पिँजडाभित्र थुनिएका स्वतन्त्र सांसदहरू

सुदिप बराल

काठमाडौं

पूर्वसञ्चारकर्मी रवि लामिछाने एउटा अग्लाे कठघरामा छन्। राजनीतिक वृत्तमा थप चासाे छ– काे हुन् रवि? के हुन् रवि? पहिलो चुनावबाटै कसरी बजाए 'घन्टी'? लुकिछिपी भारतीय दूतावास किन पठाउँछन्, 'दूत'? भनिन्छ, बिहानीले दिउँसोको संकेत गर्छ। भर्खरै नेपाली राजनीतिकाे रंगमञ्चमा उदाएको रास्वपा र लामिछानेकाे एकखाले हिसाबकिताब भइरहेकाे छ।

सामान्य प्रश्न– उनी स्वतन्त्रताको पक्षमा छन्? पूर्ण प्रजातान्त्रकाे वकालत गर्छन्? आफूलाई रुपान्तरण, पारदर्शिता र सुशासनकाे कित्तामा उभ्याइराख्न सक्लान्? कि जनताकाे सराेकार बाेकेर संसद भवन छिरेका आफ्नै सहकर्मीहरूकाे मुख थुन्लान्?

सांसद रवि लामिछानेकाे ताैरतरिका र रवाफ–जवाफ हेर्दा लाग्छ, उनी एउटा ठूलाे भ्रमभित्र बाँचिरहेका छन्। र, पुगनपुग तीन कराेड जनतालाई मुर्ख बनाइरहेका छन्। यसाे भन्दा फरक नपर्ला लामिछाने निरंकुश छन्, स्टन्टबाज हुन्। भक्तहरू खूब् उफ्रेलान् तर उनी आफैले यस्ता तमास प्रश्नहरूकाे उत्तर दिन सकिरहेका छैनन्।

पुराना दलहरूबाट आजित नेपाली मतदाताले लामिछानेकाे भ्रममा लठ्ठिएर 'घन्टी'मा भाेट हाले। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदकाे तल्लाे सदनमा २० सिटको जिम्मेवारी दिए। तर आम जनताले आफ्नाे दबिएकाे आवाज बोल्न सदनमा पठाएका सांसदहरूकाे मुखमा टेप टाँसिदिएका छन्। ढाडमा डण्डा बर्साएका छन्। उनै सहकर्मीहरूलाई पिँजडामा थुनेका छन्।

आफू मिडियामा हुँदा पुराना पार्टीहरूमा निरकुंशता मौलाउँदै गएको भन्दै चर्को आलोचना गर्ने सभापति लामिछाने आफू राजनीतिमा भित्रेसँगै झन्–झन् निरकुंश बन्दै गएका छन्। उनको पार्टीले सांसदहरूलाई ‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल’मा प्रतिबन्ध लगाएको छ। मानाैँ– उनी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका नयाँ केपी ओली वा प्रचण्ड हुन्।

‘मिडियामा गएर नबोल्नू भनिएको छ। सपथ नलिएसम्म नबोल्ने रे! रवि दाइको सन्देश भन्दै महामन्त्रीज्यूले अफिसमै बोलाएर उर्दी दिनुभयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसदले बिएल नेपाली सेवासँग भने, ‘हाम्रा रवि दाइ त ओली र प्रचण्डभन्दा पनि खतरनाक निस्के? खै कतिदिन चल्ला र याे पार्टी?’


रवि लामिछानेको राजनीतिक यात्राबारे के भन्छन्, सर्वसाधारण ?

रवि लामिछानेलाई अर्को झट्का: पार्टीको नाम, झण्डा र चुनाव चिन्ह नै विवादमा

देउवासामु उमेश श्रेष्ठको गुनासोः गगनले मलाई हराए, रवि लामिछानेलाई जिताए


मिडियामा अन्तर्वार्ता दिँदा मनलाग्दी विचार प्रवाह गरेपछि सांसदहरूलाई आफूखुसी बोल्न रोक लगाइएको एक पदाधिकारीले पुष्टि गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरूबीच सार्वजनिक ‘बोलीमा एकमत’ नुहँदा सामाजिक सञ्जालमा वाद–विवाद भइरहेको छ। पार्टी एउटा हल हाे। बैठक एउटा मञ्च हाे। स्वभाभाविरूपमा त्यहाँ विवाद, छलफल हुन्छ। तर लामिछानेले आफूविरूद्ध नबाेल्न चेतावनी दिएका छन्।

नवनिर्वाचित सांसदहरूले ‘सार्वजनिक खपतका लागि जथाभावी बोल्दै हिँडेपछि’ थप अंकुश लगाउन बाध्य भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जनाएका छन्। सांसदहरूलाई सार्वजनिक मिडियामा बोल्न लगाम लगाएका महामन्त्री आफै भने बेलगाम घोडाझैँ भारतीय दूतावासको ढोकाढोका चाहार्दै हिँडेका छन्।

महामन्त्री ढकाल शनिबार दिउँसो भारतीय दूतावास र खुफिया एजेन्सी ‘रअ’को एउटा गोप्य संवादमा सामेल भए। तर भारतीय राजदूत नवीन श्रीवास्तवले भेट नदिएपछि दूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव र ‘रअ’का उच्च अधिकारी अनिल गिरिलाई भेटेर उनी फर्किएको दुतावास निकट स्रोतले जनाएको छ।

त्यसो त नागरिकता विवादकै कारण प्रश्नहरूले घेरिएका सभापति लामिछाने चुपचाप छन्। यतिबेला जनताले प्रश्न सोधिरहेका छन्। तर उनी प्रश्नबाट भागिरहेका छन्। लामिछाने तारिफ रूचाउँछन्, प्रश्नदेखि डराउँछन्। गाेजीका मिडियामार्फत् आफ्नो प्रचार गर्छन्। यूट्यूबर बाेकर 'भाइरलम्यान' पुण्य गाैतम शैलीमा भेटिन्छन्।

हिजोका एउटा स्टार सञ्चारकर्मी आज गुमनाम छन्। दुनियाँलाई तमाम प्रश्नकाे उत्तर खोज्दै, तर्साउँदै, थर्काउँदै, नाकको डाँडी भाच्नुपर्छ भनेर सिकाउने सांसद लामिछाने कैयाैँ प्रश्नको घेरामुनि लुक्न बाध्य छन्। उनी यस्ता पात्र हुन्, जसले कारणबस जवाफ दिन सकेन भने दोषी नै करार गरिदिन्थे। उनै लामिछाने प्रश्नदेखि डराएर भागिरहेका छन्। उनकै शैलीमा भन्नुपर्दा सायद उनले आफूलाई दोषी स्वीकार गरिसके।

सभापति र महामन्त्री पार्टीमा छलफल नगरी राजनीतिक भेटघाटमा दौडिरहेका छन्। पार्टी र सांसदलाई उनीहरूले निरीह बनाएका छन्। आफ्नो नियन्त्रणमा राखेका छन्। एउटा स्वतन्त्र पार्टीभित्र निरंकुशता लादेका छन्। पार्टी कमिटीमा पनि उनीहरूकै मनपरी छ। सांसद र पार्टी कमिटीलाई उनीहरूले 'एसम्यान' बनाएका छन्।


रवि लामिछानेका ‘दूत’ किन पुगे भारतीय दूतावास ?

'घन्टी'बाट काे–काे बन्दैछन् समानुपातिक सांसद ?

समानुपातिक सांसद चयनमा 'रवि लामिछानेले चलखेल गरेपछि' पार्टी कार्यालयमा प्रदर्शन


‘जनताको भारी मतबाट निर्वाचित हामी स्वतन्त्र सांसदहरूलाई रवि दाइ र मुकुलजीसामु ‘एसम्यान’ बनाउने प्रयास गरियो। यतिसम्म साँघुरो सोच राखेर हामी कहाँ पुग्छौँ? यसरी पनि पार्टी चल्छ, हेरौँ आगामी समय कसरी बित्छ,’ समानुपातिकबाट निर्वाचित एकजना सांसदले भने।

सभापति लामिछाने सत्ता स्वार्थकाे दाैडमा छन्। मन्त्रीकाे लाेभमा छन्। सरकारमा जान लालायित छन्। दलहरूको उपेक्षामा परेका उनी जबरजस्ती 'सरकारमा लगिदिनुहाेस् न हजुर' भन्दै बालकाेटदेखि खुमलटारसम्म कुदिरहेका छन्। लामिछानेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार राति भेटवार्ता गरेका थिए। लगत्तै निर्वाचनमा अदृश्य सहकार्य गरेका नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग पनि भेटिसकेका छन्। स्राेतका अनुसार प्रचण्डसँग पनि तीनपटक भेटिसकेका छन्।

जनतामाझ पुराना वैचारिक शक्ति अर्थात् भ्रष्ट र दलसँग मिल्दैनौँ, भ्रष्टाचारको छानबिन गर्छौ भन्दै मत मागेका उनी अहिले सरकारमा तीनै पुराना दलसँग सहकार्यको भिख माग्दै हिँडिरहेका छन्। जनताको विश्वासमा कुठाराघात गर्दैछन्। जनतालाई धोका दिँदैछन्।

निर्वाचनपूर्व पार्टीभित्र आन्तरिक प्रजातन्त्रको नाटक मञ्चन गरेको रास्वपाले संसदीय दलकाे नेता छान्दा भूमिगत शैली पछ्यायाे। बाँकी सदस्यहरूले तरर... ताली पिटे। गाेप्य बैठक सकियाे। त्यति मात्रै हाेइन समानुपनतितर्फ आफ्ना मान्छेलाई सांसद बनाएपछि पार्टीभित्रै असन्तुष्टि तीव्र छ।

राजनीतिक जीवनको सुरूआती चरणमै सभापति र महामन्त्रीको अनावश्यक हस्तक्षेप र नचाहिँदो ‘पावर शो’का कारण राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्यप्रति अनेकौँ प्रश्नहरू उब्जिएका छन्।

प्रकाशित मिति: : 2022-12-19 22:30:00

प्रतिकृया दिनुहोस्