'सीएनआई कोसी एक्स्पो २०२३' को तयारी अन्तिम चरणमा

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको 'सीएनआई कोसी एक्स्पो २०२३' को तयारी अन्तिम चरणमा पुगेको छ। सोमबार विराटनगर-२ स्थित मेला स्थलमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रदर्शनीको तयारी अन्तिम चरण पुगेको जानकारी दिएको हो।

अन्तराष्ट्रिय स्तराको कृषि तथा औद्योगिक प्रदर्शनीको माघ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा करिब तीन करोड खर्च हुने आयोजकले जनाएको छ।

परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले मेला ऐतिहासिक र अन्तराष्ट्रिय स्तारको भएको बताए। व्यापक मानिसहरुको सहभागीतामा मेला भव्य रुपमा सम्पन्न हुने उनले बताए।

प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले एक्स्पो स्थलमा विभिन्न स्थानका संरचना निर्माण गरेको घिमिरेले बताए। हिमालदेखि पहाड हुँदै तराईको भू–बनोटलाई एक्स्पोका दर्शकहरुले हेर्ने र त्यसबाट नेपालको भौगोलिकदेखि साँस्कृतिक सम्पन्नताबारे ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको सीएनआईका अध्यक्ष घिमिरेले बताए।

यस्तै एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन्। एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने आयोजकले जनाएको छ।

कोसी एक्स्पो २०७९ मा ३७० स्टलहरु रहने बताइएको छ। मोरङ व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटो मोवाइल्स एसोसिएसन, हिसान, व्याब्सन, नेपाल नर्सिङ संघ, मेडिकल एसोसिएसन र कोसी इलेक्ट्रेनिक्स मेलाका सहयोगी संस्थाहरु रहेका छन्।

यस्तै एक्स्पोमा नेपालमन चर्चित ब्याण्डहरुको प्रस्तुतिसमेत रहेको छ। एक्पोमा राजु लामाको मंगोलियन हर्ट ब्याण्डदेखि सविन राईको फारोह ब्याण्ड, अभया सुब्बाको द स्ट्रिम इन्जिन्स, एकदेव लिम्बु, नितेश जंग कुँवर, समिर श्रेष्ठलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।

मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेको आयोजकले बताएको छ। विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले आफ्नो पालिकाका घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरुको प्रोत्साहनका लागि एक्स्पोको प्रवद्र्धनमा सहयोग गरेका हुन्।

आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका त्यस्ता उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्नका लागि पालिकाले निर्वाह गरेको भूमिका र सहयोग महत्वपूर्ण रहेको बताइएको छ।

परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउन काठमाडौंबाट समेत प्रवद्र्धनका लागि सीएनआईका पदाधिकारीहरुसहितका सरोकारवाला निकायहरूबीच छलफल गरेको थियो। एक्स्पोमा नेपाल बाहेक भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत अन्य मुलुकहरुबाट विशेष उत्पादनहरुको प्रदर्शनी र विक्रीका लागि स्टलहरु रहने जनाइएको छ।

यस्तै मेला आयोजक समितिका संयोजक राजेन्द्र राठीले मेलालाई भव्यताका साथ सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। पत्रकार सम्मेलनमा मुख्य प्रायोजक बरिष्ठ उधोगी महेस जाजु, दुहबी नगरपालिका र बुढीगंगा गाउँपालिकाका प्रमुख, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगाउतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2023-01-30 15:23:00

प्रतिकृया दिनुहोस्