४ मंसिरको चुनावमा नागरिक उन्मुक्ति पार्टीको नारा नै थियो, न्यायका लागि ढकियामा भोट। जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा दोषी तथा आरोपितलाई न्याय दिलाउने नागरिक उन्मुक्ति पार्टीको नारालाई टीकापुर र आसपासका क्षेत्रका जनताले अनुमोदन पनि गर।
कैलाली क्षेत्र १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भए। कैलाली १ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रेशमकै पत्नी हुन्।
बर्दिया–२ बाट रेशमका बुबा लालवीर चौधरी निर्वाचित भएका छन्। यो क्षेत्रमा रेशम आफैं उम्मेदवार थिए। उनको उम्मेदवारी खारेज हुनसक्ने भएकाले लालवीरलाई स्वतन्त्र उम्मेदवारी दिन लगाइएको थियो। भयो पनि त्यस्तै। निर्वाचन अधिकृतको कार्यालयले फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति भन्दै रेशमको उम्मेदवारी खारेज भयो। नागरिक उन्मुक्तिले रेशमको प्रतिनिधिका रुपमा बाबु लालवीरलाई अघि सार्यो। बर्दिया–२ का जनताले उनलाई पनि अनुमोदन गरेर संसदमा पठाएका छन्।