पाल्पामा बस दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, १८ घाइते

पाल्पाको खुसार्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।

रैनादेवि छहरा गाउँपालिका–८ खुसार्नेमा भएको दुर्घटनामा एकैगाउँका ६ जना महिलाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्नेकाे मधुवन टारीफाँट नजिकै राधादी गैरामा गएराति १० बजे दुर्घटना भएको स्थानीयले जनाएका छन्।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा–८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिएका छन्। मृतक एकजानको पहिचान भएको छैन।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिएका छन्। दुर्घटनाका घाइते १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-01-06 06:55:00

प्रतिकृया दिनुहोस्