सुन तस्करी प्रकरण

वर्षमानकाे प्रष्टीकरण- दावासँग मेराे कुनै सम्बन्ध छैन, दोषी देखिए जेल जान तयार छु

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै पुनले यस्ताे बताएका हुन्।

प्रतिनिधिसभा सांसदसमेत रहेका उनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको दाबी गरे।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको पुनले प्रष्टीकरण दिए।

‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, उनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्रहत्या हो।’

पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए। त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गरे। 

‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भने, ‘हामी नेताहरू, हाम्रा आफन्तहरू वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’

पुनले यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए। ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उनले भने, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ।’

प्रकाशित मिति: : 2023-07-31 13:10:00

प्रतिकृया दिनुहोस्