विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा संसद सचिवालयका अधिकृतको मृत्यु

विराटनगरमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा प्रदेश नम्बर १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ। 

कोसी लोकमार्गअन्तर्गत विराटनगर –३ स्थित ढाटमा बुधबार बिहान दुर्घटना हुँदा संसद सचिवालयका अधिकृत ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हो। 

सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका श्रेष्ठ घरबाट कार्यालयतर्फ आउँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन्। उनी प्रदेश १–०४–००१ ब ०००७ नम्बरको सरकारी मोटरसाइकलमा सवार थिए। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा  विराट शिक्षण अस्पतालमा दिउँसो करिब ३ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्कुटरमा सवार दुई जना सामान्य घाइते भएका छन्। 

चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईंको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ। 

प्रहरीले मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: : 2023-01-25 20:31:00

प्रतिकृया दिनुहोस्