ट्रम्पमाथि छानबिन गर्न छानबिनकर्ता नियुक्त, पेचिलो बन्दै अमेरिकी राजनीति

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक अनुसन्धानको निरीक्षण गर्न एक स्वतन्त्र वकिल नियुक्त गरिएको छ । अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले ज्याक स्मिथलाई नियुक्त गरिएको जानकारी दिएका छन् ।

एक पूर्वयुद्ध अपराध अभियोजकसमेत रहेका ज्याकले ट्रम्पले फ्लोरिडा मायमीस्थित निजी निबासमा लगेका गोप्य कागजात र २०२० को जनवरी ६ मा संसदमा भएको दङ्गामा ट्रम्पको भूमिकामाथि अनुसन्धानको नेतृत्व गर्नेछन् ।

ट्रम्प जोडिएका यी दुबै घटनाहरू असाधारण प्रकृतिका भएकाले स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजनको व्यवस्थापन गर्न विशेष अभियोजक नियुक्त गर्नु सार्वजनिक हितमा भएको महान्यायाधिवक्ता गारल्याण्डले बताएका छन् ।

तर, ट्रम्पले भने आफूले यस्तो कहिले नसुनेको बताउँदै अनुसन्धानकर्ता नियुक्त गरेकाेमा क्रुद्ध प्रतिक्रिया दिएका छन् । उनले आफू संसद भवनमा भएको घटनाका लागि जिम्मेवार नभएको र आफ्नो निबासमा भएका कुनै पनि कागजात गोप्य नभएको बताएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले आगामी निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेलगतै यसरी उनीमाथि अनुसन्धान गर्न अनुसन्धानकर्ता नियुक्त गरिनुलाई संजोग मात्र भन्न नमिल्ने अमेरिकी राजनीतिका जानकारहरूले बताएका छन् । ट्रम्पका समर्थकहरूले भने यो सबै २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पलाई उम्मेद्वार हुनबाट रोक्न गरिएका षडयन्त्र भएको बताएका छन् ।

केही दिन यता अमेरिकी राजनीतिलाई दूरगामी प्रभाव पार्नसक्ने घटना विकास भएका छन् । मध्यावधि निर्वाचनमा कंग्रेसको माथिल्लो सदन डेमोक्रेट्सले जित्नु, तल्लो सदन हाउस रिपब्लिकनले जित्नु, रिपब्लिकनका दुबै सदनका नेताहरू पुननिर्वाचित हुनु, हाउसको डेमोक्रेट्स नेताबाट नान्सी पोलिसीले राजीनामा दिनु, ट्रम्पले पुन: राष्ट्रपतिका लागि उम्मेद्वारी घोषणा गर्नु अनि अमेरिकी न्यायविभागले असाधारण परिस्थिति सिर्जना भएको भन्दै ट्रम्पमाथि अनुसन्धान गर्न स्वतन्त्र अनुसन्धानकर्ता नियुक्त गर्नुलाई टाइमलाइनमा हेर्यो भने अमेरिकी राजनीति पेचिलो बन्दै गएको देखिन्छ । 

 

प्रकाशित मिति: : 2022-11-19 05:29:00

प्रतिकृया दिनुहोस्