भाइरल फोटोको अन्तर्य : चोरी गर्न जाँदा मृत्यु !   

BreaknLinks
BreaknLinks

शनिबारदेखि एक पुरुषको तस्बिर (फोटो) सामाजिक सञ्चालमा भाइरल भइरहेको छ।

फोटोमा कुनै घरको अग्लो (करिब ८-१० फिटको) बाहिरको मुख्य गेट देखिन्छ। गेटमा रातो सर्ट, सर्टभित्र कलेजी रंगको र निलो रंगको दुई वटा टी–सर्ट लगाएका एक पुरुष अड्किएका छन्। उनले ट्राउजर लगाएका छन्। त्यहि ट्राउजर गेटको तीखो तीन वटा डण्डीमा अड्किएको छ। 

ती पुरुषको टाउकोसहित हात र खुट्टा जमिनतिर झुकेको छ। पिठ्यूको भाग माथितिर छ। जुन भाग पाइन्ट अड्किएर माथितिर भएको हो। गेटको भित्र पट्टी देखिने उक्त फोटो शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भाइरल फोटोको आशय छ, ‘चोरी गर्न जाँदा गेटमा अड्किएपछि मृत्यु भएका व्यक्ति’

त्यहि शेयर भएका फोटोमा अनेकौँ कमेन्टहरु लेखिएका छन्। कतिपयलाई फोटोले आश्चार्य बनाएको छ। केहीले फोटोलाई हाँसोको रुपमा लिएका छन्। कतिपयले कम्मरमा बेल्ड अड्किनसाथ मान्छे मर्छ भन्ने प्रश्न उब्जाएका छन्। के हो त घटनाको वास्तविक्ता?  

यो घटना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को हो। फोटोमा देखिएका व्यक्ति नेपालगञ्ज १० कोरियनपुरका ४० वर्षीय जितबहादुर भण्डारी हुन्। उनी तीन दिन अघि शुक्रबार एकाविहानै गेटमा अड्किएको अवस्थामा मृत फेला परेका थिए। 

गेटमा अड्किएको भनेर प्रहरीले शुक्रबार विहान ७ बजे खबर पाएको थियो। त्यसपछि प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्दा मृत भेटिएका भण्डारीलाई कुनै चोटपटक देखिएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानले भण्डारी चोरी गर्न घर भित्र जाँदै गर्दा पाइन्ट गेटमा अड्किएपछि मृत्यु भएको खुलेको छ। 

‘मृत व्यक्तिमा कुनै चोटपटक छैन,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रजमरपाल दाहालले भने, ‘चोरी गर्न जाँदा गेटमा पाइन्ट अड्किएको र निस्कन नसकेपछि चिसोको समयमा स्वासप्रश्वासको समस्याभएपछि मृत्यु भएको देखिन्छ।’ 

नेपालगञ्ज उपमहानगरपालिका १० का वडाध्यक्ष श्रवनकुमार श्रेष्ठले पनि चोरी गर्न जाने गेट नाघेर जाँदै गर्दा भण्डारीको अड्किएर मृत्यु भएको हुन सक्ने बताए। ‘उनी (भण्डारी)गेटमा अड्किएका थिए,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘आजभोलीको चिसोको समयमा धेरै चिसो पनि भयो होला र मृत्यु भयो होला।’ 

प्रहरी निरीक्षक दाहालका अनुसार मृतक भण्डारी लागूऔषध सेवन कर्ता र जिल्ला प्रहरी कार्यालयबाट ६ वटा मुद्दा खेपेका व्यक्ति हुन्।

प्रकाशित मिति: : 2023-01-22 19:10:00

प्रतिकृया दिनुहोस्