के समानुपातिक व्यवस्था ठिक छ ?

BreaknLinks
BreaknLinks

अहिले देशमा मिश्रित रूपको संसदीय व्यवस्था छ। विगतमा ठुला पार्टीहरूको चापमा थ्रेस होल्डलाई कार्यन्वयन गरियो। विगतदेखि समानुपातिक संसदीय प्रणालीकाे प्रत्यक्ष रूपमा दुरूपयोग हुँदै आएकाे छ।

राजनीतिक पार्टीहरूले समानुपातिक सिटलाई या त आफ्नो आर्थिक उत्पादनका लागि प्रयोग गर्दै आएका छन् वा आफ्नो साख बचाउन आसेपासेहरूलाई दिँदै आएका छन्। धेरैजसो राजनीतिक पार्टीहरूले आपराधिक कर्ममा संलग्लहरू समेतलाई आ-आफ्नो स्वार्थमा काख च्याप्ने प्रयत्न गर्दै आएका छन्।

हाम्रो देशको लागि समानुपातिक पद्धति ठिक छैन, बरू खराब प्रवृतिका नेताहरूले आफ्नो कुर्सीलाई सुरक्षित राख्न अपराधीहरूलाई भर्याङ बनाएर आफू सत्तामा विराजमान हुने सुनौलो अवसर पाएका छन्।

देशमा न त समानुपातिक प्रणाली ठिक छ, न संघीयता नै ठिक छ। यी दुवै व्यवस्थालाई अबिलम्बन खारेज नगर्दासम्म देशमा शान्ति सु-व्यवस्था आउन सक्दैन।

संघीयताले देशको आर्थिक अवस्था डमाडोल बनायो। अहिले देश ठुलो ऋणमा छ। देशमा आर्थिक सङ्कटको अवस्था सिर्जित हुँदै आएको छ। विकासको नाममा विदेशी साम्राज्यवादीहरूको देशभित्र चलखेल बढ्दै आएको छ।

खास गरेर अमेरिकfलाई खुसी पार्न विगतमा एमसीसी पारित भएदेखि देशले असंलग्न परराष्ट्र नीति गुमाइसकेको अवस्था छ। आम चुनावमा देशभित्रका ठुला पार्टीहरूको अविश्वासका कारण जनताले नयाँ पार्टी वा स्वतन्त्र व्यक्तिहरूलाई विजय गराए। अहिले कुनैपनि दलको बहुमतमा सरकार नबन्ने अवस्था सिर्जित भयो।

यिनै ठुला दललाई साथ र समर्थन गरेकै कारण स-साना देशभक्त तथा क्रान्तिकारी पार्टी राष्ट्रिय जनमाेर्चा (राजमो) जस्ता शक्तिहरू समेतलाई जनताले नपताएको अवस्था छ। यदि राजमोले देशव्यापी उम्मेदवार उठाएर एक्लै चुनावी मैदानमा गएको भए सोचेको भन्दा बढी सफलता मिल्न सक्थ्यो।

राजमोले लगातार असमान सन्धि-सम्झौता खारेजीको माग गर्दै आएको छ। त्यो मात्रै होइन, एमसीसी र नागरिकता विधेयक जस्ता राष्ट्रघाती विधेयकको लगातार विरोध तथा सम्झौताहिन संघर्ष गर्दै आएको एक मात्र पार्टी राजमो हो।

खास गरी अहिले माओवादी केन्द्रप्रति जनताको अविश्वास प्रष्ट देखिन्छ। देशमा अहिले पनि एमालेलाई जनताले अत्याधिक मत दिएर अगाडि बढाउनुको कारण कतिपय साना दलहरूले आफ्ना उम्मेदवार खडा नगरेर एमालेलाई फाइदा भएको कुरा सत्य हो।

राजमोले गठबन्धनमा सामेल थियो र देशव्यापी उम्मेदवारहरू उठाएको थिएन। राजमोले इमान्दारीपूर्वक चुनावमा गठबन्धनलाई साथ दिए पनि राजमोको गढ मानिने प्युठानमा राजमोलाई हराउन ठुलो षड्यन्त्र भयो। बाग्लुङमा पनि नभएको होइन तर कतिपय विपक्षहरू समेतका शुभचिन्तकहरूको चित्रबहादुर केसी जस्ता राष्ट्रभक्त र क्रान्तिकारीहरूलाई संसदमा पुराउन चाहेका थिए। त्यसैको परिणाम पनि चित्रबहादुरले जित्न सफल भएका हुन्।

जुनसुकै पार्टीले जेसुकै भनेपनि अग्रगमन र प्रतिगमनका मुद्धाहरूमा जनचासो थिएन। गठबन्धनभित्रैका दलहरूले पनि स्वयम् गठबन्धनलाई हराउन षड्यन्त्र गरेकाले पनि त्यो पुष्टि गरेको छ।

अहिले सिके राउत जस्ता व्यक्तिले दोब्बर मतले जित्नु के उनी ठिक भएर हो त? जसकाे उक्साहटमा देशभित्र निर्दोश मारिए, संविधान च्यातियो, देशको झण्डा पोलियो। त्यस्तो व्यक्ति ठिक भएर जितेको होइन, बरू उसकाे प्रतिद्वन्द्वीको अडान ठिक भएकोले सिके राउतलाई सहयोग मिल्यो।

आखिर जनताले देशमा कसलाई छान्ने? जनताहरू अहिलेको निर्वाचनमा दोधारमा परेको देखियो। साँच्चै उनीहरूमा निर्वाचनमा कत्ति पनि उत्साह थिएन। मात्र औपचारिकता पुरा गर्ने उदेश्यले मतदान गरेको देखियो।

चुनावी घोषणापत्र भाषण, आश्वासन सबैका एकैनासे थिए। तर चुनावपछि उनीहरूको व्यवहार देख्दा जनताले आफूलाई ठगिएको महसुस गर्दैछन्। अहिले अपराधीहरूलाई रिहा गर्ने र समानुपातिकमा सांसद चयन जस्ता विषयले जनताहरूमा झनै आक्रोश र निरासा छाएको देखिन्छ। यसले गर्दा पनि संघीयतासहित समानुपातिक प्रणाली समेतको खारेजीको माग पनि थपिएको आभास हुन्छ।

याे लेखककाे निजी विचार हाे।

प्रकाशित मिति: : 2022-12-12 14:22:00

प्रतिकृया दिनुहोस्