कान्तिकाकाे छलाङ : उत्कृष्ट हेडमास्टरदेखि मेयर हुँदै माननीयसम्म

जुम्लाकाे राजनीतिमा जबर्जस्त स्थापित नाम हाे, कान्तिका सेजुवाल। आफ्नाे राजनीतिक यात्रामा उनले यस्ता रेकर्ड बनाएकी छन्, जाे ब्रेक नभएर इतिहास बनेका छन्। उनले जुम्लामा माध्यमिक तहकाे विद्यालयकाे पहिलो पटक महिला प्रधानाध्यापक हुँदा नै इतिहास बनाउन सुरु गरेकी थिइन्। जसकाे निरन्तरता आजसम्म पनि कायम छ।

२०७४ सालकाे स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकाकाे मेयर जित्दा उनी नेपालकै पहिलाे महिला मेयर भएकी थिइन् भने नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुँदा कांग्रेस जुम्लाकाे इतिहासमा पहिलाे पटक निर्वाचित हुने केन्द्रीय सदस्यमा पर्थिन्।

यसरी इतिहासकाे पानामा दर्ज हुने गरी राजनीतिमा हाेमिएकी सेजुवाल आम महिलाकाे पृष्ठभूमिबाट उठेकी हुन्। जस्ताे कि कर्णालीका धेरै महिलाहरु उमेर नपुग्दै बिहे गर्छन्। उनकाे बिहे ९ कक्षामा पढ्दा पढ्दै भएकाे थियाे। एलएलसी सकाउँदा उनले शिक्षक बन्ने उदेश्य बाेकेकी थिइन्। शिक्षा कार्यालयमा जबर्जस्ती संघर्ष गरेर शिक्षककाे नियुक्ति लिएकी थिइन्।

महिलाहरु सितिमिति घर बाहिर निस्कन नसक्ने समयमा उनले गरेकाे आँट सर्वथा प्रशंसनीय थियाे। हक्की स्वभावकी उनी आफ्नाे विचार राख्दा नडगमगाउने हुनाले उनलाई धेरैले कान्तिका मेडम भन्थे।

औसत उचाइ, गाेलाे अनुहार, गहुँगाेराे वर्ण, फरासिलो बाेली, संघर्षशील स्वभाव उनकाे चित्र हाे। कसैले कान्तिका मेडम भन्याे भने दिमागमा बन्ने उनकाे आकृति कर्णालीका तमाम महिलाकाे लागि प्रेरणाकाे स्राेत हाे।

कर्णालीकाे इतिहासमा कान्छी सांसद बनेर सदनभित्र छिर्दै विनिता

उनी चन्दननाथ नगरपालिकाकी मेयर निर्वाचित हुँदा कर्णाली प्रदेशका ७९ स्थानीय तहमा काेही पनि महिलाले प्रमुखकाे टिकट पाएका थिएनन्। यतिबेला राजधानी विरेन्द्रनगरमै महिला मेयर निर्वाचित भएकी छन्। उनले काेरेकाे मार्गमा हिँड्नेहरुकाे संख्या हरेक निर्वाचनमा बढ्दै छ। त्यसैले कान्तिका मेडमले बनाएकाे रेकर्ड इतिहास बन्ने छ, ताेडिने छैन।

हिम्मत हार्न सक्नेका निम्ति उनी ऊर्जा हुन्, उनकाे जीवन भाेगाइ नै काफी छ। २०७० फागुन ४ गते हवाई दुर्घटनामा कांग्रेसका तत्कालीन जुम्ला सभापति तथा उनका श्रीमान मानव सेजुवालको निधन भयाे। सिंगो जुम्लाकाे लागि दुखद खबर बनेकाे याे घटनाबाट छेतविच्छेत भएका तमाम कार्यकर्तालाई शान्त पर्नु र अस्वभाविक दुर्घटनालाई परिस्थितिकाे खेल भनेर व्यवस्थापन गर्नु कम्ताकाे महाभारत थिएन। तर उनले सहजै भनिन्, 'जे नहुनु थियाे, त्यही भयाे। हामीले बेहोर्नु बाहेक विकल्प छैन।'

सायद नारायण गाेपालले 'मुटुमाथि ढुंगा राखी हाँस्नु पर्याछ' भनी गाउनुकाे पछाडि यस्ता अप्रत्याशीत घटना पनि बेहोर्नु पर्छ भनेरै हाेला।

त्यसबेला कान्तिका मेडम कर्णाली मावि अनामनगरकी हेडमास्टर थिइन्। आफ्नाे जागिर देखाएर परिवार र आफन्तलाई सान्त्वना दिएकी उनले त्यसकाे एक वर्षमै आश्चर्यजनक निर्णय गरेकी थिइन्। त्याे थियाे, स्थायी जागिर र चल्ताफुर्ताकाे नाम हेडमास्टरबाट राजीनामा दिएर श्रीमानकाे बाटो रोज्नु।

उनकाे नेतृत्वकाे विद्यालय जिल्लामा नाम कहलिएका सीमितमा एक थियाे। जुन हालसम्म पनि कायम छ। उनले छाेडेकाे व्यवस्थापकीय छाप पछ्याउन सक्नु नै उक्त विद्यालय सफल रहनुकाे राज हाे। उनकाे विद्यालयसँग प्रतिस्पर्धा गर्ने धेरै विद्यालयकाे स्तर यतिबेला खस्किसकेकाे छ।

पार्टीको तेह्रौं महाधिवेशनबाट उनी महासमिति सदस्यमा चुननिएकी थिइन्। शिक्षक छाेडेर राजनीतिमा आउनेबेला उनले भनेकी थिइन्, 'मानव सर घरपरिवार र आर्थिक पक्षलाई गौण ठानेर राजनीतिमा हाेमिनुभएकाे थियाे। राजनीतिबाट आम जनताकाे जीवनस्तरमा परिवर्तन गराउने उदेश्य राख्नुहुने उहाँले लक्ष्य पूरा नहुँदै संसार छाेडेर विदा हुने स्थिति आयाे। उहाँकाे अधुराे सपनाले मलाई थिचिरह्याे। त्यसपछि म राजनीतिमा आएकी हुँ।'

राजनीतिमा आएसँगै उनले एकपछि अर्काे उपलब्धि हासिल गर्दै गइन्। देश संघीयतामा गएपछि पहिलाे पटक भएकाे स्थानीय तहकाे निर्वाचनबाट देशकाे पहिलाे महिला मेयर र भर्खरै स्थापना भएकाे चन्दननाथ नगरपालिकाकाे पहिलाे मेयर हुनु उनले राजनीतिमा पाइला उचाल्ने बित्तिकै हासिल गरेकाे ठुलाे उपलब्धि थियाे।

उनले त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षा र ग्रामीण विकासमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी छन्। 'उहाँ यसरी राजनीतिमा अगाडि आउन सक्नुमा मानव सरकाे ठुलाे उर्जा छ। पछिल्लो समय उहाँ सशक्त नेतृत्वको रुपमा उदाउँदै हुनुहुन्छ,' जिल्ला समन्वय समितिका सभापति गाैरीनन्द आचार्यले भने, 'कामप्रतिको लगाव र पार्टीभित्र तथा बाहिर समन्वय गर्ने क्षमता उहाँका विशेष गुण रहेका छन्।'

राजनीतिक रुपमा बलियो पारिवारिक पृष्ठभूमि, आम जनताकाे सद्भाव र विश्वास, पार्टीकाे केन्द्रीय स्तरसम्म निर्माण गरेकाे सुमधुर सम्बन्ध आदि कारणले उनी सफल देखिँदै गएकी छिन्।

जुम्लामा ३१ वर्ष मुनिका तीन युवा सांसद

जुम्लामा उडान भर्ने निजी विमान कम्पनीहरुले बढाएकाे भाडादर घटाउन र हवाई उडान नियमित गराउन जुम्लामा पहिलाेपल्ट आन्दोलनकाे नेतृत्व उनैले गरेकी थिइन् भने नारी कल्याण केन्द्रमार्फत महिला सशक्तिकरण अभियानमा सक्रीय थिइन्।

२०५० को दशकमा त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेका उनका श्रीमान मानव सेजुवाल उनका प्रेरणाका स्राेत हुन्। विश्वविद्यालयदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका संघसंस्थामा आकर्षक रोजगारीको अवसर आएपनि उनले राजनीतिलाई आफ्नाे प्रमुख उदेश्य मानेर कर्णाली फर्केका थिए।

इमानदार र समर्पित युवा नेतृत्वको निर्माण गरिसकेका उनकाे निधन जुम्ला र समग्र कर्णालीका लागि अकल्पनीय खबर थियाे। उनलाई सफल बनाउन र घर व्यवहार सम्हाल्न कान्तिका मेडमकाे ठुलाे साथ हुँदाहुँदै पनि उनी अस्ताउँदा बिहानी खाेज्दै राजनीतिमा हाेमिनु कान्तिकाकाे लागि अस्वाभाविक थिएन।

परिणाम आज उनले एक पछि अर्काे गर्दै राजनीतिक उपलब्धि हासिल गर्दै गएकी छन्। १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य जितेकी उनलाई यतिबेला पार्टीले समानुपातिक सांसद बनाएकाे छ। लगभग मन्त्री हुने सम्भावना बाेकेकी कान्तिका मेडमले मानव सरका अधुरा सपना पूरा गर्ने आश मानि बसेका छन्, काँग्रेसीजन र जुम्ली जनता।

प्रकाशित मिति: : 2022-12-12 22:10:00

प्रतिकृया दिनुहोस्