‘हाम्रो मूल्य ५ लाख तोकिएको छ, जुनसुकै समयमा मारिन सक्छौँ’ (भिडियाे)

BreaknLinks
BreaknLinks

‘हामी कतिखेर मारिन्छौँ थाहा छैन। मान्छेको मूल्य कति नै रहेछ र? हाम्रो मूल्य त अभियुक्तको नजरमा मात्र ५ लाख त रहेछ।’ निराश हुँदै अधिकारकर्मी रुबी खानले भनेको भनाई हो यो। रुबी खान, नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्परकी निर्मला कुर्मीको हत्या भएको भन्दै आधा दशकदेखि न्यायका लागि आन्दोलन गर्दै आइरहेकी अधिकारकर्मी हुन्।

निर्मलाको न्यायका लागि अधिकारकर्मी खानसहितको टोली ४९ दिनदेखि काठमाडौंमा छ। सरकार खोज्दै पुसको कठ्याङग्रीदो जाडो महिनामा काठमाडौंमा आएको उक्त टोलीले पुरा जाडो आन्दोलन गरेर कटाएको छ।

माइतीघरमा धर्ना बसको टोलीसँग सरकारले हिजो (मंगलबार)४८औँ दिनमा वार्ता गर्यो। सरकारसँग तीन बुँदे सहमति भएपछि रुबी खानसहितको आन्दोलनरत टोलीले आफ्नो आन्दोलन स्थगन गरेको छ।

आन्दोलन स्थगन गर्दै अधिकारकर्मी खानले ४७ दिनसम्म सरकार भेटाउन कठिन भएको र ४८औँ दिनमा सरकार भेटाएको बताइन्। आन्दोलन स्थगन भएको भएपनि आफ्नो ज्यान जोखिममा रहेको भन्दै आन्दोलनरत टोलीले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गर्यो।

पत्रकार सम्मेलनमा रुबी खानले आफूहरुलाई मार्नका लागि मान्छे परिचालन गरिएको बताइन्। ‘हामीले न्याय माग्दा मसँगै आन्दोलनरत अन्य दुई जना साथीलाई मार्नका लागि मान्छे परिचालन भएका रहेछन्,’ उनले भनिन्, ‘एक जना बराबर मूल्य ५ लाख रुपैयाँ तोकिएको रहेछ।’


निर्मला कुर्मी प्रकरण : सडकमा बसेर न्याय मागेको डेढ महिनापछि देख्यो सरकार


निर्मलाको हत्या आरोपित बादशाह कुर्मी, रमेश थापालगायतले आफूहरुलाई मार्न भारतबाट मान्छे परिचालन गरेको खानले बताइन्। उनले मार्नका लागि पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्दै आफूहरुको ज्यान जोखिममा रहेको बताइन्। ‘हामीलाई मार्नका लागि पैसाको बार्गेनिङ भएको रहेछ, तर हामीलाई चिनेका मान्छे रहेछन् र उनीहरुले हामीलाई मार्नुको सट्टामा हामीलाई सहयोग गरे’, खानले भनिन्।

उनले जतिबेला पनि आफूहरु मारिन सक्ने भन्दै निर्मलाको न्याय मर्न नदिन नागरिक अगुवा सबैलाई आग्रह गरिन्। ‘हाम्रो मूल्य त अभियुक्तको नजरमा मात्र ५ लाख रहेछ। हामी जुनसकुै बेला मारिन सक्छौँ,’ उनले भनिन्, ‘हामी नरहेपनि निर्मला कुर्मी र उनीहरु जस्ता एकल महिलालले न्याय पाउन्।’

निर्मला कुर्मी ०७५ मा बेपत्ता भएकी थिइन्। उनी बपत्ता हुनुअघि निर्मलाका श्रीमानको ०६६ मा मृत्यु भएको थियो। श्रीमानको मृत्यु भएको चार वर्षपछि मंसिरमा उनका दुई छोरा (१८ वर्षीय रामसागर र १४ वर्षीय सुरेश)को दश दिनको अन्तरालमा रहस्यमय रुपमा मृत्यु भयो।

श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए। त्यसपछि ०७५ मा कुर्मी बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारियो।

प्रहरीले ०७६ चैतमा निर्मलाको भारतमा शंकास्पद मृत्यु भएको जानकारी दियो। यसअघि निर्मला बेपत्ता भएदेखि उनको रुबी खानसहित निर्मलाका आफन्तहरु उनको खोजका लागि लागेका थिए। तर प्रहरीले शंकास्पद मृत्यु भएको जानकारी दिएपछि उनको हत्या भएको भन्दै उनको न्यायका लागि माग भइरहेको छ।

अधिकारकर्मीहरुले निर्मलाको अपहरणपछि बादशाहा कुर्मीले हत्या गरेको आरोप लगाउँदै आएका छन्। बादशाह कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्यसमेत हुन्। उनीविरुद्ध प्रहरीमा उजुरी छ।

निर्मलाको न्यायका लागि यसअघि काठमाडौंमा लामो आन्दोलन भएको थियो। पहिलो चरणमा ०७८ असोज १ गतेदेखि नेपालगञ्जदेखि पैदल हिँडेर काठमाडौंमा ३३ दिनको आन्दोलन गरे। त्यसबेला उनीहरूले माइतीघरमा धर्ना दिने तथा अनशन बसेका थिए।

उक्त आन्दोलनले गृह मन्त्रालयले सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनेको थियो। समितिले एक महिनापछि कात्तिक १४ मा प्रतिवेदन सरकारलाई बुझायो। तर त्यसले पूर्णता पाएन। त्यसपछि न्याय नपाएको भन्दै फेरि दोस्रोपटकको संघर्ष सुरु भयो। दोस्रो पटकको संघर्ष गत मंसिर ९ गतेबाट सुरु भयो। उक्त आन्दोलन पनि ४१ दिनसम्म चलेको थियो।


'हामीले न्याय लेख्न सिकी सक्यौँ सरकार, तपाईंले न्याय कहिले लेख्नुहुन्छ' [भिडियाे]


दुई पटकको आन्दोलनले पनि अभियुक्त बादशाह कुर्मीलगायतलाई कार्वाही नभएको भन्दै अधिकारकर्मीहरु तेस्रो पटकको ४८ दिने आन्दोलन गरे। ४८ दिनको आन्दोलनबाट सरकारसँग तीन बुँदे सहमति भएको छ। घटना विषयमा अनुसन्धान गर्न अनुसन्धान टोली गठन गर्ने र दोषिलाई मुद्धा चलाउने सहमति भएको छ।

यस्तो छ तीन बुँदे सहमति

१. निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग कसुरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि ०७४ को दफा १२ बमोजिमको विशेष अनुसन्धान टोली गठन गरेर गहन अनुसन्धान गरी दोषी उपर मुद्धा चलाउने।

२. आन्दोलनरत पक्षबीच अनुसन्धान प्रकृयाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई थाती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने।

३. आन्दोलनरत पक्षको जिउज्यानको रक्षाका लागि सुरक्षा संयन्त्रबाट उचित समन्वय र प्रबन्धन गर्ने।

प्रकाशित मिति: : 2023-02-15 16:38:00

प्रतिकृया दिनुहोस्