लुम्बिनीमा मन्त्री छान्न केन्द्रीय नेतृत्वको हस्तक्षेप, भागबण्डामै अलमल

मुख्यमन्त्री नियुक्ति भएको तीन दिनसम्म पनि लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डा टुंगिन सकेको छैन।

लुम्बिनी प्रदेशमा गत बुधबार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता लिला गिरीले बिहीबार शपथ ग्रहण गरेका थिए। मुख्यमन्त्री गिरीसँगै तीन जना मन्त्रीलाई विनाविभागीयको रुपमा शपथ ग्रहणसमेत गराइएको थियो।

तर मन्त्रालय भागबण्डा टुंगिन अझै ५–७ दिन लाग्ने नेताहरुले बताएका छन्। खासगरी मन्त्रालय भाण्बण्डामा केन्द्रकै नेताको भर पर्नु परेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालय भागबण्डा गरिदिएमा सहज हुने आशमा नेताहरु बसेका छन। त्यसमा पनि माओवादी केन्द्रले मन्त्रालय भागबण्डामा केन्द्रीय नेताकै निर्णयको प्रतिक्षामा छन्।

माओवादी नेता सुदर्शन बरालले माथिबाटै सहमति बनेर आएपछि मन्त्रीहरु नियुक्त हुने बताए। 'मन्त्रालय भागबण्डा माथिबाट टुंगिएर आयो भने सजिलो हुन्छ, अब केही दिनमा आउला', उनले भने।

एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भने स–सानो कुरामा समेत केन्द्रकै मुख ताक्ने प्रवृत्ति गलत रहेको बताए। यहाँ टुंगो लगाउन नसकेपछि केन्द्रकै मुख ताक्नु स्वाभाविक भएपनि यसले गलत परिपाटीको विकास गर्ने उनको भनाई छ।

 

प्रकाशित मिति: : 2023-01-13 15:59:00

प्रतिकृया दिनुहोस्