प्रचण्डका ज्वाइँले अवसर खोज्दा मन्त्री बन्नबाट बञ्चित हुँदै उप्रेती

BreaknLinks
BreaknLinks

राजनीतिक रुपमा कुनै नाटकीय घटना नभए प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्दै छ। एकअर्काका प्रतिस्पर्धी भएर चुनावमा गएका नेकपा एमाले र माओवादी अहिले सत्ता साझेदार दल बनेका छन्।

प्रदेश १ का प्रदेश प्रमुखले पुस २४ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई आह्वान गरेसँगै मन्त्री बन्नका लागि प्रदेश संसदहरुको दौडधुप बढ्दै गएको छ।

नयाँ बनेको गठबन्धनको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रभित्र भने यतिबेला मन्त्री बन्ने विषयलाई लिएर आन्तरिक विवाद बढ्दै गएको छ। लामो समयदेखि पार्टी राजनीतिमा योगदान दिएका भन्दा पनि नयाँ आएकाहरुबाट मन्त्री दावी हुन थालेपछि माओवादीमा विवाद बढ्दै गएको हो। 

प्रदेशमा मन्त्री बन्नका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्य अघि सरेपछि विवाद चर्कँदै गएको छ। आचार्य दोस्रो प्रयासमा मोरङ क्षेत्र नम्बर ६ को प्रदेश १ बाट निर्वाचित प्रदशसभा सदस्य हुन्। नाताले आचार्य प्रचण्डका कान्छा ज्वाइँ हुन्। प्रदेशमा आचार्यले मन्त्री पदका लागि दावी गरेसँगै लामो समयदेखि पार्टी राजनीतिमा लागेकाहरु मन्त्री बन्नबाट बञ्चित हुने देखिएको छ।

प्रदेशको मुख्यमन्त्री दावी गरेपनि पाउने सम्भावना कम रहेको माओवादीले साविकको लिम्बुवान, किराँत र कोचिला राज्यबाट सन्तुलन मिलाएर सरकारमा पठाउने तयारी गरिरहेको छ। माओवादी स्रोतका अनुसार लिम्बुवानबाट दुर्गाप्रसाद चापागाईं, किराँतबाट राजेन्द्र कार्की, उदयपुरका नारायणबहादुर मगर र कोचिलाबाट मोरङका गणेश उप्रेतीलाई मुख्य दाबेदारका रुपमा हेरिएको छ।

तर, आचार्यको दावीले उप्रेती मन्त्रीको लिस्टमा नअटाउने भएपछि माओवादीमा विवाद चर्किएको नेताहरुले बताएका छन्। मन्त्री बन्नका लागि आचार्यले केन्द्रमा लबिङ गरेको र नभई नछाड्ने अडान लिएको माओवादीका एक नेताले बताए। ती नेताले भने, ‘प्रदेशका लागि हाम्रो पार्टीबाट लगभग नाम तयार भइसकेको थियो तर, केन्द्रीय दवावका कारण नाम हेरफेर हुने अवस्था आएको छ।’

तुलनात्मक रुपमा पनि पार्टी राजनीतिमा आचार्यभन्दा उप्रेती लामो सायदेखि क्रियाशील छन्। उप्रेती २०५३ सालदेखि माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी हुँदै राजनीतिमा होमिएका हुन्। २०५५ सालमा बीएड पढ्दा इलाम क्याम्पसको स्ववियु सचिव बनेका उप्रेती २०६० सालमा पार्टीको इलाम सचिव भए। ०६१ सालमा मोरङ जिल्ला इन्चार्ज भए। त्यसबेला शिवकुमार मण्डल सहइन्चार्ज थिए। मण्डल यसअघि तीनपटक प्रतिनिधिसभा सदस्य र मन्त्रीसमेत भइसकेका छन्। प्रदेश कमिटी सचिव रहेका उप्रेती यसपटक तेस्रो प्रयासमा निर्वाचित भएका हुन्।

२०७० को संविधानसभा सदस्यको निर्वाचनमा पराजित भएका उप्रेती २०७४ बाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए। तर, पराजित भएका थिए। यसपटक भने उनी मोरङ क्षेत्र नम्बर २ को प्रदेश (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

यता, आचार्य भने प्रचण्डकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरेपछि मात्र पार्टीसँग नजिक भएका हुन्। उनले पार्टीको कुनै जिम्मेवार कमिटीमा नभएपनि २०७४ सालमा टिकट पाएका थिए। ०७५ मा एकैपटक पार्टीको प्रदेश कमिटी सदस्य बनेका आचार्य हाल माओवादीको केन्द्रीय सदस्य छन्।

मन्त्री बन्ने लगभग पक्कापक्की भएका उप्रेतीले आचार्यको दावीसँगै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। उनले लेखेका छन्, ‘राजनिती गर्नेहरुले राजनैतिक निर्णय र राजनैतिक पहलकदमी लिएकै राम्रो! त्यसभित्र अराजनैतिक र मूल्य मान्यता नाघेर निर्णयहरु लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन।’ पार्टीमा आफू पटकपटक अन्यायमा परेको भन्दै यसपटक आफूलाई नेतृत्वले न्याय दिनुपर्ने उनको भनाई छ।

नेकपा माओवादी प्रदेश १ का संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले भने मिडियाहरुमा आएजस्तो विवाद आफ्नो पार्टीमा नभएको बताएका छन्। कुनै व्यक्तिको विषयमा छलफल नभएको भन्दै अफवाहको पछि नकुद्न उनले अग्रह गरेका छन्।

मन्त्रीका विषयमा मोरङका दुई नेताबीचको विवादलाई घुमाउरो तरिकाबाट सम्बोधन गर्दै आङ्बोले फेसबुकमा लेखेका छन्, ‘सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारहरुको साझेदारी र बाँडफाँडमा कुनै निर्णय र सहमति भइसकेको छैन।’

केन्द्रीय स्तरमा सहमति हुने विषयकै टुंगो नलागी प्रदेशमा औपचारिक र निर्णायक छलफल नभएको उनले बताए। ‘प्रदेश पार्टी कमिटी र संसदीय दलभित्र कोही व्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीको बारेमा कुनै छलफल भएको छैन। माथिल्लो कमिटीबाट पनि कुनै त्यस्तो निर्देशन आएको छैन,’ उनले लेखेका छन्।

प्रकाशित मिति: : 2023-01-06 21:55:00

प्रतिकृया दिनुहोस्