्ने गरेको भन्दै बेलाबेला पार्टी भित्रैबाट असन्तुष्टिका आवाजहरु आउने गरेको छ।

माओवादीको घट्दो प्रभावका कारण आगामी संसदीय निर्वाचनमा पार्टीको अस्तित्व रक्षा गर्नकै लागि भए पनि प्रचण्डलाई गठबन्धन नगरी नहुने बाध्यता परेको छ।

पार्टीको त कुरै छोडौँ प्रचण्डलाई स्वयम् आफ्नै अस्तित्व कसरी बचाउने भन्ने चिन्ताले निदाउन दिँदैन। एकपटक निर्वाचन जितेको क्षेत्रमा अर्कोपटक फर्कने हिम्मत गर्दैनन्, उनी। चुनावैपिच्छे क्षेत्र फेरिरहने प्रचण्ड जता जनता बहकाउन सकिन्छ त्यतै लम्किन्छन्। यो पटक उनी चितवनमा आफ्नो भविष्य सुरक्षित नदेखेर गोरखाका जनता बहकाउन सकिन्छ कि भन्दै गोरखा उक्लिएका छन्।

गठबन्धनको विकल्प नदेखेका प्रचण्डले नेपाली काँग्रेसले साथ छाड्ने र एमालेले पनि साथ नदिने डरको कारण अपमानित भएर पनि गठबन्धन कायम राख्न प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्न काँग्रेसलाई साथ दिएका थिए।

माओवादीका एक नेता पार्टी अध्यक्षले एमसीसी तथा अर्थमन्त्री प्रकरणजस्ता प्रकरणमा नेता/कार्यकर्ताको सुझावलाई उपेक्षा गर्दै दोहोरो चरित्र देखाएर बेलाबेला आफूहरुलाई अन्योलमा पार्ने गरेको बताउँछन्।

एमसीसी प्रकरणमा प्रचण्डले कार्यकर्तालाई एमसीसीको विरोधमा आन्दोलनमा उतारेर अन्त्यमा एमसीसीको पक्षमा मतदान गरेपछि दोहोरो चरित्र देखाएको भन्दै उनको व्यापक आलोचना भएको थियो।

नेता/कार्यकर्ताहरु बेलाबेला अध्यक्षको कारण जनतासँग गरेका वाचा तथा आश्वासनविपरीतका कार्यहरु हुने गरेको र आफूहरुलाई जनतामाझ जान अप्ठ्यारो महसुस हुने गरेको तथा लज्जित समेत हुनुपरेको गुनासो गर्छन्।

‘पार्टी भित्रका अधिकांश निर्णयहरु अध्यक्षको एकल निर्णयबाट हुने गरेको छ। केही निर्णयहरु त पार्टीको नीति र विधानविपरीत पनि हुने गरेका छन्,’ दाहाल इतर पक्षका एक नेताले भने।

गत भदौ २२ मा राष्ट्रिय सभा गृहमा भएको अखिल क्रान्तिकारीको भेलामा नेता जनार्दन शर्माले अध्यक्ष प्रचण्डको आलोचना गरे। अर्थमन्त्रीसमेत रहेका शर्माले आफू प्रचण्डको आलोचक भएको बताउँदै प्रचण्डकै अगाडि नीति र नेतृत्व असफल भएको टिप्पणी गर्दै अध्यक्षको खुलेर आलोचना गरे।

कार्यक्रममा शर्माले आफू उपमहासचिवको हैसियतमा नभइ पार्टीको संगठन विभागको प्रमुखको हैसियतले बोलेको बताए। उनको अभिव्यक्तिमा गत ४ भदौमा भएको पार्टीको पदाधिकारी चयनमा उनको असन्तुष्टि रहेको झल्किन्थ्यो। उनी महासचिव पदको आकांक्षी थिए तर अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाएपछि शर्माले असन्तुष्टि जनाएमा थिए। जनार्दन शर्मालगायत वर्षमान पुन, मात्रिका यादव, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पाेख्रेल र शक्ति बस्नेत उपमहासचिवमा चयन भएका थिए।

राष्ट्रिय राजनीतिलाई प्रभावित पार्न सक्ने प्रचण्डमाथि परिवारवाद हावी भएको आरोप पनि लाग्ने गरेको छ। उनलाई जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति, सहिद तथा वेपत्ता परिवारको व्यवस्थापनमा ध्यान नदिएको तर सरकारी नियुक्ति तथा पार्टीको महत्वपूर्ण जिम्मेवारीमा छोरी–ज्वाँइ, भाइ–बुहारीलाई संरक्षण दिएर नातावादलाई प्राथमिकता दिएको आरोप लागिरहेको छ।

गत असार १९ गतेको केन्द्रीय समिति बैठकमा प्रचण्डले कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाएका थिए।

मन्त्री बनाउँदा, राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा होस् वा राजदूत नियुक्त गर्दा होस् उनले आफ्नै परिवारभित्रकालाई प्राथमिकता दिने गरेको भन्दै पार्टीभित्रबाटै असन्तुष्टिहरु व्यक्त भइरहेका छन्। यता प्रचण्ड पनि माओवादीभित्र ‘वन मेन आर्मी’जस्तै छन्। पार्टीमा प्रचण्डको ब्राण्ड र एकछत्र राजले गर्दा केन्द्रीय तहका नेताहरु अध्यक्षको मनमौजी प्रवृत्तिको खुलेर विरोध गर्न सक्दैनन्।

यता प्रचण्ड बदनाम ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन्। अधिकारी शैलुङ कन्ट्रक्सनका मालिक हुन्, शैलुङ कन्ट्रक्सनलाई समयमै काम सम्पन्न नगरेको र अलपत्र पारेको भन्दै सरकारले कालो सूचीमा राखेको छ। बदनाम ठेकेदारको घरमा बसेको र संरक्षण गरेको भन्दै प्रचण्डको धेरै आलोचना भइरहेको छ।

काठमाडौँ महानगरका मेयर बालेन साहले पनि फेसबुकमा  शैलुङ कन्ट्रक्सनले अलपत्र पारेको सडकको भिडियो पोष्ट गर्दै प्रचण्डको आलोचना गरेका थिए। उनले लेखेका थिए,‘श्रीमान प्रचण्डज्यु! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’

बदनाम मान्छेसँगको उठ/बसले प्रचण्डको मात्रै होइन पार्टीको भविष्यसमेत अन्योलमा परेकोले आफूहरु चिन्तित् रहेको एक केन्द्रीय सदस्य बताउँछन्।

यता प्रचण्ड पनि जब आलोचना हुन्छ तब आफूले धेरै समयदेखि अर्को डेरा खोजिरहेता पनि पाउन नसकेको र डेरा पाउने बित्तिकै सर्ने भन्दै पन्छिरहन्छन्। तर, उनले डेरा सर्न खासै चासो दिएका छैनन्।

प्रचण्डको मनमौजी प्रवृत्तिका कारण माओवादी आन्दोलनको औचित्य सकिएको भन्दै नेता/कार्यकर्ताहरुमा पार्टी परित्याग गर्ने क्रम बढिरहेको छ। ०६९ असारमा माेहन बैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’सहितका ठुलो संख्यामा नेता/कार्यकर्ता पार्टीबाट अलग भएपछि लगत्तै भएको ०७० को संविधान सभा निर्वाचनमा माओवादी पार्टीले लज्जास्पद हार ब्यहोर्न पुगेको थियो।

डा.बाबुराम भट्टराईजस्ता प्रभावशाली नेता पनि प्रचण्डलाई एकलौटी गरेको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै पार्टी छाडेर हिँडेका थिए। तर, अहिले उनै बाबुरामले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिएका छन्।

कुनै बेलाको ठुलो र शक्तिशाली माओवादी पार्टीको अस्तित्व जोगाउनै हाल उनलाई धौ–धौ परिरहेको छ, गठबन्धनको नाममा सिद्धान्त नमिल्ने पार्टीहरुसँग सहकार्य गर्नुपर्ने अवस्था आइलागेको छ।

आफ्नै सहकर्मी र गठबन्धन भित्रैबाट उनलाई विश्वास गर्न नसकिने र अडान नभएका नेता भनेर आलोचना भइरहँदा पनि उनी निरीह छन्। राष्ट्रिय संवेदनशीलका विषयहरुमा हलुका टिप्पणी गर्ने गरेको आरोपमा उनी बेलाबेला विवादमा पनि आइरहन्छन्।

नेपाली राजनीतिका चतुर खेलाडी मानिने प्रचण्ड आफ्नै मनमौजी प्रवृत्तिको कारण एक्लिदै गइरहेका छन्। जुन कुरा उनले केही दिनअघि काठमाडौँमा एक कार्यक्रममा बोल्दै स्वीकार पनि गरेका छन्। तर, उनी आफ्नै मनमौजी प्रवृत्तिको कारण एक्लिदै गएको कुरा स्वीकार गर्न सकिरहेका छैनन्। माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका बेला सम्पूर्ण मानव जातिको लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महसुस हुन थालेको बताएका हुन्।

दुई–दुई पटक सरकारको नेतृत्व गरेका प्रचण्डले जनताको अवस्था परिवर्तनमा केही गर्न नसकेता पनि व्यवस्था परिवर्तनमा सफलता पाएको भन्दै मख्ख पर्छन्।

प्रचण्ड पार्टीमा आफूलाई चुनौती दिनसक्ने नेतालाई साइड लगाएर आफू सुरक्षित रहिरहन चाहन्छन्। त्यसो त तत्काल माओवादीको नेतृत्वमा प्रचण्डको विकल्प नभएको एक नेता बताउँछन्। ‘जनयुद्धको नेतृत्वकर्ता भएको र हाम्रो पार्टीको ब्याक बोनसमेत भएकाले प्रचण्डबिना पार्टीको भविष्य कल्पना गर्नै सकिँदैन,’ उनले भने।

यता प्रचण्ड इतर समूह भने अध्यक्षको मनपरीले पार्टी र देशलाई समेत क्षति पुगेकाले उनी सच्चिनुपर्ने नत्र उनको विकल्प खोज्न ढिला गर्न नहुने बताउँछन्।

अब राजनीतिबाट विस्थापित हुने कि स्थापित नै रहिरहने भन्ने कुरा स्वयम् प्रचण्डमा निर्भर रहन्छ। जसका लागि उनले एकल निर्णय छाडेर आम कार्यकर्ताको भावनाअनुरुप सामूहिक निर्णयबाट चल्नुपर्नेछ। अन्यथा आफ्नै नेतृत्वमा उदाएको पार्टी आफ्नै कारण अस्ताउन सक्छ।

प्रकाशित मिति: : 2022-11-01 16:30:00

प्रतिकृया दिनुहोस्