यी हुन् सात प्रदेशका नयाँ मुख्यमन्त्री

प्रवेश बिष्ट

विराटनगर 
BreaknLinks
BreaknLinks

बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सातवटै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। 

प्रदेश १, बाग्मति र गण्डकीमा यसअघिनै मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण पनि भइसकेको छ।

एकाएक राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण नेपाली कांग्रेस सत्तापक्षबाट प्रतिपक्षमा मात्र पुगेको छैन्, सातै प्रदेशमा सरकारसमेत गुमाएको छ। सातवटै प्रदेशमा हाल कायम रहेको गठबन्धनबाट मुख्यमन्त्री बनेका छन्।

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री पाएको छ। बाग्मती र कर्णालीमा माओवादीले पाउँदा मधेस प्रदेशका जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री पाएको छ।

प्रदेश १ : हिक्मतकुमार कार्की

प्रदेश नम्बर १ का नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका छन्। उनले गत सोमबार शपथग्रहण गरिसकेका छन्। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्की झापाको क्षेत्र नम्बर ५ को प्रदेश १ बाट दोस्रो पटक निर्वाचित भएका हुन्।

प्रदेश सरकारको पहिलो साढे तीन वर्ष उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। प्रदेशसभाका ९३ संसदमध्ये ६० जनाको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। कार्कीलाई एमालेका ४० सहित नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका एक संसदको समर्थन छ।

प्रदेश १ मा आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने अडान राख्दै सत्ता साझदेर दल नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने भएपछि उनले माओवादी विना सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन्। कार्कीले एमाले, राप्रपा र जसपाबाट एक÷एक जनालाई मन्त्री नियुक्त गरेका हुन्।

मधेस प्रदेश : सरोजकुमार यादव

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव नियुत्त भएका छन्। उनलाई बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुत्त गरेका हुन्।

अघिल्लो कार्यकालमा मधेस प्रदेशको सभामुख रहेका यादव ६ दल र २ जना स्वतन्त्र संसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका ८ र २ जना स्वतन्त्र गरी ६३ संसदको समर्थन छ।

यादव बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन्। केन्द्रीय सहमतिका आधारमा उनी पहिलो साढे दुई वर्ष मुख्यमन्त्री बन्नेछन्। त्यसपछि सत्ता साझेदार जनमतबाट मुख्यमन्त्री बन्ने केन्द्रीय सहमति छ।

बाग्मती प्रदेश : शालिग्राम जम्मरकट्टेल

नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बाग्मती प्रदेशको मुख्यमन्त्री बनेका छन्। उनले मंगलबार शपथग्रहण गरिसकेका छन्। जमकट्टेलले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापा मन्त्रीसमेत नियुक्त गरेका छन्।

उनलाई नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन्। मुख्यमन्त्री जम्मकट्टेल धादिङ क्षेत्र नं १ को प्रदेशसभा १ बाट दोस्रो पटक निर्वाचित भएका हुन्। अघिल्लो पटक पनि मुख्यमन्त्रीको लाइनमा भए पनि बन्न सकेका थिएनन्।

केन्द्रीय गठबन्धनको भागबन्डा अनुसार बाग्मती प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो चलाउने सहमति छ। सोही अनुसार जम्मकट्टेल करिब साढे दुई वर्ष बाग्मतीको मुख्यमन्त्री कायम रहेछन्। त्यसपछि एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्नेछन्।

गण्डकी प्रदेश : खगराज अधिकारी

गत सोमबार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गरिसकेका छन्। प्रदेशमा उनले तत्कालका लागि तीन जना मन्त्री नियुक्त गरेका छन्। नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङ उनको मन्त्रीमण्डलमा छन्। उनीहरु बिना विभागीय मन्त्री हुन्।

संघीय सरकारको गृहमन्त्री र स्वास्थ्यमन्त्री भइसकेका अधिकारी मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा झरेका थिए। उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा स्वतन्त्र संसद दीपक मनाङेको समर्थन छ।

कास्कीको निर्वाचन क्षेत्र १ को प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा अधिकारीलाई ३३ संसदले समर्थन गरेका छन्।

लुम्बिनी प्रदेश : लीला गिरी

नेकपा एमालेका नेता लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। ८७ सदस्यीय प्रदेशसभामा उनलाई ५८ जना प्रदेशसभा सदस्यको समर्थन छ।

एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार÷चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन÷तीन र दुई स्वतन्त्र संसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।

नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका गिरी रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेश १ बाट दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्यमा हुन्। अघिल्लो कार्यकालमा उनले प्रदेशको उद्योग वन, पर्यटन, वातावरणमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी निभाएका थिए।

कर्णाली प्रदेश : राजकुमार शर्मा

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। बुधबार माओवादी र एमालेबीच कर्णाली सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएसँगै उनी २५ संसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ जना आवश्यक पर्छ।

शर्मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत हुन्। उनी रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। कर्णालीमा माओवादी र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ। पहिलो साढे दुई वर्ष माओवादीका शर्मा र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नेतृत्व गर्ने गरी सहमति भएको छ।

सुदूरपश्चिम प्रदेश : राजेन्द्रसिंह रावल

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। २९ जना संसदको समर्थनमा उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

रावललाई एमाले १० सहित माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपा एक गरी २९ संसदको समर्थन छ। एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज समेत रहेका रावल समानुपातिक प्रदेश सभा सदस्य हुन्।

केन्द्रीय भागबन्डा अनुसार सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमतिअनुसार पहिलो साढे दुई वर्ष रावल मुख्यमन्त्री हुनेछन् भने त्यसपछि माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्नेछन्।
 

प्रकाशित मिति: : 2023-01-11 21:55:00

प्रतिकृया दिनुहोस्