गुमनाम स्वतन्त्र उम्मेदवार 

राजनीतिक दलहरुले जनताको मर्मअनुसार काम गर्न नसकेको भन्दै विभिन्न व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दिनेक्रम प्रत्यक निर्वाचनमा बढ्दो छ। उनीहरुले आफूहरुलाई अब्बल सावित गर्दै चुनाव जित्ने उद्देश्य राखे पनि उद्देश्य अनुसारको काम भने हुन सकेको देखिदैन। स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरु जनतालाई आफ्ना एजेण्डाहरुका बारेमा जानकारी दिनुभन्दा प्रायः उम्मेदवार गुमनाम देखिन्छन्।


मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दाङबाट १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। तीन प्रतिनिधि र छ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा युवादेखि बृद्धसम्मको स्वतन्त्र उम्मेदवारका रुपमा नाम छ।

स्वतन्त्र उम्मेदवारी दिनेमा प्रदेश सभामा भन्दा प्रतिनिधि सभाका लागि धेरै छन्। प्रतिनिधि सभाका लागि १० जना र प्रदेश सभा सदस्यका लागि सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रतिशतका रुपमा हेर्ने हो भने जिल्लाबाट कुल ८९ जना उम्मेदवारी दिने मध्येमा स्वतन्त्र उम्मेदवारी दिने १७ जनाको लगभग १५ प्रतिशत हुन्छ। यी १५ प्रतिशत स्वतन्त्र उम्मेदवारको जिल्लामा चुनावी चहलपहल शून्य प्रायः छ। कुन उम्मेदवारले कस्तो चुनावी घोषणापत्र ल्याए भन्नेसमेत मतदाता जानकारमा छैनन्। कुनै सार्वजनिक कार्यक्रम गरेर घोषणापत्र ल्याइएको छैन। यसैपनि राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेको समयमा कतिपय स्वतन्त्र उम्मेदवारको घोषणापत्र नै कहिले आउने हो स्वयम् आफैंलाई थाहा छैन।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका तिलक खड्काले आफ्नो घोषणापत्र कहिले आउने हो आफैंलाई थाहा नभएको बिएल नेपाली सेवासँग फोनमा कुराकानी गर्दै बताए। ‘घोषणापत्र आउँछ तर कहिले आउँछ भन्ने थाहा छैन,’ उनले भने, ‘साथीहरु घोषणापत्र बनाउन लाग्नु भएको छ।’

क्षेत्र नम्बर– ३ कै स्वतन्त्र उम्मेदवार घनश्याम डाँगीले बुधबार बिएल नेपाली सेवासँग कुरा गर्दै चुनावी प्रचारमा भन्दा पनि अदालतमा काम भएको र अदालतमै रहेको प्रतिक्रिया दिए। उनले स्वतन्त्र उम्मेदवारी त्यत्तिकै दिएकोसमेत फोनमै भन्न भ्याएका थिए।

तर, कतिपय स्वतन्त्र उम्मेदवारहरुले भने जनतामाझ पुगिरहेको र आफ्ना एजेण्डाहरु जनतालाई बुझाइरहेको बताए। क्षेत्र नम्बर– ३ कै स्वतन्त्र उम्मेदवार भूपबहादुर भण्डारीले आफू चुनावी अभियानमा रहेको बताए। उनले चुनावी अपिल र प्रतिबद्धता लिएर जनातामाझ पुगिरहेको जानकारी दिए।

प्रतिबद्धता पत्रमा संघीयता खारेजी, हिन्दूराष्ट्र निर्माण, सुशासन कायम गर्ने लगायत रहेको भण्डारीले बताए। उनले धेरै प्रतिबद्धतापत्र भन्दा पनि संसदमा पुगेर कानुन बनाउने काम गर्ने आफूहरुको काम हुने भनाइ व्यक्त गरे।

अर्का स्वतन्त्र उम्मेदवार हेमन्तबहादुर मल्लले पनि घोषणापत्र लिएर गएको भन्दै संघीयता खारेजी आफूहरुको एजेण्डा रहेको बताए। उनले बैकल्पिक सहर निर्माण, आर्थिक विकास, शिक्षाको गुणस्तरका विषय आफूहरुको एजेण्डा रहेको मल्लले जानकारी दिए।

किन गुमनाम छन् स्वतन्त्र उम्मेदवार ?

स्वतन्त्र उम्मेदवार गुमनाम हुनु स्वभाविक रहेको बताउँछन्, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक टीकाराम उदासी। राजनीतिक दलहरुको जस्तो गाउँतहसम्म स्वतन्त्र उम्मेदवारको कुनै संगठन नहुनुले उनीहरु गुमनाम हुनु स्वभाविक रहेको उनको तर्क छ।

नेपालमा राजनीतिक दलहरुप्रति वितृष्णा पैदा हुँदा स्वतन्त्र उम्मेदवारहरु उदाएको र राजनीतिक दलहरुलाई खबरदारी गरेको प्राध्यापक उदासीले बताए। ‘स्वतन्त्र उम्मेदवारी दिनु भनेको जितिहाल्छु भन्ने उद्देश्यले होइन, स्वतन्त्र उम्मेदवारलाई जित्न सहज पनि छैन,’ उनले भने, ‘यो त राजनीतिक दलहरुले जनताले सोचअनुसार काम गर्न नसक्दा स्वतन्त्र उम्मेदवार उदाएका हुन। खबरदारी गरेका हुन।’

कतिपय स्वतन्त्र उम्मेदवारहरु आफ्नो सस्तो लोकप्रियताका लागि पनि उम्मेदवार हुने गरेको उनको तर्क छ।

कस्तो छ स्वतन्त्र उम्मेदवारको मत ?

अघिल्लो २०७४ को प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा दाङमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुको मत आशालाग्दो छैन। कुल १३ जनाले स्वतन्त्र उम्मेदवारी दिएकाहरुमध्ये एक जनाबाहेक अरु कसैले पनि आफ्नो मत दुई अंक कटाउन सकेका छैनन्।

दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले मात्र २६५ मत ल्याएका थिए। उनी सोही क्षेत्रबाट मंसिर ४ गते हुने आमनिर्वाचनमा पनि प्रतिनिधि सभा सदस्यका लागि नागरिक उन्मिुक्ति पार्टीबाट उम्मेदवार छन्।

अन्य १२ जनाले भने १०० भन्दा कम मत प्राप्त गरेका छन्। जसअनुसार प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका गौर सिंह महरले २०, परशुनारायण चौधरीले १६, बालाराम पौडेलले ९८, यादव भण्डारीले ४८, बालकृष्ण शर्माले २६ र नरबहादुर वलीले १३ मत प्राप्त गरेका थिए।

प्रदेश सभा सदस्यका लागि उम्मेदवार दिएकाहरुको पनि मत परिणाम दुई अंक माथि छैन।

प्रकाशित मिति: : 2022-11-04 10:20:00

प्रतिकृया दिनुहोस्