पालिकामा पराजित, प्रदेशमा विजयी     

विजयनगर गाउँपालिका अध्यक्षमा पराजित जानकीप्रसाद यादव प्रदेश सभा सदस्यमा विजयी भएका छन्। उनको विजयसँगै जिल्लामा राप्रपाले पहिलो जित निकालेको छ।

कपिलवस्तु ३ (२) बाट यादव ६ सय ७५ मतान्तरसहित विजयी भएका हुन्। यादवले ८ हजार ५ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रजाउरहमान खाले ७ हजार ९ सय ७ मत प्राप्त गरेका छन्। कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी वीरेन्द्रकुमार कानोडिया पनि उनीसँग पराजित भएका छन्।

गत स्थानीय निर्वाचनमा विजयनगरको अध्यक्षमा कांग्रेसले टिकट नदिएपछि उनी जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लडेका थिए। उनी अध्यक्षमा ५ सय ४ मतको अन्तरले पराजित भएका थिए। उनले ५ हजार ३ सय ३४ मत ल्याएका थिए। एमालेका गोपालबहादुर थापाले ५ हजार ८ सय ३८ मत ल्याएर विजयी भएका थिए।

यादव अहिले राप्रपा प्रवेश गरेर प्रदेश सभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए। यादवले २०७४ मा विजयनगरको अध्यक्ष र प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। दुवै निर्वाचनमा पराजय भएका थिए।

प्रकाशित मिति: : 2022-11-28 06:38:00

प्रतिकृया दिनुहोस्