सय किलो सुन बरामद प्रकरण

हतासिएका मलहोत्रा र सुनको साइनो 

कमल प्रभात

काठमाडौं
फाेटाे/भिडियाे : रविन पुन मगर
फाेटाे/भिडियाे : रविन पुन मगर

राजश्व अनुसन्धान विभागको विशेष टोलीले बुधबार साँझ सिनामंगलबाट करिब सय केजी सुन बरामद गर्‍यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर बाहिरिएको उक्त सुन ट्याक्सीमा राख्दै गर्दा बरामद गर्‍यो।

नेपालको इतिहासमै पहिलोपटक यति ठुलो परिणाममा बरामद गरिएको सुन कसको हो ? भन्ने अहिलेसम्म पत्ता लागेको छैन। अनुसन्धान जारी राखेको प्रहरीले हालसम्म ओसारपोसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ।

सुन कसको हो भन्ने आधिकारिक पुष्टि नभएता पनि नयाँ पत्रिकाले ‘एक अर्बभन्दा बढी मूल्य बराबर हुने तस्करीको यो सुन व्यवसायी दीपक मलहोत्राको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’ भनेर लेख्यो।

सोही समाचार प्रकाशनपछि अनुसन्धानको सुई व्यवसायी मलहोत्रातिर तेर्सियो भनेर धेरै सञ्चारमाध्यममा बिहानैदेखि हेडलाइन छाइरहे।

मलहोत्राको नाम बुधबार बरामद गरिएको एक सय किलो सुनमा जोडिएर समाचार आयो।

यसरी समाचारमा मलहोत्राको नाम जोडिएको यो पहिलो पटक भने होइन्। उनको नामको चर्चा जति छ विवाद पनि उत्तिकै। तर, यसपटक समाचारमा नाम जोडिएर आएपछि मलहोत्राले हतार–हतार पत्रकार सम्मेलन गरेर यसमा मेरो संलग्नता छैन भन्न भ्याए।

नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि उनको चर्चा सुरु भएको थियो। सामाजिक सञ्जालहरूमा धेरैले त एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मलहोत्राले खिचेका तस्बिरहरु शेयर गरेर अनेकौँ आशंकाहरु व्यक्त गरेका छन्।

विगतमा यसैगरी आफ्नो नाम जोडेर आएका समाचाप्रति त्यति धेरै चासो र गुनासो नगर्ने मलहोत्रा यसपटक किन यति धेरै आत्तिएर पत्रकारलाई होटलमा बोलाएर जवाफ दिए ? अनुसन्धानपछि अवश्य थाहा होला। तर, पत्रकार सम्मेलनमा मलहोत्रा जुन किसिमले प्रस्तुत भएका थिए, त्यो स्वभाविक थिएन।

दरबारमार्गस्थित होटल रोयल सिङ्गीको सानो हलमा हतारोको पत्रकार सम्मेलन तीव्र गतिमा प्रस्तुत भए मलहोत्रा। सानो हलमा थेगिनसक्नु सञ्चारकर्मीहरुको भीड अगाडि थचक्क बसेर मलहोत्राले आक्रोशमिश्रित गुनासो पोख्न थाले। जतिबेला बरामद सुन जोखिँदै थियो। सुन ओसारपोरमा संलग्न केही समातिँदै थिए।

बरामद सुनको समाचारमा आफ्नो नाम र तस्बिर जोडिएर आएकोप्रति असन्तुष्टि पोखे। उनले बरामद सुनसँग आफू, आफ्नो परिवार र आफूसँग सम्बन्धीत संघ–संस्थाहरुको कुनै साइनो नभएको ठोकुवा गरे। ‘नयाँ पत्रिकामा भनिएको जस्तै त्यो सुन आयतमा म सँगै मेरो परिवार र मसँग सम्बन्धित कुनै संस्थाको संलग्नता छैन,’ उनले भने, ‘त्यो समाचार कपोकल्पित हो।’

समाचार तयार गर्दा आफूलाई सम्पर्क नगरिएको भन्दै उनले आपत्ति जनाए।

सञ्चार माध्यममा प्रकाशित कुनै पनि सामाग्री तथ्यहीन हो भन्ने लागेमा जोसुकै व्यक्तिले कानुनीको सहारा लिन सक्छन्। सम्बन्धीत निकायमा जान सक्छ। तर, मलहोत्राले त्यसो गरेनन्। बरु समाचार प्रकाशन गर्ने संस्थालाई प्रलोभन दिए। उनले भने, ‘यदि नयाँ पत्रिकाले क्षमायाचनासहित समाचारको खण्डन छापे कानुनी बाटो जान्नँ।’

उनले आफ्नो नाम र तस्बिर राखेर समाचार चल्ने भएकोले अथवा बास्तविक सुन तस्करलाई बचाउन घटना आफूतिर डाइभर्ट गरिएको अनुमान लगाए।

सुन तस्करीमा किन जोडिइरहन्छ मलहोत्रा नाम ?

सबैभन्दा विवाद र चर्चाको केन्द्रमा रहेको ‘३३ किलो सुन प्रकरण’मा पनि मलहोत्राको नाम जोडिएको थियो। त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन बरामदका घटनाहरू भइरहँदा प्रयास मलहोत्राको नाम चर्चामा आइरहन्छ, जुन संयोगमात्रै नभएर रहस्यमी विषय पनि हो।

काठमाडौँमै जन्मिए-हुर्किएका। र, पढेका मलहोत्राले २०५६-०५७ तिर हङकङबाट सस्तोमा घडी ल्याएर नेपालमा बिक्री गर्थे। उनका बुवा होटल व्यवसायी भए पनि मलहोत्राले त्यसमा ध्यान दिएनन्।

उनले विदेशबाट सामान ल्याएर नेपालमा बेच्न सुरु गरे। सुरु–सुरुमा हङकङबाट ल्याएको घडी सडकमा बेच्ने मलहोत्राले बिस्तारै सुनको समेत कारोबार गर्न थाले। सुनको कारोबारमा उनले हङकङबाट नेपाल आउने मानिसहरुलाई भरिया बनाए।

तत्कालिन समयमा विदेशबाट नेपाल फर्किँदा १० केजीसम्म सुन ल्याउन पाइन्थ्यो। मलहोत्राले हङकङबाट नेपाल आउने हरकोहीलाई पैसाको सट्टा सुन ल्याएर नेपाल आउने भने। ती मानिसहरुले सुन मलहोत्रालाई दिन्थे र पैसा सुन बराबरको पैसा बुझ्दै।

एवम् प्रकारले सुनको कारोबार गरे। त्यही समयदेखि सुन र मलहोत्राको नाम एकसाथ आउन थालेको थियो।

‘२०५५/०५६ सालपछि छिमेकी राष्ट्र भारतमा भन्सारको दरबन्दी एकदमै घटेपछि त्यसपछि नेपालमा पनि सुन कारोबार आपसेप बन्द भयो त्यो कसैले जानजान रोकेको होइन। सुनको बजारै कम भयो। त्यो बन्द भएपछि १९९४ पछि मैले त्यो व्यापार छाडेर अन्य व्यापारको लागेको अवस्था छ,’ उनले भने।

त्यसपछि उनीले मोबाइललगायत इलेक्ट्रोनिक सामानहरु पनि ल्याएर बिक्री वितरण सुरु गरे। महहोत्राले नै हो नेपालमा सामसुङ मोबाइल भित्र्याएको तत्कालिन समयमा नेपालका उक्त मोबाइलको माग अत्याधिक थियो। मलहोत्राले बुवाको समयदेखि नै स्थापित आइएमएस कम्पनीमार्फत व्यवसाय गर्दै आएका छन्।

मोबाइल तथा इलेक्ट्रिक सामानको व्यापार फस्टाउँदै जाँदा मलहोत्राले सुनको कारोकार गर्न छाडे। यसमा उनी कानुनी प्रावधान फेरिएको र बजारमा सुनको अभावजस्ता समस्या भएकोले सुन कारोबारको काम छाडेको बताउँछन्। यद्यपि, त्यसपछि पनि सुन प्रकरणमा मलहोत्राको नाम जोडिएर आउने गरेको छ। ३३ किलो सुन प्रकरण पनि त्यसपछिकै घटना हो।

त्यसपछि मलहोत्राले विदेशबाट बैधानिक रुपमा नेपालमा सनु ल्याएको तथ्यांक छैन। तर, आशंका गर्ने ठाउँहरु भने पर्याप्त छन्।

त्रिभुवन विमानस्थल अगाडिको पार्किङ ‘आइएमएस एयपोर्ट सर्भिसेज’को नामबाट उनले सञ्चालन गरिरहेका छन्। त्रिभुवन विमानस्थलका सामान्य सुरक्षाकर्मीदेखि माथिल्लो तहका कर्मचारी उनको हातमा छन्। मलहोत्राले एक किसिमले विमानस्थल नै कब्जा गरेका छन्। त्यहाँ जे चल्छ उनकै चल्छ। तर, मलहोत्राले पत्रकार सम्मेलनमा बोल्दै आफू २५ वर्षयता विमानस्थल नटेको दाबी गरे। उनको यस कुराबाट अर्को आशंका पैदा हुन्छ।

यसरी विमानस्थल कब्जा गरेकै कारण विमानस्थलबाट बरामद हुने सुनमा प्राय: मलहोत्राको नाम जोडिन्छ। तर, सञ्चार माध्यमहरुले न्युज बिकाउनको लागि आफ्नो नाम जोड्ने गरेको उनी हल्लका तर्क गर्छन्। ‘मिडियामा कुनै हल्काफुल्का नचिनेको मान्छेको नाम आउँदा त्यो पढ्ने गर्दैनन्। नाम चलेको व्यक्तिको समाचार आउँदाखेरि ध्यानपूर्वक हेर्छन्। मलाई लाग्छ नेपालमा दीपक मलहोत्रा नाम गरेको म मात्रै छु। म एक्लो व्यक्ति भएको करण न्युज आएको हुन सक्छ।’

उनले आफू सुन तस्करीमा संलग्न रहेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए। ‘हिजो घटेको सुनको घटनामा मेरो कहीँकतै संलग्नता छ भन्ने म नेपालको कानुन बमोजिम भोक्नुपर्ने सबै सजाय भोग्न तयार छु,’ उनले भने।

भिडियाे:

प्रकाशित मिति: : 2023-07-20 21:40:00

प्रतिकृया दिनुहोस्