बालेनको मूर्खता: नेवार समुदायलाई उचालेर भाँड्दैछन् काठमाडाैँ

काठमाडौँ महानगरपालिकाले थापथलीकाे सुकुम्बासी बस्ती खाली गर्न दिएकाे म्याद सकिनै लाग्दा मेयर बालेन्द्र साह (बालेन)का अँध्यारा रहस्यहरु बाहिरिँदै गएको छन्। गत मंसिर १२ मा सुकुम्बासी बस्तीको प्रवेशद्वार अगाडि महानगरले भूमिहीनहरुमाथि गरेको अपराधको पछाडि बालेन्द्रकाे व्यक्तिगत रिसिबी र लाभ भएको एक विश्वसनीय स्रोतले जनाएको छ। ‘मंसिर १२ काे त्यो घटना हुनुअघि उनले(बालेन्द्र) तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण समक्ष गएर प्रहरीको माग गरेका थिए,’ स्रोतले बताए।

महानगरकाे टाेलीले दुई सय नगर प्रहरी, छ डोजर र एउटा एम्बुलेन्स लिएर सुकुम्बासी बस्तीमा छिर्दै गर्दा बालेन्द्रले भने काेटेश्वरमा दुई वटा होटल बुक गरेर राखेकाे स्राेतकाे दाबी छ। स्राेतकाअनुसार सुकुम्बासी बस्तीकाे लफडाकाे अगुवाई गर्नेहरुलाई संरक्षणकाे लागि बालेन्द्रले हाेटल बुक गरिएका थिए।


सुकुम्बासी बस्तीमा घाइते भएकी झरना भन्छिन्– राजु पाण्डेले ५० लाख खाए (भिडियाेसहित)


तथापि, घटनापछि याेजना असफल भएकाे भन्दै मेयर बालेन्द्र झनै आक्रमक बन्न थालेकाे छन्। ‘म जसरी पनि त्यहाँकाे सुकुम्बासी बस्ती हटाउँछु,’ बालेन्द्रले महानगरकाे बैठकमा बताएकाे भनाइलाई उदृत गर्दै स्राेतले भन्याे। राष्ट्रिय भूमि आयोगले पहल गरेको ‘भूमिहीन व्यवस्थापन योजना’मा सहकार्य गर्नुको सट्टा आफूखुसी आहंकारको प्रेरणामा सुकुम्बासी सफाइ अभियानमा बालेन्द्र साह हिँडेको देखिन्छन्।

भदौ २१ देखि भूमि आयोगले ‘अव्यवस्थित बसाेबासीले दिने निवेदन फारम’ वितरण गर्दै सक्कली सुकुम्बासी पहिचान गर्ने योजना पेश गरेको थियो। त्यस अभियानअन्तर्गत काठमाडाैँ महानगरलगायत काठमाडौँ जिल्लाका सबै नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी फारम वितरण गर्ने प्रावधान थियो। लगभग सबै नगरपालिकाले आयोगको निर्देशन पालन गरिसक्दा बालेन्द्र भने आफ्नो जिद्दीपनामा अडिक छन्। उनले न त आयोगको निर्देशन स्वीकार गरेका छन्, न त समस्याको कुनै उचित विकल्प पेश गरेका छन्।

बरु उनी नेवा: समुदायलाई भूमिहीनविरुद्ध ‘प्रतिकार’ गराउने आदेश दिएर बैठक बस्दै छन्। बालेनको यस्तो क्रियाकलापले दंगा मच्चाएर आफ्नो स्वार्थ पूरा गर्ने मानसिकता झल्काउँछ।

नेपाल खड्गी सेवा समितिका संरक्षक, मनोज नेवा खड्गी र नगर प्रमुख बालेन्द्र साहबीच मंगलबार वार्ता भएको थियो। उक्त वार्तामा खड्गीले साहलाई बुझाएको ऐक्यबद्धता पत्रमा, ‘७७ जिल्लाकै नागरिकहरु जीविकोपार्जनका अवसरहरु खोज्न काठमाडौँमा बसोबास गर्न आइरहेका छन्। यी विभिन्न अवस्थाहरुका कारण काठमाडौँमा जनसंख्याको चाप अत्याधिक रुपमा बढ्न गई यहाँको सहरीकरण, पर्यावरण आधारभूत सुविधाहरुमा असन्तुलन उत्पन्न हुनुका साथै नगरको संस्कृतिक पहिचानमाथि समेत चुनौती थपिन पुगेको छ,’ लेखिएकाे छ।

मेयर बालेन्द्र र नेपाल खड्गी सेवा समितिको ऐक्यबद्धताअनुसार काठमाडौँ यहाँका आदिबासीको लागि मात्र हो भन्ने बुझिन्छ। राम्रो जीवनस्तरको लागि बाहिरी जिल्लाबाट काठमाडौँ आउनेहरुको लागि महानगरका मेयरले रोक लगाउने अधिकार छैन। देशको संविधानमा समेत नभएको प्रावधानलाई लिएर मेयर साह प्रतिबद्धताका साथ सुकुम्बासी बस्ती हटाउन लागिपरेका छन्। उनको क्रियाकलाप निरीक्षण नगर्ने हो भने निकट भविष्यमा आप्रवासीहरुलाई पनि काठमाडौँबाट नलखेट्लान भन्ने सकिन्न।

नेवा: समुदायलाई रिझाउन उनले नेवार समुदायको संख्या धेरै भएको वडामा व्ह्वार-व्हारती बजेट खन्याएको स्रोतले बतायाे। ‘३ करोड बजेट भएको वडामा ६ करोड पारिदिए, ५ भएको ठाउँमा १० र ४ भएको ठाउँमा ८ बनाइदिए। ठ्याक्कै डबल बजेट पारेर वडा अध्यक्षलाई बालेनले आफ्नो हातमा लिएको छ,’ स्रोत भन्छन्।

बालेन्द्रले महानगरको बजेट आफूखुसी जथाभावी बाँडिरहँदा अख्तियारलगायत सम्बन्धित निकाय हातमा हात राखेर बसिरहेको छ। ‘बालेन त राजा भइहाल्यो नि। उसलाई कसले के गर्न सक्छ र अब ?,’ स्रोत भन्छन्,‘नेवाहरुलाई चाहिँ किन प्रयोग गरिरहेको छ, म बुझ्न सक्दिनँ। हिजो उनीविरुद्ध बोल्ने नै नेवार समुदाय थियो।’

काठमाडौँमा नेवा: समुदायको संख्या धेरै भएको हुनाले उनले हरेक क्रियालाई समर्थन गर्न नेवा: समुदाय परिचालन गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ। काठमाडौँ उपत्यकाको चौतर्फी विकासको लागि छुट्याइएको बजेट छानी-छानी नेवा समुदाय धेरै भएको वडामा खन्याउने कदमको पछाडि उनको व्यक्तिगत लाभबाहेक अरु केही नभएको देखिन्छ।

चुनावको समयमा ‘गरीबको मसिहा’ बनेर उपस्थित भई भारी मतले जितेर मेयरको पदभार गरेदेखि गरीब र दुःखीलाई मात्र आफ्नो घमण्डले पेलिरहेका छन्, बालेन्द्र साह। चुनावी मैदानमा उत्रिँदा उनको लोकप्रियता जति थियो, हालको समयमा उनको लोकप्रियता ओरालो लागेको छ। स्वार्थ र घमण्डको कारण एकपछि अर्को विवादमा मुछिँदै आएपछि जनमानसमा उनीप्रतिको धारणा नकारात्मक हुँदै आएको छ।

विकासको कामभन्दा धेरै तोडफोडको काम गरेका हुनाले बालेनको क्षमातामाथि जनताले शंका गर्न थालेका छन्। विकास र शुद्धिकरणको योजना आफूभन्दा उच्च निकायले पेश गर्दा समन्वय गर्नुको सट्टा उल्टै बेवास्ता गरी आफूलाई जे ठिक लाग्यो त्यही गर्दै हिँडने हुनाले उनीप्रतिको भरोसा जनताबाट हराउँदै गइरहेको छ।


सुत्केरी नगर प्रहरीले 'ड्युटी' मिलाइ माग्दा एसपी राजु पाण्डेको जवाफ: 'तैँले मेरो बच्चा पाको होस् र ?'


आफ्नै कार्यालयभित्र आफूले नियुक्त गरेका नगर प्रहरी बल प्रमुख एसपी राजुनाथ पाण्डेमाथि लैंगिक हिंसा, भ्रष्टाचार र दुर्व्यवहारजस्ता जघन्य अपराधको आरोप लाग्दा अनुसन्धान गरेर कारवाही गर्नुको सट्टा उल्टै पीडितले दिएको निवेदन महानगरले लुकाएपछि उनको नेतृत्वमाथि नै आशंका पैदा भएको छ। संगठनभित्र भएको बेतिथि र दुर्व्यवहारको बारेमा संगठनकै सई लोकनाथ चुडालले खुलासा गर्दासमेत महानगर र नगर प्रमुख बालेन्द्र चुप लागेर रमिता हेर्दै बसे। उल्टै आरोपित एसपी पाण्डेलाई ‘नगर गौरव’ पुरस्कारबाट सम्मान गरियाे।

सम्बन्धित निकायसँग समन्वय नगर्ने उनको स्वभाव भने प्रचलित छ। केही महिनाअघि कमलपोखरी क्षेत्र वरपर पुरातात्विक विभागको क्षेत्रधिकार अन्तर्गतपर्ने एक सय वर्ष पुरानो टुकुचा पुनर्स्थापना गर्ने उद्देश्यले उत्खनन गरेका थिए। उचित अनुमति र सल्लाहबिना त्यो काम गर्दा अहिले खनेको ठाउँको जमिन भासिने मात्र नभई ढल फुटेर दुर्गन्धित हुन थालेको छ। यदि त्यो समयमा उनले पुरातात्विक विभागसँग समन्वय गरी सल्लाह-सुझाव अनुसार पुनर्स्थापनाको काम गरेको भए अहिले कमलपोखरीस्थित जय नेपाल हलको परिसर जीर्ण अवस्थामा हुँदैन थियो।

त्यस्तै सुकुम्बासी बस्तीमा पनि राष्ट्रिय भूमि आयोगले पहल गरेको योजना अनुरुप बस्ती व्यवस्थापन अभियान सुरु गरेको भए मंसिर १२ गते दर्जनौँ घाइते हुँदैन थिए। आयोगले प्रकाशन गरेको निवेदन फारम भर्ने म्याद सकिन अब १४ दिन मात्र बाँकी हुँदा समेत बालेनको ध्यान त्यतातिर केन्द्रित छैन। उल्टै उनी विभिन्न समुदायसामु भूमिहीनविरुद्ध प्रतिकार गर्ने आदेश लिएर भेटवार्ता गर्न एकतर्फी रुपमा लागि परेका छन्।

मेयर बालेनलाई बुझाएकाे ऐक्यबद्धता पत्र:

प्रकाशित मिति: : 2023-01-04 19:00:00

प्रतिकृया दिनुहोस्