राजीव विक्रम : समाजसेवादेखि मुख्यमन्त्रीकाे दाैडसम्म

BreaknLinks
BreaknLinks

कर्णालीलाई बेलाबेला रोगव्यथाले सताइरहन्छ। यहाँ वर्षको एक पटक कुनै न कुनै जिल्लामा सामान्य राेगका कारण समेत अप्रिय घटना घटिरहेका छन्। मौसमी रुघाखोकी होस् या झाडापखाला। जसले कयौं नागरिकको ज्यान गइसकेको छ।

सरकारी उदासीनता, अस्पतालको अभाव, भएका अस्पतालमा डाक्टर अभाव, जस्ता कारणले कर्णाली प्रदेश पीडामै छ। राज्यको तर्फबाट मलम लाउने कामसम्म नहुँदा यहाँका नागरिकमा गणतन्त्रमा समेत आफू रैतीमात्र भएकाे महशुस गरिरहेका छन्। विशेषतः जाजरकोट धेरै विपत्तिको शिकार बनिरहेको छ।

यस्तो दर्दनाक स्थिति रहेको जाजरकोटमा राज्यभन्दा एक कदम अगाडि रहेको कोही छ भने त्यसमा राजीव विक्रम शाहको नाम अग्रस्थानमा आउँछ।

जाजरकोटमा झाडा पखालाका बिरामी हुन् या उच्च रक्तस्रावले ज्यान जोखिममा रहेकी महिला, उनी एक्लै हेलिकप्टर रिजर्भ गरेर उपचारमा तम्सिएका थिए।

बिरामीहरुलाई जाजरकोटमै उपचारको बन्दोबस्त गर्न निजी लगानीमा सामुदायिक अस्पताल बनाउन सक्रिय रहेकाले पनि उनको नाम विशेष ढंगले अगाडि आउँछ। उनले यसरी गर्ने व्यक्तिगत खर्च, देशमा ठेक्कापट्टा गरेर, कम काम बढी दाम खल्तीमा हालेर वा प्रशासनिक भ्रष्टाचार गरेर कमाएका होइनन्। न त एनजीओ नै उनकाे कमाई खाने भाँडाे बन्याे।

लामो समय अमेरिका बसेर स्वदेश फर्केपछि राजनीतिमा सक्रिय रहेका उनले निस्वार्थ रुपमा समाजसेवा गरेर विशेष छवि निर्माण गरेका छन्। नेपाली काँग्रेसमा सक्रिय उनी दोस्रो संविधान सभाको निर्वाचनमा जाजरकोट क्षेत्र नं. २ बाट विजयी भएका थिए। तर २०७४ काे निर्वाचनमा भने हार बेहाेर्नु परेकाे थियाे।

उनी मञ्चमा हुँदा भाषण राम्रो गर्दैनन्। राम्राे बाेलेर जनता भ्रमित गर्ने नेतामा पनि पर्दैनन्। उनी काम गर्नेमा पर्छन्। काम गर्नकै निम्ति उनी राजनीतिमा आएका थिए।

विदेशमा पढेर आफ्नाे देशमा आउनेहरु धेरै छन्। तर विदेशमा पसिना बगाएर कमाएकाे पैसा आफ्नाे देशकाे समाजसेवामा लाउनेहरु औँलामा गन्ने पनि छैनन्। ती नगन्य व्यक्तिहरुमा एक हुन्, राजीव विक्रम।

उनकाे मनमा देशको लागि केही गरौं भन्ने भावना। नेपाल फर्केपछि काठमाडौँको सबै व्यापार छाडेर पिछडिएको क्षेत्रबाट चुनाव लड्न आउनु र त्यहीँबाट काम गर्ने काेसिस गर्नु उनकाे सबल पक्ष हाे।

नेपालमा भागबन्डा राजनीतिकाे महत्वपूर्ण अंग बनाइएकाे छ। दलीय व्यवस्थाले बसालेकाे रित सितिमिति परिवर्तन हुनेवाला छैन। तर भागबण्डामा समेत अलग सिस्टम बसाल्नु पर्ने राय दिन्छन् उनी।

'दलहरुले भागबन्डाबाट पठाउनुपर्ने क्षेत्रमा सम्बन्धित क्षेत्रकाे विशेषता हासिल गरेकाे मान्छे चाहिन्छ। मेरो कार्यकर्ता एड्जष्ट गर्ने ठाउँ यहि हो भन्ने मानसिकता त्याग्नुपर्छ,' उनले भने, 'चक्कु चलाउने मान्छेलाई शल्यक्रिया गर्न जाउ भन्याे भने के हाेला?'

उनी यतिबेला कर्णाली प्रेदशसभा सदस्यमा विजयी भएका छन् भने मुख्यमन्त्रीकाे रेसमा छन्। मुख्यमन्त्री जीवनबहादुर शाही पनि उही म्याराथनमा सामेल छन्।

यता, कतै भाग नपाउने सम्भावना भएकाे माओवादी पनि कर्णाली ताकेर बसेकाे छ। यस्ताे अवस्थामा मुख्यमन्त्री काे हाेला भन्ने कुरा परिपक्व भई गर्भमा बसेकाे छ।

यति हुँदा पनि राजीव विक्रम भने स्वच्छ र निष्कलंकित छवि भएका सक्षम नेतृत्व हुन्। त्यसैले उनले मुख्यमन्त्री पाएकाे खण्डमा कर्णालीलाई दलीय व्यवस्थाले न्याय गरेकाे नै मानिनेछ।

प्रकाशित मिति: : 2022-12-19 15:21:00

प्रतिकृया दिनुहोस्