पूरा भयो मेस्सीको सपना, तत्काल सन्यास नलिने

Photo: Leo Messi
Photo: Leo Messi

आफ्नो खेल करियरमा सात वटा बालोन डिओर, ३८ वटा ट्रफी जितेका र हजार बढी खेल खेल्दासम्म आफ्नो संग्रहबाट हराइरहेको विश्वकप उपाधि जित्न लियोनल मेस्सी सफल भएका छन।

३६ वर्षअघि अर्जेन्टिनालाई डिएगो म्याराडोनाले दोस्रो पटक विश्वकप जिताएका थिए। ३५ वर्षीय मेस्सीले आफूबाट टाढा रहेको उपाधि जित्दै इतिहासकै महान खेलाडीको रूपमा आफूलाई प्रस्तुत गरेका छन।

विश्वकप फाइनलको २३औं मिनेटमा भेट्रन एन्जेल डिमारियालाई ओस्मान डेम्बेलेले बक्समा लडाएपछि पाएको पेनाल्टीको सदूपयोग गर्दै टिमलाई अग्रता दिलाउँदा विश्वको नजर आफूतिर तान्न भ्याए। लुसेल स्टेडियममा हजारौं अर्जेन्टिनाका फ्यानहरूबाट भावनाको बहाव थियो। उक्त गोलसँगै मेस्सी समूह चरण, राउण्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र एउटै विश्वकपको फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन।

खेलको ३६औँ मिनेटमा भेट्रन एन्जेल डिमारियाले गोल गर्दै पहिलो हाफमा टिमलाई २-० को दोब्बर अग्रता दिलाए।

तर, पहिलो हाफमा दोब्बर अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफको अन्तिम १० मिनेट बचाउन नसक्दा खेल बराबरीम फर्कियो। फ्रान्सका केलियन एम्बाप्पेले ८०औं मिनेटमा पेनाल्टीमा र त्यसको एक मिनेटपछि उनै एमबाप्पेले दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काए।

निर्धारित समयमा २–२ गोलको बराबरीमा समाप्त भएपछि अतिरिक्त समय पनि बराबरीमा सकियो। अतिरिक्त समयको १०९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए पनि अन्तिम समयमा अर्जेन्टिनाका खेलाडीको डिबक्सभीत्र ह्यान्ड भएपछि एमबाप्पेले पेनाल्टीमा अर्को गोल गरे। फाइनल खेलमा ह्याट्रिकसहित प्रतियोगिताभर ८ गोल गर्दै फ्रान्सका एम्बाप्पे सर्वाधिक गोलकर्ता बनेका छन।

सन १९६६ मा इङ्ल्यान्डले पश्चिम जर्मनीलाई हराउँदा सर ज्योफ हर्स्टले ह्याट्रिक गरेका थिए।

अतिरिक्त समय पनि बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको छ। प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका लियोनल मेस्सीले गोल्डेन ट्रफी हात पारेका छन र उनको विश्वकप जित्ने सपना पनि पूरा भएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी फिफा विश्वकप– २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनी विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन। उनले यसअघि २०१४ को विश्वकपमा पनि गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए। त्यतिबेला अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो।

मेस्सीले अर्जेन्टिनाबाट तत्काल सन्यास नलिने

आइतबार फ्रान्समाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित हात पार्दै विश्वकप विजेता बनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने बताएका छन।

केही दिनअघि मात्रै ३५ वर्षीय मेस्सीले आइतबारको फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताएका थिए। यद्यपि, आफ्नो करियरको सबैभन्दा ठुलो उपाधि हात पारेपछि मेस्सीले अर्जेन्टिनाका लागि अझै केही समय खेल्न चाहेका छन।

‘मैले छोटो समयमै कोपा अमेरिका र विश्वकप जितेको छु,’ मेस्सीले स्पेनिस सञ्चारमाध्यसँग भने,‘म विश्व च्याम्पियन भएर पनि राष्ट्रका लागि केही समय खेल्न चाहन्छु।’

डिएगो म्याराडोनाले सन १९८६ मा मेक्सिकोमा जित दिलाएपछि अर्जेन्टिनालाई पहिलो पटक विश्व उपाधि जिताउन मद्दत गर्नु आफ्नो ‘बालपनको सपना’ पूरा भएको मेस्सीले बताएका छन।

‘विश्वकप जित्ने मेरो बाल्यकालको सपना हो,’ मेस्सीले भने, ‘म भाग्यशाली रहेछु, यो उपाधि जित्न सफल भएँ।’

यस्तै अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि मेस्सीलाई टिममा राख्न आफू सधैँ आत्तर भएको बताएका छन।

विश्वकप फुटबल : खेल खत्तम, पैसा हजम !

प्रकाशित मिति: : 2022-12-19 08:16:00

प्रतिकृया दिनुहोस्