पवनको पर्खाइमा ‘मुनमुन’

BreaknLinks
BreaknLinks

बजिरहेको मीठो मधुरो धुनले नाटक घरभित्र दर्शकको मनलाई कता टाढा पुर्याउँदैछ। कानहरु धुन सुन्दैछन् तर आँखा भने पर्दामा कस्तो दृश्य देखिने हो भन्नेमै केन्द्रित छ। त्यतिकैमा ‘नेपथ्य’ बाट एउटा निर्देशीत आवाज आउँछ–‘अब नाटक सुरु हुदैँछ तपाईहरुले मोबाइल साइलेन्ट राखिदिनुहोला, भिडियो नखिच्नुहोला, फोटो खिच्ने भए फ्ल्यास अफ गरेर मात्रै खिच्नुहोला। नाटक सकिएपछि नाटक कस्तो लाग्यो हामीलाई सुझाव दिनुहोला, धन्यवाद।’ 


विस्तारै अगाडिको बत्तिहरु मधुरो हुँदै जान्छ,पर्दा खुल्छ अनि नाटक सुरु हुन्छ। दृश्यमा मुगलान जान लागेको एक युवा (असारे)र उसको श्रीमती(जुठी) बीचको वार्तालाप देखाइन्छ। यो दृश्यमा हामी नेपालीको घरघरको बाध्यतालाई देखाइएको छ। यसरी सुरु भएको नाटक बग्दै जान्छ।

मुगलान पसेका मुगलानीहरु फर्केनन्। बाध्यताले पराइको सिन्दुर सिउँदोमा सिउरेकाहरु पनि आफ्नो प्रेमीकोमा फर्केनन्। गुमाएका यादहरु फर्केनन। गुमेका साथहरु पनि फर्किएनन्। नफर्किनेहरुको लागि पर्खिनेहरु व्यथा हो, मुनमुन।

मुनमुन पात्र मात्रै होइन 'उ' शब्द भावना चित्र परिवेश चारदिशाकै पर्खाइ हो। मुनमुन प्रेमको परिभाषा हो। मुनमुन समाज हो, प्रथा हो र कुप्रथा पनि हो यो सबथोक हो।

छाडेर जानेहरुको पर्खाइमा बाचेकाहरुको कथा हो, मुनमुन। प्रेम माया सद्भाव गाउँ विगत वर्तमानहरुको साक्षात प्रमाण हो, मुनमुन। 

जुठी आमाको पर्खाइ हो, मुनमुन असारे 'बा' फर्किने आशमा जीवन डुब्ने बेलासम्म पर्खेकी आमा। जुठी आमा कथा हो, व्यथा हो वर्तमान हो इतिहास पनि हो। 

बोक्सी कुप्रथाले गाजेको अशिक्षित समाजको एउटा दुखी पात्र हो। एक्लोपनले लखेटिएकी जुठीआमालाई समाजले पनि लखेत्दा कति दर्दनाक समयकाल र ती घटनाहरुले जिउ सिरिङ्ग हुन्छ।

पर्खाइ रक्कीकाे पनि हो। जो समाज परिवर्तनको सपना देख्छ। जहाँ सबैभन्दा पहिले उनी आफैँलाई परिवर्तन गर्न चाहन्छ। तर सन्ध्या नफर्किने गरी बाटो लागेपछि समाज परिवर्तन गर्ने सोच बोकेका उनी आफैँ बाटो परिवर्तन गर्छन्।

रमा र बसन्तको पर्खाइ पनि हो, मुनमुन। एक अर्कालाई पाउने आसमा उनीहरूमा पर्खाइमा बाच्छन्।

बर्षाेँसम्म पवनको पर्खाइमा बाच्छन्, बाचिरहन्छ्न।  कोही बितेकाहरुको यादमा बाचेका छन्। कोही छाडेर जानेहरुका लागि पर्खेर बाचेका छन्। बाच्नु ठुलो कुरा हो। बाच्नु पर्खनु हो र पर्खनु वास्तविक बाच्नु हो।

त्यतिमात्र होइन रहेछ। पर्खनु मात्रै होइन। अरुलाई पर्खाउनु पनि जीवन रहेछ। जसरी असारे बाले जुठी आमै अनि पवनले मुनमुनलाई पर्खाउँछन्। नाटकको सारतत्व आखिर जीवन पर्खाइ हो र पर्खन सक्नु नै जिवन हो।

नाटकले १:२० मिनेटको समयलाई चाल नपाई दर्शकलाई पर्खाउन सक्नु सबैभन्दा ठुलो सफलता हो।

साना कमजोरी बाहेक नाटक पुर्णतः सफल छ। नाटकमा प्रयोग गरिएका पात्रहरूबीचकाे संवादले नाटकलाई साँच्चै जीवन्त बनाएको छ। कहिले दर्शकलाई खित्का छाडेर हसाउँछ त कहिले आँखा रसाएको पत्तै हुन्न।

आँखा रसाउनु र हसाउनु मात्रै पनि होइन। पात्रहरुको अभिनय सरल नबिझाउने छ। कतिपटक दर्शकहरु आफैँलाई पात्र सम्झन्छन् आफैँलाई कल्पना गर्न बाध्य तुल्याउँछ नाटकले।

एकदमै झिना गल्तीहरुको बिचमा नाटक निकै उत्कृष्ट रहेको छ। निर्देशन पक्ष, प्रस्तुति, कथा संवादले नाटकलाई आँखामा नबिझ्ने गरी प्रस्तुत गरेका छन्।

साहित्यकार तथा लेखक बुद्धि सागरको उपन्यास ‘फिरेफिरे’ बाट प्रेरित नाटक हो 'मुनमुन'।

नाटकमा कलाकार मनीषा ओझा, प्रविन खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोखरेल, किशोर थापा, विशाल बुढाक्षेत्रीलगायतको अभिनय रहेको छ।

नाटकमा किशोर महर्जनको सङ्गीत र श्रीसेस श्रेष्ठले सह–निर्देशन गरेका छन् भने  नाटकको लेखन तथा निर्देशन सम्राट भुजेलले गरेका हुन्।

प्रकाशित मिति: : 2023-02-20 21:40:00

प्रतिकृया दिनुहोस्